विन्ध्यवासिनीबाट बुद्धिबहादुर परियार एक्लै सराङकोटतिर लाग्नुभयो । उहाँ खाली खुट्टा उकालिँदा घरि चराले बेग मारेको देख्नुहुन्थ्यो, घरि किरा उडिरहेको । भोक र थकाइले लखतरान रसिक तन्नेरीलाई करिब दुई घण्टा हिँड्नु नै थियो, उड्न कहाँ सक्नुहुन्थ्यो र ! एकाएक उहाँ गुन्गुनाउन थाल्नुभयो–
‘उडेर जाऊँ कि डाँडामा भन्ज्याङ
रेशम फिरिरी…’
विसं २०२७ तिरको समय थियो । बुद्धिबहादुरले प्रायः जसो गाउन थाल्नुभयो, ‘रेशम फिरिरी…’ । टुक्रामा केही अन्तरा थपी २०२९ सालमा रेकर्ड गराउनुभयो । यही गीतले नेपाली सङ्गीतलाई संसारभर लोकप्रिय बनायो । नेपाली र विदेशीको मुखैमा झुन्डियो, ‘रेशम फिरिरी…’ ।
नेपाली सङ्गीतको अमर गीत ‘रेशम फिरिरी…’ का स्रष्टा बुद्धिबहादुर परियारचाहिँ ओझेलमै पर्नुभयो । उहाँको जीवन सधैँ उपेक्षा र दुःखमै डुब्यो । उहाँको २१ औँ स्मृति दिवसमा पोखरेलीले आइतबार सम्झिए । समानान्तर साहित्यिक मञ्चले ‘बुद्धि परियार स्मृति ग्रन्थ’ सार्वजनिक गरेको छ ।
बैदामे ताल अर्थात् फेवातालले परियारलाई नौ वर्षको उमेरमै टुहुरो बनाइदिएको थियो । तालमा माछा झिक्न जाँदा बुद्धिका बाबा तालमै डुब्न पुग्नुयभयो । बुद्धि छ महिनाको हुँदै आमाको देहान्त भइसकेको थियो । बाल्यकालको सहारा बाबा पनि गुमाएपछि लामो समय ठाँटीमै बसेका बुद्धि नाचगानमा रुचि राख्नुहुन्थ्यो । मयूरनृत्य, लोकनृत्य, कौडा आदिमा खप्पिस परियारको नाचगानकै क्रममा भेटिएका धनमायासँग माया बस्यो । तिनै बुद्धिका छोरा धर्मेन्द्र सेवान नेपाली गीतसङ्गीतमा सक्रिय हुनुहुन्छ । गायक सेवान भन्नुहुन्छ, “म बुवाको सङ्घर्षबाट प्रेरणा लिँदै पृथक पहिचान बनाउन लागेको छु ।”
बुद्धिका ‘हेर्दा राम्रो माछापुच्छ्रे’, ‘तालवारि बसौँ छाल पारी’, ‘साइको घर कहाँ हो कहाँ’, ‘सरर यो मन धरर’ जस्ता गीत चर्चित छन् । तिनै चर्चित गायकको २०६० वैशाख २३ गते मृत्यु भएपछि आर्थिक सहयोग उठाएर अन्त्येष्टि गरिएको थियो । रासस