(सिओपिडि) दम रोगको पहिचान र उपचार : डा.बिजय कुमार लिङ्देन

चुरोट, दाउराको धुवा, व्यावसायिक उत्पादनको धुलो (जस्तै : मार्वल, सिमेन्टको धुलो) , रसायन केमिकलको धुलो इत्यादिद्वारा फोक्सोमा हुने स्थाई समस्यालाइ दम (सिओपिडि) भनिन्छ। जसले गर्दा सास फेर्न गार्हो हुने गर्दछ। सिओपिडि भित्र क्रोनिक ब्रोङ्काइटिस(Chronic bronchitis) र इम्फ़ाइसिमा (Emphysema)भन्ने दुइ रोग पर्दछन।

१-२ % मा अल्फा १ एण्टिट्रिप्सिन (alpha1-Antitrypsin) को कमिले गर्दा पनि हुने गर्दछ।

डब्लु.एच.ओ.(WHO) अनुसार विश्वमा ६५ मिलियन दमका रोगि छन् र बार्षिक ३ मिलियन मानिसहरु यो रोगद्वारा मर्ने गर्दछन। यो रोग बिश्वको सबै भन्दा बढि ज्यान लिने लीस्ट्मा चौथोमा पर्दछ र दिनहु बढदो क्रममा छ। अमेरिकामा मात्र यस रोगको बार्षिक लागत ५० बिलियन डलर छ जून बिश्वका धनि व्यक्ति बिल गेट्सको आधा सम्पति भन्दा ज्यादा हो। हाम्रो जस्तो मुलुकमा यसको लागतको अनुमान नभएता पनि औसधि, अक्सिजन र अस्पताल भर्नाको खर्च डरलाग्दो छ। धुलो, धुवा र चुरोटबाट मात्र बच्दा पनि यो रोग र यसको डरलाग्दो खर्चबाट आफु , परिवार र राष्ट्रलाइ बचाउन सकिने हुनाले हामि सबै सचेत भइ जन चेतना फैलाउन आजको आवस्यकता हो।

लक्षणहरु :  खोकी लाग्नु , खकार तिन महिना लगातार २ बर्ष आउनु , साधारण चहलपहलमा पनि सास फुल्नु स्वा स्वा हुनु , सास फेर्दा छाती बज्नु आदि

दमको कारणले हड्डी कम्जोर हुने, गेस्टिक(गेस्ट्राइटिस) हुने, पल्मोनेरि प्रेसर बढी मुटु फेल हुने, हातखुट्टा सुन्निने, डिप्रेसन हुने गर्दछ।

दमको रोगि दुब्लाउने पनि गर्दछन तर एक्कासि धेरै दुब्लाएमा फोक्सोको क्यान्सरको संका हुने हुनाले सी.टि. स्क्यान( CT scan) गर्नु पर्ने हुन्छ।

परिक्षणहरु:

छातिको एक्स रे, मुटुको इ .सी.जी.(ECG), लङ्ग.फंग्सन.टेस्ट(Lung Function), रगतको जाच(FBC:PCV    , ABG),पिसाबको जाच र आवस्यक भएमा सी.टि. स्क्यान गराउने।

उपचार :

  • सर्बप्रथम चुरोट पिउन छाड्ने।
  • यो रोग एक पटक भइ सके पछि उपचार गरी फोक्सोलाइ फेरी पहिलाको अवस्थामा ल्याउन सकिदैन।
  • पुर्ण निदान गर्न नसकिने हुनाले रोगको रोकथाम नै मुख्य लक्ष हो।
  • चिसो वातावरण र बढी आद्रताले पनि ग्राहो बनाउने हुनाले दमको रोगिले यस्तो अवस्थाबाट आफुलाई बचाएर राख्ने।
  • पौस्टिक आहार खाने , डिप्रेसन , गास्ट्रिक, मुटु सुन्निएको, पल्मोनरी प्रेसरको उपचार गर्ने।
  • सास फेर्न वा बोल्न गाह्रो भएमा, हातखुट्टा सुन्निएमा, उत्तानो सुत्न गाह्रो भएमा, हिड्डुल गर्न गाह्रो भएमा, ओठ र औलाको टुप्पाहरु निलो भएमा तुरन्त अस्पताल भर्ना हुने।

औषधिहरु:

चिकित्सकहरुले सास फेर्न सजिलो गर्न मुखबाट तान्ने औषधि दिने गरेको पाइन्छ जस्तै : क्याप्सुल सिरोबिड (सालमिटेरोल) ५० एम.सी.जी. अथवा  क्याप्सुल सेरोफ्लो (सालमिटेरोल २५ एम.सी.जी. + फ़्लुटिकासोन २५० एम.सी.जी.) दिनमा दुइ पटक सानो प्लास्टिकको यन्त्रमा हालेर तान्नु पर्ने हुन्छ। फ़्लुटिकासोन जस्तो स्टेरोइड भएको औसधि प्रयोग गर्दा प्रयोग पछि मुख पानिले अनिवार्य कुल्ला गर्नु पर्ने हुन्छ अन्यथा मुखमा फंगल (ढुशी) इन्फेक्सन हुन सक्छ।

साथै क्याप्सुल टायोभा (टाइटोप्रियम) १८ एम.सी.जी. दिनको एक पटक।

यी औसधिहरुले सास फेर्ने नलीलाइ खकुलो गरि सास फेर्न सजिलो गराउदछ / क्याप्सुलमा भएको औषधि एकदम कम हुने हुनाले तान्ने बेलामा मुखमा भएको सबै हावा फाली पुर्णरुपमा तानी एकछिन सास रोक्नु पर्दछ तब मात्र औषधिको पुरा लाभ लिन सकिन्छ।

खकार निकाल्न मिउकोलाइटिक झोल दिने जस्तै : ब्रिका बिएम सिरप २ चम्चा दिनको ३ पटक

फोक्सोमा संक्रमण भएको संका भएमा चिकित्सकले एण्टिबायोटिक प्रयोग गर्न सक्नेछन जस्तै : ट्याबलेट एमोक्सीक्लेभ ६२५ एम.जी.(Amoxyclave 625mg)दिनको तिन पटक ७ दिन र ट्याबलेट एजिथ्रोमाइसिन ५०० एम.जी. (Azithromycine 500mg) दिनको १ पटक ३ दिन।

दमको रोगिलाइ बारम्बार छातीको संक्रमणबाट बचाउन भेक्सिन दिनु पर्ने हुन्छ जस्तै:-बार्षिक इन्फुलुन्जा भेक्सिन (Influenza vaccine) र प्रत्येक ५ बर्षमा न्युमोकोक्कल भेक्सिन (Pneumococcal vaccine)।

पल्मोनरी रिहेबिलिटेसन (Pulmonary rehabilitation):- यस अन्तरगत ब्यायामको अभ्यास, पौस्टिक आहार सम्बन्धि ज्ञान र मनोबैज्ञानिक समर्थन पर्दछन। पल्मोनरी रिहेबिलिटेसनद्वारा बारम्बार गार्हो हुनबाट बच्ने तथा लक्षण कम हुन गइ जिउन सजिलो हुन्छ।

एकदम धेरै समस्या भएको दमको रोगिलाइ धर मै अक्सिजनको सिलिण्डर राखी दिनको १५ घण्टासम्म दिनु पर्ने हुन्छ।

एकदम सिकिस्त अवस्थामा भेन्टिलेटर चाहिन सक्छ।

अहिलेको अवस्थामा भेन्टिलेटर सिमित र ठुला अस्पतालमा मात्र छन् फेरी लागत पनि अति खर्चिलो हुने हुनाले यस्तो बिरामीहरुले समयमा नै चुरोट छाडी प्रतिकुल अवस्थाबाट आफुलाई बचाएर राख्न सिक्न जरुरि छ।

नियमित औसधि सेवन र समयमा नै चिकित्सकको सल्लाह लिए पटक पटक अस्पताल जानु पर्ने हुदैन।

अन्त्यमा, फोक्सोको प्रत्यारोपण उपचार विधि भए पनि यो विधि अति जटिल र खर्चिलो छ।

” धुम्रपान त्यागौ , स्वस्थ्य रहौ “

(कन्सलटेन्ट जेनेरल प्राक्टिसनर, डा. विजय लिङ्देन काठमाडौँ  चाबहिलस्थित ओम अस्पतालको वेलनेस सेन्टरमा कार्यरत हुनुहुन्छ)

ताजा खबर