पछिल्लो समय मानिसमा मिर्गौलामा पत्थरी (Kidney Stones) को समस्या बढ्दै गएको छ। पत्थरीकै कारण मिर्गौला बिग्रिसकेको अवस्थामा समेत बिरामी अस्पतालमा पुग्ने गरेको सिनियर कन्सल्ट्यान्ट (Urological Surgeon) यूरोलोजिकल सर्जन तथा (Robotic Surgeon) रोबोटिक सर्जन डा. प्रतिक मान सिंह गुरुङ बताउनुहुन्छ। डा. गुरुङसँग मिर्गौलामा हुने पत्थरीको कारण, उपचार विधि, पत्थरीबारे व्याप्त भ्रम र यथार्थ लगायतका विषयमा गरिएको सफल कुराकानीको सम्पादित अंश :
मिर्गौलामा पत्थरी हुनु कस्तो समस्या हो ?
मिर्गौलामा हुने पत्थरी अहिले विश्वभरी नै ‘कमन’ (Common) समस्या हो। मिर्गौलामा विभिन्न कारणले पत्थरी बन्छ। पानीको सेवन कम हुनु, मौसमको प्रभाव, शरीरको मेटाबोलिजम (Metabolism), खानपान, दैनिक क्रियाकलाप कारण कुनैपनि साना-साना पत्थरीका कणहरु मिर्गौलामा जम्मा हुँदै गएर पत्थरीको रुप लिने गर्छ। साधारण भाषामा भन्दा, मिर्गौलाको मुख्य काम भनेको छान्ने (Filter) नै हो। यो क्रममा मिर्गौलामा जम्मा हुने साना कणहरु नै पछि पत्थरी हुने हो। यसले शरीरमा धेरै असर गर्छ। अहिले ॐ हस्पिटलको युरोलोजी विभागमा उपचारका लागि आउने धेरैजसो बिरामी पत्थरीको समस्या भएको पाउँछौं।
प्रायजसो, पत्थरीको समस्या पोषण र जीवनशैली (Diet and Metabolism) सँग सम्बन्धित समस्या नै हो। खानपानमा ध्यान दिएनौं भने पत्थरी हुने सम्भावना बढी हुन्छ। ‘अक्जालेट’ (Oxalate) (खानेकुरामा पाइने रासायनिक यौगिक) धेरै भएका खानेकुराहरु जस्तो गेडागुडी, बदाम, ओखर, रायोको साग, डार्क चकलेटहरु, कार्बेनेटेड ड्रिङ्स, हाई प्रोटिन भएको खानेकुरा नियमित रुपमा बढी खाँदा पत्थरी हुने सम्भावना बढी हुन्छ। यस्तै नियमित रुपमा दैनिक साढे २ लिटर पानी खाएको छैन भने पनि पत्थरी हुने सम्भावना बढेर जान्छ। शारीरिक व्यायाम छैन, कुर्सीमा बसेर काम गरिरहने, हलचल छैन खानपान पनि अस्वस्थ छ भनेपनि पत्थरी हुने जोखिम बढी रहन्छ।
कसै कसैमा बाल्यकालमै धेरै पत्थरी आएको देखिएमा त्यस्तो अवस्थामा जेनेटिक (Genetic) रुपमा अथवा मेटाबोलिक (Metabolic) रुपमा मिर्गौलामा समस्या हुने पनि देखिन्छ ।
पत्थरीको लक्षण भएको कसरी थाहा पाउने ?
पत्थरी भए-नभएको दुबै तरिकाले पत्ता लाग्छ। पहिलाभन्दा अहिले स्वास्थ्यप्रति मानिसहरु बढी सचेत भइसकेकाले नियमित स्वास्थ्य जाँच पनि गराउँछन्। यस्तो अवस्थामा पनि पत्थरी छ भन्ने समयमा नै पत्ता लाग्छ।
यदि मिर्गौलामा पत्थरी छ भने त्यसको लक्षण सबैमा देखिन्छ भन्ने हुँदैन। जसको कारण नियमित स्वास्थ्य जचाउने क्रममा अल्ट्रासाउण्ड (Ultrasound) गराउँदा पनि पत्थरी भएको पत्ता लाग्ने गरेको छ ।
त्यो बाहेक लक्षण लिएर पनि बिरामी आइपुग्ने गर्छ। कोखा दुख्ने, पिसाबमा रगत जाने, बारम्बार पिसाब लागिरहने, पिसाबको संक्रमण (Urine Infection) हुने, वाकवाक लाग्ने, वान्ता हुने, अत्याधिक ज्वरो आउने र पिसाबमा पनि संक्रमण देखिने, मिर्गौला सुन्निएको अवस्था हुने, मिर्गौलाको संक्रमण नै भइसकेको अवस्थामा र मिर्गौलामा पिप नै जमिसकेको अवस्थाका लक्षण लिएर पनि उपचारका लागि ॐ अस्पतालमा आउने गरेका छन् ।
कस्तो अवस्थामा पत्थरीको उपचार गर्नुपर्छ ?
पत्थरीको उपचारका लागि पहिला पत्थरी मिर्गौला वा मिर्गौलाको पिसाव नली (Ureter) मा कहाँ छ? कस्तो र कुन आकारमा छ? त्यसले शरीरमा कति असर गरेको छ? लगायतका विषय हेरिन्छ। पत्थरीको अवस्था र आकार (Size) लगायत विभिन्न फ्याक्टरहरुलाई एकीकृत गरेर बल्ल उपचार के गर्ने भनेर निर्क्यौल गरिन्छ। मानौं मिर्गौला भित्र ३ वा ५ एमएम (MM/Millimeter) सम्मको पत्थरी छ। त्यसले मिर्गौलालाई केही पनि असर गरेको छैन भने यस्ता बिरामीलाई शल्यक्रियामा गइहाल्नुपर्छ वा उपचार गरिहाल्नुपर्छ भन्ने जरुरी छैन। तर नियमित फलोअपमा आएर जँचाइराख्नु भने पर्छ।
मिर्गौलाभन्दा तल पिसाब पास हुने नलीमा (Ureter) अड्किएको छ भने त्यसले गर्दा पिसाब राम्रोसँग पास हुन सक्दैन। जसले गर्दा मिर्गौला सुन्निन सक्छ। यसरी अड्किएङ्को पत्थरीले अधिक दुखाई दिने पनि गर्छ । तसर्थ, शरीरमा संक्रमण हुने, पिसाबको संक्रमण हुने जोखिम रहन्छ। यस्तो पत्थरी पनि कुन आकारको छ भन्ने महत्वपूर्ण हुन्छ। यस्तो अवस्थामा ६ वा ७ एमएम छ भने शल्यक्रिया गरेर निकाल्न नै सुझाउँछौं। किनकी पिसाब नली पनि ५ एमएम जतिको मात्र हुन्छ। विशेषरी पत्थरीको आकार, पत्थरी रहेको स्थान र त्यसले मिर्गौलालाई पुर्याएको असरको आधारमा कुन बिरामीलाई औषधि चलाउने र कुन बिरामीलाई शल्यक्रियाबाटै पत्थरी निकाल्ने भनेर निर्णय गर्छौं।
कति एमएमसम्मको पत्थरी पिसाबनलीबाटै बाहिर निस्किन सक्छ। कस्तो अवस्थामा औषधि वा सर्जरी गर्नुपर्ने हुन्छ ?
लगभग ६ / ७ एमएमभन्दा ठूलो पत्थरीलाई शल्यक्रिया गर्नुपर्ने सम्भावना बढी हुन्छ भन्ने गरिन्छ। तर, त्यो ७ एमएमभन्दा ठूलो पत्थरी कहाँ छ भन्ने कुरा हेर्नुपर्छ। मानौं ७ एमएमको पत्थरी मिर्गौला भित्र छ। तर त्यसले मिर्गौलालाई कुनै असर गरेको छैन भने त्यस्तो अवस्थामा शल्यक्रियामा हतारिएर जानुपर्दैन। तर, त्यही पत्थरी पिसाब बाहिरिने नली (Ureter) मा आएर अड्किएको छ भने त्यस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्ने सम्भावना बढी हुन्छ। तर ७ एमएम भन्दा सानो आकारसम्मको पत्थरी छ पिसाब नलीमा नै अड्किएको छ भने पिसाब नली अलिकति फुलाउने, नदुख्ने औषधि र पिसाबमा संक्रमण छ भने संक्रमण घटाउने औषधि दिन्छौं र पानीको मात्रा बढाएर केही हप्ता हेर्छौं।
यसरी ७ एमएमभन्दा सानो पत्थरी आफैं जानसक्ने सम्भावना ७० देखि ९० प्रतिशतसम्म रहन्छ। त्यो कारण बिरामीलाई लगभग चार हप्ता यसरी हेर्छौं। तर चार हप्तासम्म पनि पत्थरी गएन वा यो अवस्थामा पत्थरीको कारण अत्याधिक दुख्यो, संक्रमण बढ्यो, मिर्गौलाको फंसनमा असर पर्यो भनेचाहिँ सानै पत्थरी भएपनि निकाल्नुपर्छ।
पत्थरी छ तर तत्काल असर देखिएन भनेर शल्यक्रिया नगर्दा पछि जुनसुकै समयमा असर पर्ने जोखिम त रहिरहन्छ होला। बिरामीले त पछि आकस्मिक अवस्था आउन नदिन पहिला नै उपचार गरौं भन्ने सोच राख्छन् होला नि?
बिरामीले त पत्थरी छ भनेपछि शरीरमा राख्न चाहँदैनन् नै। तर, हामी पत्थरीले कति असर गरेको छ भनेर त्यसको जोखिमको अवस्था नहेरी शल्यक्रियामा जाँदै जाँदैनौं।
मानौं कुनै बिरामीको मिर्गौलामा ८ एमएमको पत्थरी छ तर बिरामीलाई थाहा हुँदैन यसको असर के हुनसक्छ। यस्तो अवस्थामा हामीले बिरामीलाई काउन्सिलिङ गर्छौं। यदि मिर्गौलालाई वा शरीरलाई कुनै समस्या छैन भने तत्काल केही गर्न पर्दैन तर प्रत्येक ६ देखी १२ महिनामा नियमित अल्ट्रासाउण्ड गराएर त्यो पत्थरी कति बढ्यो वा घट्यो? कति असर गरिरहेको छ भनेर नियमित जाँच गराउनु भन्छौं।
त्यो पत्थरीले असर पुर्याएको अवस्थामा देखिने लक्षणबारे जानकारी गराउछौं। जस्तो पत्थरी मिर्गौलाबाट तल सरेमा कोखा दुख्नसक्छ, वाक-वाकी लाग्ने, वान्ता हुने, पिसाबमा रगत जाने, पिसावमा संक्रमण इत्यादि हुनसक्छ। यस्ता समस्या भएमा तुरुन्त जाँच गराएर हेर्नुपर्छ भनेर सुझाव दिन्छौं।
मिर्गौला भित्रको सानो पत्थरीले केहि महिनाभित्र नै मिर्गौला बिर्गाछ भन्ने चाहिँ हुँदैन। तर पत्थरी नै ठूलो छ भने त्यो साइलेन्ट स्टोन (Silent Stone) डरलाग्दो हुनसक्छ। कहिलेकाहिँ बिरामीको मिर्गौला नै टालेर बसेको ठूलो पत्थरी हुन्छ। बिारमीलाई दुख्दैन पनि तर मिर्गौला बिग्रिएपछि मात्र थाहा हुन्छ। यस्तो अवस्थामा बिरामी आफैं सचेत हुनुपर्छ। वर्षमा एकपटक मिर्गौला परीक्षण गराउनुपर्छ।
तर सानो आकारको पत्थरीमा ‘वेट एण्ड वाच’ गरौं भन्दा बिरामी आत्तिहाल्नुपर्ने भने हुँदैन। बिदेश यात्रामा जान लाग्नुभएको छ वा बिदेशमा बस्नुहुन्छ भने चाँही नियमित जचाउन नपाउदा बिदेश गएपछि समस्या आउनसक्छ। यस्तो अवस्थामा पत्थरी निकालेर जान पनि सकिन्छ। अहिले पत्थरी निकाल्ने विभिन्न प्रविधिहरु आइसकेको छ। शरीरमा कुनै घाउचोट नलगाई पनि पत्थरी निकाल्न सकिन्छ।
पत्थरीको उपचार पद्धति कस्तो कस्तो छ ?
समयसँगै पत्थरीको उपचारमा पनि नयाँ नयाँ प्रविधि र पद्धति पनि विकास भइरहेको छ। नेपालको उपचार पद्धति पनि युरोपियन देशहरुको जस्तै नै छ। युरोलोजिष्टहरुले यो अप्रेसन धेरै ठाउँमा गर्न थालिसक्नु भएको छ। अहिलेको माग भनेको शरीरमा कम चोट लगाएर उपचार (Minimally Invasive Surgery) गर्ने पद्धति नै हो। त्यसमा लेजर (Laser) सर्जरी पर्छ। पिसाबको थैली वा नली वा मिर्गौलाको पत्थरीलाई लेजर विधिबाट उपचार गरिरहेका छौं। लेजर प्रविधिबाट पिसाब थैली, पिसाब नली, मिर्गौला भित्र रहेको पत्थरीको उपचार गर्न सकिन्छ। मानौं कुनै बिरामीको मिर्गौला भित्र १५ एमएमको पत्थरी छ। त्यो बिरामीलाई पिसाब फेर्ने ठाउँबाट दूरबिन (Endoscopy) छिराउन सक्छौं। त्यो दूरबिनबाट पिसाब थैली हुँदै मिर्गौलाको नली खुल्ने प्वाल पहिचान गरेर त्यहाँबाट मिर्गौला भित्रसम्म प्रवेश गर्न सक्छौं । त्यो दूरबिन जताततै बङ्ग्याउन सकिन्छ।
मिर्गौला भित्र विभिन्न कोठाहरु हुन्छ। त्यो सबै कोठाभित्र प्रवेश गर्न सकिन्छ। त्यहीबाट लेजर छिराएर मिर्गौलामा रहेको पत्थरीलाई टार्गेट बनाएर बालुवा जस्तै धुलो बनाउन सक्छौं। त्यो पत्थरी बालुवाजस्तो भएपछि तान्न पनि मिल्छ। एउटा पाइप राखिदिएर त्यसबाट बाहिर आउन पनि सक्छ। त्यसपछि सबै पिसाबबाट बगेर बाहिर आउँछ। यो विधिबाट उपचार गर्दा कतैपनि चोटपटक लाग्दैन। तर सबै बिरामीलाई यही विधिबाट उपचार गर्न भने सम्भव हुँदैन। यसको पनि सबै सर्जरीको (Indication) इन्डिकेसन हुन्छ।
कुनै बिरामीको २० वा २५ एमएमको ठूलो र साह्रो ढुंगा छ भने उहाँलाई यो प्रविधिबाट उपचार गर्दा सबै पत्थरी नजान सक्छ। एकैपटकमा उपचार सम्भव नहुन पनि सक्छ । त्यसैले २० एमएमभन्दा ठूलो पत्थरी छ, फरक किसिमको गाह्रो ढुंगा वा मिर्गौलाको अफ्ठ्यारो तल्लो कोठा (Lower PO & Calyx) मा छ भने मिनि पिसिएनएल (Mini PCNL) वा पिसिएनएल (Standard PCNL) प्रविधिमा जानुपर्छ। त्यसमा ठूलो चिर्न पर्दैन तर ढाडबाट सानो प्वाल पार्न सकिन्छ। त्यहाँबाट सुरुङ मार्गजस्तो बनाएर टनेलिङ गरेर दूरबिन (Nephroscope) त्यहाँबाट छिराएर पत्थरी फुटाएर टुक्रा टुक्रा बनाएर बाहिर निकाल्न सकिन्छ।
यस्तै, मिर्गौला भरी पत्थरी नै पत्थरी छ। पत्थरीकै कारण मिर्गौला नै काम नलाग्ने (Non-Functional Kidney) भइसकेको अवस्था छ भने अहिलेको युगमा हामीले (Laparoscopic Surgery) ल्यापारोस्कोपिक सर्जरी नै गर्छौं। कहिलेकाहिं ठुलो चिरेर ओपन सर्जरी गरेर मिर्गौला निकालेर पनि सर्जरी गर्छौं।
पत्थरीको समस्या पछिल्लो समय बढ्दै गएको हो ? किन यो समस्या बढ्दै गएको छ ?
पत्थरीको समस्या पहिलाभन्दा अहिले धेरै नै पाइरहेका छौं। यसको मुख्य दुईवटा कारण छन्। एउटा पहिलाभन्दा अहिले मानिसहरु कुर्सीमा बसेर गर्ने काममा धेरै व्यस्त भएका छन्। उनीहरुको शारीरिक सक्रियता कम भयो। जीवनशैलीमा आएको परिवर्तन, खानपानमा आएको परिवर्तन, पानी पर्याप्त नपिउने कारणले पनि यो समस्यामा प्रभाव पारेको छ। अर्कोकुरा मानिसहरु सचेत भएर समय समयमा आफ्नो होलबडी जाँच गर्ने बानीले पनि रोग पत्ता लागेको अवस्था छ।
पत्थरीको समस्या हुन नदिन पानी धेरै पिउनुपर्छ भन्ने गरेको पाइन्छ। खासमा दैनिक कति पानी पिउनुपर्छ ?
६० केजी माथिका र १६ वर्षभन्दा माथिका वयस्क व्यक्तिले दैनिक कम्तीमा दुईदेखि साढे २ लिटर जति पानी पिउनुपर्छ। जुस, दालको रस लगायतका पानी मिसाइएको झोलिलो पदार्थ पिउँदा पनि शरीरमा पानीको मात्रा मिलिरहन सक्छ। तर शारीरिक परिश्रम बढी भएको, पसिना धेरै आएको अवस्था छ, अत्याधिक गर्मी भएर धेरै पसिना आएको छ भने चाँहि पानीको मात्रा बढाउनुपर्छ। फेरेको पिसावको रङ्ग प्रायजसो सफा देखिनु पर्छ । यदि पिसाव गाढा रङ्गको, गाढा पहेँलो वा खैरो रङ्गको देखिएमा पानीको मात्रा बढाउनुपर्छ ।
पत्थरी र यसको उपचारबारे बिरामीहरुमा कस्ता-कस्ता भ्रमहरु रहेको पाउनुएको छ ?
मिर्गौलामा पत्थरी हुन दिनु हुँदैन भनेर अत्याधिक पानी पिएर शरीर सुन्निएर (Fluid Overload) अस्पताल आएको केस पनि भेटेका छौं। पत्थरी हुन नदिन वा पत्थरी जान्छ भन्दै पानी धेरै पिउँदा विशेष गरी बृद्ध मानिस वा मुटुरोगीलाई मुटुमा प्रेसर पर्नसक्छ। जसले गर्दा स्वास्थ्यमा झनै असर पर्न सक्छ। त्यस्तै, अत्यधिक पानी सेवनले रगतको नुन (Sodium) को मात्रा पनि घट्न सक्छ। त्यसैले पानी ठिक मात्रामा पिउनुपर्छ। दिनमा ९–१० लिटर पानी पिउँदा शरीरमा चाहिने भन्दा बढी भएर असर गरेको पनि देखिएको छ। पत्थरी छ भनेर पानी धेरै खानु भन्दैमा १० लिटर पानी एकदिनमै पिउनु हुँदैन।
कतिपय बिरामीको पिसाब नलीमा १०-१२ एमएमको पत्थरी अड्किएर मिर्गौला नै सुन्निएको हुन्छ। यो पत्थरीले मिर्गौलालाई असर गर्छ निकाल्नुपर्छ भन्दा उहाँहरुले मेरो छिमेकीको त १५ एमएमको ढुंगा थियो आफैं निस्किएको, उहाँहरुले गहतको झोल खानुभयो। गहतले जान्छ भन्नुहुन्छ। मानिसको शरीर फरक फरक हुन्छ। १० एमएमको ढुंगा कोहीमा आफैं गएको पनि छ तर यो दुर्लभ कुरा हो। मिर्गौला भित्रको साह्रो पत्थरी समेत के–के खाएर गल्छ भन्नुहुन्छ। तर मिर्गौलामा रहेको पत्थरी लेजरले फुटाउँदा समेत बल्ल बल्ल फुट्ने किसिमको साह्रो (Hard) हुन्छ। जडीबुटी वा गहत खाएर जान्छ भनेर कुरेर बस्नु हुँदैन। यदि यि कुराहरु सावित त्थ्य भएका भए संसारभर नै त्यही गर्थे होलान् , तर त्यस्तो गरिंदैन ।
अर्को भ्रम भनेको बियर पिउदा पत्थरी जान्छ भन्ने पनि हो। बियर खानेले त भन्नुहुन्छ तर नखानेले समेत खान्छु भन्नुहुन्छ। बियरले शरीरलाई राम्रो गर्दैन। यर्थाथ के हो भने बियर धेरै खाँदा सुरुमा बेस्सरी पिसाब लाग्छ। बेस्सरी पिसाब फेर्दा सानो आकारको पत्थरी जान सक्छ। बेस्सरी पानी पिएर पिसाब फेर्दा पनि सानो आकारको पत्थरी निस्कन सक्छ। बियर खानै पर्दैन। बियरले पत्थरी जान्छ भनेर पिउदा शरीरमा झनै खतरा निम्त्याउँन सक्छ। बियर नियमित खाँदा (Dehydration) डिहाइड्रेसन गराउँछ। डिहाइड्रेसनले झनै पत्थरी बाट हुने अन्य जोखिम बढाउन सक्छ। त्यसैले बियरले कलेजोसँगै मिर्गौला र शरीरका अन्य अंगमा नै असर गर्ने हुँदा बियर नपिउँदा नै उत्तम हुन्छ।
कतिपय मानिसहरुमा उपचार गरेपछि फेरि पनि पत्थरीको समस्या देखिने गरेको पाइन्छ, यस्तो किन हुन्छ?
विभिन्न अध्ययनहरुका अनुसार एकपटक पत्थरी भएर उपचार गरेकामध्ये लगभग ५० प्रतिशतलाई पाँच वर्षभित्रमा फेरि पत्थरी हुन्छ। पत्थरी हुने धेरै कारण छन्। तपाईंको शरीरको मेटावोलिजम कस्तो छ र खानपिन कस्तो छ भन्नेमा भर पर्छ। शरीरले खाएको खानेकुरालाई कसरी पचाउछ? कसरी फालिरहेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। त्यो व्यक्तिलाई थाहा हुँदैन। एकपटक पत्थरी भएको व्यक्तिलाई फेरि पत्थरी हुने जोखिम सधैं रहन्छ। पत्थरी निकाल्नु मात्र पत्थरीको उपचार होइन।
पत्थरी निकालेपछि अबका दिनमा हुन नदिन अपनाउने उपाय मिलाउन सक्नुपर्छ। ठूलो पत्थरी छ, पत्थरीले बारम्बार दुख दिएको छ, पटक पटक पत्थरी निकाल्नुपर्ने अवस्था आएको छ भने पत्थरी निकालेपछि जाँचपनि गर्न मिल्छ। निकालेको पत्थरी कस्ता कस्ता खानेकुराले बनेको छ भने जाँच गर्न सकिन्छ। कुन तत्वले पत्थरी बनेको छ, त्यो तत्वलाई कम गर्ने बित्तिकै पत्थरीको समस्या कम हुनसक्छ। मानौं कोही व्यक्तिलाई युरिकएसिडले (Uric Acid Stone) पत्थरीको समस्या बढेको छ भने युरिकएडिसको उपचार गरेमा पत्थरीको जोखिम नै कम हुन्छ।
नेपालमा कमन देखिएको पत्थरी अक्जाइलेटयुक्त खानाका कारण पनि हो। अक्जाइलेट पाइने खाना जस्तै ओखर, बदाम, डार्क चकलेट, गेडागुडी, रायोको साग, हाइ प्रोटिन भएको खाना, कार्वेनेटेड ड्रिक्स, रातो मासु, आलु हुन्। तर नेपालीको खानेकुरा नै यही हो खानै मिल्दैन भन्न मिलेन। तर यी खानेकुरा (Balanced Diet) खाँदा ठिक्क मात्रामा मिलाएर खानुपर्छ र यस्ता खानेकुरा खाँदा पानीको मात्रा बढाउनुपर्छ।
अर्को पत्थरी कम गराउने खानेकुराहरु पनि छन्। कागतीको रस, सुन्तलाको रसहरु खानुपर्छ। यसका साथै शरीरलाई सक्रिय बनाउन उत्तिकै आवश्यक छ।
अमेरिकाबाट रोबोटिक सर्जरी (R0botic Surgery ) मा फेलोसिप गर्नुभएका डा. प्रतिक मानसिंह गुरुङले वेलायतबाट एम.वि.वि.एस.(MBBS),पि.एचडी (PhD) र एफ.आर.सि.एस.(FRCS) गर्नुभएको छ भने इयु (EU) बाट एफ.इ.वि.यु. (FEBU) गर्नुभएको छ। हाल उहाँ काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा युरोलोजी विभागमा कार्यरत हुनुहुन्छ ।