चिनियाँ युवाहरू सधैं हात हेर्ने गर्छन्। विगतमा हात हेर्दा आयु, जागीर र वैवाहिक जीवनबारे बताउने गर्थे भने अहिले भविष्यमा सरकारी जागीरमा नाम निस्कन्छ वा निस्कँदैन भन्ने आकलन गर्छन्।
यो ब्रह्माण्डको पुछारमा के छ? विज्ञानले अहिलेसम्म यसको जवाफ पत्ता लगाइसकेको छैन।
तर आजका अधिकांश चिनियाँ युवासँग यसको उत्तर छ। उनीहरूका निम्ति ब्रह्माण्डको पुछार आकाशगंगा होइन, एन्ड्रोमेडा तारापुञ्ज पनि होइन, सरकारी जागीर हो।
सन् १९७० को दशक अन्त्यतिरबाट खुला अर्थतन्त्रलाई अंगीकार गर्ने गरी शुरू भएको सुधार युगका गत चार दशकमा सरकारी जागीरप्रति चिनियाँ युवामा आइरहेको परिवर्तनलाई ध्यान दिने हो भने चिनियाँ समाजको संरचनामा ठूलै फेरबदल आएको पाइन्छ।
सन् १९८० को दशकको शुरूतिर शहरियाहरूका लागि तीन प्रकारका सरकारी जागीर हुने गर्थे, सामूहिक पद, सामान्य पद र कार्यकर्ता पद। कार्यकर्ता पद अहिलेको निजामती प्रणाली सरह थियो। अहिले त्यो प्रणालीमा प्रवेश पाउन सबै युवा लालायित देखिन्छन्। तर सन् १९९० को दशकमा सरकारी जागीर त्यति आकर्षणको विषय थिएन।
सन् १९८० को आर्थिक विकासको गतिलाई पैदल हिंडाइ भन्ने हो भने सन् १९९० को दशकको विकास घोडाको दौड हो। त्यति वेला क्याम्पस पास गरेका युवा कर्मचारितन्त्रप्रति अरुचि देखाउँथे र विदेशी वा संयुक्त लगानीमा खोलिएका कम्पनीतर्फ आकर्षित थिए। नभए आफैंले कम्पनी खोल्थे। उनीहरूको आम्दानी पनि सरकारीको तुलनामा निकै बढी थियो।
सन् १९९२ मा मात्रै विभिन्न सरकारी विभागका मेरुदण्ड सरह रहेका एक लाख २० हजार कार्यकर्ता तहका कर्मचारीले निजी क्षेत्रमा काम गर्नकै लागि राजीनामा दिएका थिए। तीमध्ये केही बजार अर्थतन्त्रले सिर्जना गरेको अवसर पछ्याउँदै विदेशी कम्पनी वा संयुक्त लगानीमा खोलिएका कम्पनीमा जागीर खान गए। केहीले भने आफ्नो बचत निकाले, नपुगेको हकमा साथीभाइ र परिवारजनसँग सरसापट गरेर आफ्नै कम्पनी खोले।
तीमध्येका उत्कृष्टहरू पछि गएर चीनका चिनिएका उद्यमी बने। निजी क्षेत्रमा हाम फाल्नेहरूले आफ्नो छनोटलाई ‘समुद्रमा पौडी खेल्ने’ भन्थे, किनभने उनीहरूले बजार अर्थतन्त्रलाई महासागर ठानेका थिए।
तर चिनियाँ अर्थतन्त्रको गति धिमा भएपछि युवा फेरि सरकारी जागीरप्रति आकृष्ट भएका छन्। यस पटक यो चाहना पहिलेको तुलनामा निकै बढी छ। यसलाई ‘समुद्रबाट किनारमा आउने’ भनिएको छ।
पछिल्लो दशकमा सरकारी जागीरका लागि आवेदन दिने युवाको संख्या ह्वात्तै बढेको छ। सन् २०२३ मा ३९ हजार पदका लागि २८ लाखले आवेदन दिएका थिए। सञ्चारमाध्यमले यसलाई ‘घोडचढी सेनाको जत्थाले साँघु तर्न गरेको प्रयास’ भनेर टिप्पणी गरेका थिए।
अझ महत्त्वपूर्ण त अब स्नातक तहको अध्ययनले नपुग्ने भएको छ। कम्तीमा स्नातकोत्तर तहको अध्ययन चाहिने भएको छ। खासमा सरकारी जागीरका लागि प्रतिस्पर्धा यति बढी छ, विद्यावारिधि नै गर्नुपर्ने अवस्था छ।
श्रम बजारमा तीव्र प्रतिस्पर्धा भएकाले युवा जागीरमा छनोट हुने सम्भावना साँघुरिंदै गएको छ। जस्तोसुकै प्रकृतिको भए पनि सरकारी जागीरका लागि आवेदन दिनेको संख्या पनि बढिरहेछ।
सन् २०२० मा हाङजोउको एउटा सानो जिल्ला तहको कार्यालयमा चीनका कहलिएका विश्वविद्यालयबाट विद्यावारिधि गरेकाहरूले आवेदन दिए। त्यस्तै, सन् २०२१ मा तिब्बतको दुर्गम गाउँमा स्थानीय हुलाक कार्यालयमा एउटा पदका लागि विज्ञापन खुल्दा २० हजार ८१३ जनाले आवेदन दिएका थिए।
कम्पनी बन्द, कर्मचारी निकाला, बेरोजगारी, घोटाला वर्तमान अर्थतन्त्रलाई चित्रण गर्ने मुख्य शब्द बनिरहेछन्। चिनियाँ युवाका लागि अब धेरै पैसा कमाउने जागीर नै सबथोक हुन छोडिसकेको छ। उनीहरू राज्यको कर्मचारितन्त्रमा स्थायी जागीर चाहन्छन्। तीन वर्ष लामो महामारीको बन्दाबन्दी गुजारेपछि सरकारी जागीरको महत्त्व युवाले मात्र होइन, सबैले बुझ्न थालेका छन्।
बन्दाबन्दीको समयमा जतिसुकै लामो समय घरमा क्वारेन्टिनमा बस्न परे पनि नियमित तलब आउने जागीर त सरकारी मात्रै थियो। सरकारी जागीर नहुने हो भने अर्को पटक यस्तै बन्दाबन्दी हुँदा आम्दानी शून्य हुन सक्छ। त्यसैले ‘ब्रह्माण्डको पुछारमा सरकारी जागीर छ’ भन्ने वाक्यांश अहिले चिनियाँ अनलाइनमा लोकप्रिय भइरहेछ।
चिनियाँहरू सधैं हात हेर्ने गर्छन्। भविष्यवाणी गर्ने सबैभन्दा सजिलो माध्यम हो यो। विगतमा हात हेर्नेहरूले आयु, जागीर र वैवाहिक जीवनबारे बताउने गर्थे। अहिले युवालाई केवल जागीरको हस्तरेखाप्रति मात्रै रुचि छ। भविष्यमा सरकारी जागीरमा नाम निस्कन्छ कि निस्कँदैन? यही नै उनीहरूको चासोको विषय बनेको छ।
युवाले कसरी यस्तो खाले भविष्यवाणी आविष्कार गरे, म भन्न सक्दिनँ। तर म सरकारी जागीरको शक्तिबारे भन्न सक्छु जसले चिनियाँ भविष्यवाणीको लामो परम्परालाई समेत प्रभाव पारेको छ।
(यु हुवा चिनियाँ उपन्यासकार र निबन्धकार हुन्। उनको टू लिभ उपन्यास चलचित्रमा रूपान्तरण समेत भएको छ। हुवाको संस्मरणात्मक निबन्धहरूको संग्रह चाइना इन टेन वर्डस् सांस्कृतिक क्रान्तिकाल र त्यस लगत्तैको चीन बुझ्ने आँखीझ्यालका रूपमा चर्चित छ। चिनियाँ भाषाबाट अंग्रेजीमा माइकल ब्यारीले अनुवाद गरेको यो लेख द इकोनोमिस्टबाट लक्ष्मण श्रेष्ठले अनुवाद गरेका हुन्।)