हामीकहाँ उपचार गर्न आउने अधिकांश बिरामीहरूको कलेजो धेरै नै बिग्रिसकेको हुन्छ । धेरै जसोको कलेजो कडा भइसकेको हुन्छ । जसलाई हामी ‘सिरोसिस’ भन्छौं । यो अवस्थामा करिब ७० प्रतिशत कलेजो बिग्रिसकेको हुन्छ र धेरैजसो बिरामीलाई कलेजो फेर्नुपर्ने हुन्छ । अन्यथा उनीहरूको आयु २–३ वर्षभन्दा बढी नहुन सक्छ । हाम्रो जस्तो विकासशील देशमा गरिखाने उमेरका नागरिक रक्सीका कारणले कलेजो खराब भएर अशक्त बन्नु अथवा मृत्युवरण गर्नु आफैंमा गम्भीर समस्या हो ।
रक्सीको असर
हामीले सेवन गर्ने रक्सीले शरीरको कलेजो, मुटु, मस्तिष्क, आन्द्रा, खाना नली आदिलाई असर गर्छ । मानिसको कलेजो, शरीरको दाहिनेतिर फोक्सोको तल हुन्छ । स्वस्थ मानिसमा यसको वजन १.५ केजी हुन्छ । कलेजो अति नरम र शरीरको महत्त्वपूर्ण अंगमध्ये एक हो । वैज्ञानिकहरूका अनुसार यसले मानिसलाई आवश्यक पर्ने ५००० भन्दा बढी काम गर्छ । हामीले सेवन गरेको रक्सी ‘एल्डिहाइड’ भन्ने रसायनमा परिवर्तन हुन्छ । यसले सुरुमा कलेजोमा संक्रमण गर्छ र कलेजो सुन्निन थाल्छ । रक्सी सेवन निरन्तर भएमा विस्तारै कलेजो कडा हुँदै जान्छ र अन्त्यमा कलेजो पुरै बिग्रिने अवस्था आउँछ । त्यसैलाई हामी ‘सिरोसिस’ भन्छौं । मानिसको अंगमध्ये मस्तिष्क फेल, हृदयाघात, मिर्गाैला फेल हुने अवस्थाभन्दा पनि कलेजो फेल भयो भने बिरामी मर्ने सम्भावना बढी हुन्छ ।
कलेजो रोगका प्रकार र उपचार
सामान्य रूपमा भन्दा रक्सीका कारण कलेजोमा देखिने रोगहरूमा फ्याट्टी लिभर, अल्कोहलिक हेपाटाइटिस, सिरोसिस, हेपाटोरेलुलर कार्सिनेमा (क्यान्सर) सम्म हुनसक्छ । फ्याट्टी लिभर कलेजोमा असर देखिने सबैभन्दा सुरुको अवस्था हो । रक्सीको सेवन पूर्णरूपले छोडेमा कलेजो सामान्य रूपमा फर्किन सक्छ । यो कुनै पनि बिरामीका लागि रक्सी छोड्न खतराको घन्टी हो । यो अवस्था सामान्यतया अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गर्दा पत्ता लाग्ने गर्छ । जब बिरामी दोस्रो अवस्था अल्कोहलिक हेपाटाइटिसमा पुग्छन्, तब बिरामीमा जन्डिस देखिने, खान मन नलाग्ने, दाहिने कोखा दुख्ने, हल्का ज्वरो आउने र कमजोर महसुस हुने जस्ता लक्षण देखिन थाल्छ । चिकित्सकहरू यसलाई २ समूहमा वर्गीकरण गर्छन् । पहिलो समूहलाई कम खतरायुक्त अल्कोहलिक हेपाटाइटिस भनिन्छ, जसमा जन्डिस कम हुन्छ र रगत पातलो हुँदैन । यस्ता बिरामीले रक्सी पूर्णरूपमा छोडे कलेजो नर्मल पनि हुनसक्छ । दोस्रो समूहलाई हामी सिभियर अल्कोहलिक हेपाटाइटिस भन्छौं । यो अवस्थामा जन्डिस धेरै र रगत पनि पातलो हुन्छ । राम्रोसँग उपचार नगरेको खण्डमा करिब ५० प्रतिशत बिरामीको मृत्यु यसै अवस्थामा हुने गर्छ । यस्ता बिरामीहरूले रक्सी पूर्णरूपले छोड्नुपर्छ ।
जब बिरामीले लामो समयसम्म करिब १० वर्षभन्दा बढी धेरै समय रक्सीको सेवन गर्छ भने कलेजो कडा भएर जान्छ । यो अवस्थालाई हामी सिरोसिस भनी बुझ्छौं । सिरोसिस पनि सामान्यतया २ अवस्थामा रहन्छ । आँखा पहेंँलो हुनु, पेटमा पानी जम्मा हुनु, रगत बान्ता हुनु, बेहोसी हुनु, मिर्गाैलले काम नगर्ने अवस्था र अर्को सुरुको अवस्था जसमा माथिका समस्या हुँदैनन्, तर कलेजो कडा भइसकेको हुन्छ । जब कलेजो यस्तो अवस्थामा पुग्छ, हामी यो अवस्थालाई दीर्घकालीन कलेजोको समस्या (सीएलडी) भन्छौं । यो अवस्थामा पुगेपछि कलेजो नफेरी बिरामीलाई लामो समय बचाउन कठिन हुन्छ । सिरोसिस भएका बिरामीले रक्सी पुरै छोड्नुपर्छ । बेहोसीपना देखिएको छ भने दिसा पातलो बनाउने औषधी खानुपर्छ र साथै माछा–मासु पनि छोड्न पर्ने हुनसक्छ । रगत बान्ता गर्ने वा कालो दिसा जाने भइरहे रगत कम हुने पनि हुनसक्छ । रक्सीका कारणले लामो समय कलेजोको रोग लागेका बिरामीलाई कलेजोको क्यान्सर हुने सम्भावना अधिक हुन्छ । कलेजोको क्यान्सर भएमा सुरुको अवस्थामा अपरेसन गरेर फाल्न सकिन्छ । अलि ठूलो आकारको भएमा कलेजो फेर्न पनि सकिन्छ । तर धेरै गम्भीर भएमा यसको उपचार सम्भव छैन ।
कलेजो रोगको निदान
सबै अध्ययनको निचोडमा कलेजोको दीर्घकालीन रोगको मुख्य कारण रक्सी नै देखिएको थियो । अध्ययनमा अचम्मको थप नयाँ तथ्य पनि फेलापर्यो कि अन्य २५ देशको तुलनामा नेपालीहरूमा कम उमेरमा नै कलेजोको गम्भीर रोग सिरोसिस देखियो । यो रोग लागेपछि बिरामी बाँच्ने अवधि पनि कम रहेको पाइयो । तसर्थ समयमा सचेत हुन नसकेमा देश विकासमा लाग्नुपर्ने जनशक्ति देशको भार बन्न सक्ने अवस्था आइसकेको छ । रक्सी र योसँग सम्बन्धित समस्या कसरी समाधान गर्ने सोच्ने बेला भइसकेको छ । रमानिसले रक्सीलाई होइन, रक्सीले मनिसलाई खाइरहेको छ । कति जान्ने–बुझ्नेले पनि यति रक्सी पिए शरीरलाई फाइदा गर्छ भनेको सुनिन्छ । म भन्छु, औषधीको रूपमा बाहेक १ थोपा पनि ‘अल्कोहल’ शरीरलाई आवश्यक छैन ।
कलेजो रोगीको खानपान
जन्डिस लागेको बिरामीले मुख बारेको, उसिनेको खानेकुरा खाएको, कोही–कोहीले त गाई मूत्रसम्म सेवन गरेको कुरा बिरामी आफैंले भनेको सुनिन्छ । धेरै बिरामीले आफ्नै तरिकाले वैज्ञानिक आधार बिनाका जडिबुटीहरू खाएको पनि भेटिन्छ । तर हामी चिकित्सकहरूको विचार भने त्यसको ठिक उल्टो छ । कलेजोको रोगीले सामान्य अवस्थामा भन्दा बढी पौष्टिक आहर खानुपर्छ । अल्कोहलिक हेपाटाइटिसको बिरामीलाई त हामी सामान्य अवस्थामा भन्दा दुई गुणा बढी खानेकुरा खान सल्लाह दिन्छौं । माछा–मासु, फलफूल खान सकिन्छ । बेसार, नुन, तेल मज्जाले खान सकिन्छ र खानु नै पर्छ । धेरैजसो मानिसमा जन्डिस रोगको डाक्टरी उपचार छैन भन्ने भ्रम छ । यस्तो भ्रमबाट बिरामीहरू मुक्त हुनुपर्छ र जनमानसमा सबै प्रकारका कलेजो रोगको डाक्टरी उपचार सम्भव छ।