सरकारले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरेको छ । आइतबार एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई औपचारिक रूपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन् । ‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पर्यटकीय राजधानी घोषणा भएपछि पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान हुनेछ ।’
गण्डकी प्रदेश सरकारको २९ कात्तिक ०७८ मा बसेको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई पत्राचार गरेको थियो । त्यस्तै, पोखरा महानगरपालिकाको २६ जेठ ०७९ मा बसेको कार्यपालिका बैठकले पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग गर्दै केन्द्र सरकारलाई पत्राचार गर्यो । १० मंसिर ०८० मा गण्डकी प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा ११ सदस्यीय विज्ञ सम्मिलित पर्यटकीय राजधानी घोषणा अध्ययन समिति गठन गरेको थियो । सोही समितिको प्रतिवेदनपछि २३ फागुनमा बसेको गण्डकी प्रदेश सरकारको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो ।
ढिलो भए पनि पर्यटकीय राजधानी घोषणा भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् । ‘पर्यटकीय राजधानी घोषणा गर्दा यसले दीर्घकालमा ठूलो फाइदा हुन्छ, माहोल पनि सिर्जना गर्छ,’ वाराही ग्रुपका प्रबन्ध निर्देशक विप्लव पौडेलले भने, ‘अब तीन तहकै सरकार पोखरा र आसपासमा पर्यटकीय प्रडक्ट र पूर्वाधार विकासमा केन्द्रित हुनेछन्, यसले पर्यटन प्रवद्र्धनमा सहयोग नै पुग्छ ।’
वाराही चोकमा आयोजित घोषणासभामा प्रधानमन्त्री प्रचण्डले पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सबैले भूमिका खेल्न आग्रह गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गराउने संकल्प गरेका छन् । उनले भने, ‘पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि सम्बद्व पक्षसँग सरकारले आवश्यक पहल तथा समन्वय गरिरहेको छ ।’
व्यवसायको प्रकृतिअनुसार चौबिसै घण्टा पनि खुला गर्न दिने निर्णय कास्की जिल्ला सुरक्षा समितिले गरेको छ । किराना, खाना, खाजा, पान पसललगायत राति एक बजेसम्म र डान्सबार, दोहोरी, पब, डिस्कोलगायतलाई चौबिसै घण्टा खुल्न दिने भएको हो । पहिलो चरणमा ड्यामसाइड हुँदै लेकसाइड क्षेत्र, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, नागढुंगा, मुस्ताङचोक, बिरौटा, राष्ट्र बैंक चोक, ड्याम साइडलगायत स्थानहरू चौबिसै घण्टा खुला राख्ने निर्णय भएको छ ।
पर्यटकीय प्रडक्ट र पूर्वाधार विकासमा जोड
पर्यटकीय राजधानी घोषणा अध्ययन समितिले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा गरिनुपर्ने पर्यटकीय प्रडक्ट विकास र पूर्वाधार निर्माणलाई छुट्याएर काम गर्न सुझाव दिएको छ । नयाँ पर्यटकीय प्रडक्ट विकास, पुराना प्रडक्टको ब्रान्डिङ र पर्यटन पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकता दिने पोखरा महानगरका मेयर धनराज आचार्यले बताए । ‘हामी योजनाबद्ध ढंगले अगाडि बढ्छौँ, तीन तहकै सरकार, व्यवसायी र स्थानीयहरू सहकार्य गरेर पर्यटन विकासमा अगाडि बढ्नेछौँ,’ उनले भने, ‘सहर चौबिसै घण्टा खुला गर्ने निर्णय भइसकेको छ, यसले पर्यटन गतिविधि बढाउनेछ, हामीले नयाँ पर्यटकीय प्रडक्ट विकास गरेर पर्यटकको बसाइ लम्ब्याउनेछौँ ।’
बेगनास तालमा वाटर स्पोर्टस्लाई प्राथमिकता दिइने भएको छ । बेगनासमा १६ वटा विभिन्न वाटर गेमहरू सञ्चालन हुने मेयर आचार्यले बताए । पब्लिक, प्राइभेट, पार्टनरसिप (पिपिपी) मोडलमा सञ्चालन गरिने वाटर गेममा करिब एक अर्ब लगानी हुने उनको भनाइ छ । वाटर स्पोर्टस् सञ्चालनका लागि अध्ययनसमेत भइसकेको उनको भनाइ छ ।
पोखरा मुक्ति क्षेत्रको प्रवेशद्वार हो । सबै प्रकारका पर्यटनको माध्यमबाट पोखराआसपासमा समेत समृद्धिको ढोका खोलिने मेयर आचार्यको भनाइ छ । ‘पोखरालाई साँच्चिकै पर्यटकीय सहर बनाउँछौँ, सिंगो गण्डकी प्रदेश नै पर्यटनको हब बन्नेछ र पर्यटनबाटै समृद्धि हासिल हुनेछ,’ उनले भने, ‘हामी पूर्ण कार्ययोजनासहित अगाडि बढेका छौँ ।’
अहिले भइरहेको आन्तरिक विमानस्थललाई सुन्दरपार्कमा विकास गर्न गृहकार्य भइरहेको छ । फेवातालको दक्षिणतर्फ रहेको रानीवनमा अर्गानिक ट्रेक रुट सुरु गरिएको छ । ‘पहिलेकोे पोखरा’ थिममा पुरानो बस्ती र संस्कृति संरक्षण गरेर आकर्षक गन्तव्य बनाइने मेयर आचार्यले बताए । पुरानो बजार रामकृष्ण टोलमा पुराना घरहरू जस्ताको तस्तै संरक्षण गरेर हेरिटेज साइटका रूपमा विकास गरिने उनको भनाइ छ । महानगर र प्रदेश सरकारले संयुक्त रूपमा पोखरालाई मेडिटेसन र चलचित्र छायांकनको हब बनाउने कमिटमेन्ट गरेका छन् । यस्तै, धार्मिक र खेलकुल पर्यटनलाई पनि उत्तिकै प्राथमिक दिइने भएको छ ।
पाँच वर्षमा एक खर्ब लगानी गर्ने लक्ष्य
पर्यटकीय राजधानी घोषणा भएसँगै पोखरासहित सिंगो गण्डकी प्रदेशमा सरकार, निजी क्षेत्र र दातृ निकायको गरी करिब एक खर्ब रुपैयाँ लगानी थपिने मेयर आचार्यको अनुमान छ । ‘पाँच वर्षमा हाम्रो २० अर्ब लगानी गर्ने सोच छ, केन्द्र सरकार, गण्डकी प्रदेश सरकारको पनि लगानी हुनेछ,’ उनले भने, ‘निजी क्षेत्रको समेत लगानी जोड्दा पाँच वर्षमा एक खर्ब लगानी हुनेछ ।’ यसै वर्ष महानगरले एडिबीको सहयोगमा साढे सात अर्बको पर्यटन क्षेत्रसँग सम्बन्धित पूर्वाधार विकासको काम सुरु गरिसकेको उनले बताए ।
जसअन्तर्गत एयरपोर्टदेखि लेकसाइडसम्म पुग्ने फास्ट ट्र्याक, बोटानिकल गार्डेन, डा. केआई सिङ पुलनिर दृश्यावलोकन गर्ने ठाउँ, सबै ताल जोड्ने साइकल लेन निर्माणलगायत १५ वटा विभिन्न परयोजना अगाडि बढेको उनको भनाइ छ । अहिले महानगरपालिकाले पोखरा सहरका सभागृहदेखि विभिन्न संरचनाहरूको रेनोभेसनमा २९ करोड रुपैयाँ खर्च गरिरहेको छ ।
पोखरामा कति छन् होटेल ?
पछिल्लो समय पोखरा उपत्यकासहित वरिपरिका डाँडाकाँडामा होटेल तथा रिसोर्ट खुल्ने क्रम बढ्दो छ । अहिले पोखरामा दुईवटा पाँचतारे, सातवटा चारतारेसहित पर्यटन स्तरका १२ सय होटेल तथा लज छन् । जसमा ४० हजार बेड संख्या रहेको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ । गण्डकी प्रदेशभित्र तीन सय ५० भन्दा बढी होमस्टे र पोखरामा तीन सयभन्दा बढी रेस्टुरेन्ट छन् ।
७४ वटा प्याराग्लाइडिङ र तीनवटा अल्ट्रालाइट कम्पनी छन् । यी होटेल तथा लजमा दुई खर्बभन्दा बढी लगानी भएको वाराही ग्रुपका प्रबन्ध निर्देशक पौडेलको भनाइ छ । उनी आफैँ पोखराको सेदीमा पाँचतारे ‘सेदी लक्जरी’ निर्माण गरिरहेका छन्, जहाँ करिब ६ अर्ब लगानी हुने अनुमान गरिएको छ ।