आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।
प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । नेकपा (एमाले) को सबै १९ पदमा उम्मेदवार छन् । नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का छ, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का चार जना उम्मेदवार छन् ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।
निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डल रहनेछ ।
राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ ।
हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार नौ सय ९८ मतदाता रहेका छन् । आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ ।
मतगणना आज
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सम्पन्न भएपछि बिहीबार नै मतगणना सुरु हुने जानकारी दिनुभयो । उहाँले बिहीबार अबेर रातिसम्म मतपरिणाम आउने गरी गणना गर्ने तयारी गरिएको बताउनुभयो । “विवाद भएन भने राजनीतिक दल तथा उम्मेदवारको प्रतिनिधिको सहमतिमा मतदान सेकपछिको प्रक्रिया पूरा गरेर गणना सुरु हुने छ,” उहाँले भन्नुभयो ।
प्रदेशमा सम्बन्धित समूहतर्फ सबैभन्दा बढी मतभार ल्याउने उम्मेदवार निर्वाचित हुने छ । रासस