जलेश्वर अस्पतालमा स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको शल्यक्रिया सहित निःशुल्क स्वास्थ्य शिबिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेपाली सेनाको संयुक्त आयोजना तथा प्रतिनिधिसभा सदस्य डा.सुरेन्द्रकुमार यादवको संसदीय कोषको सहयोगमा जिल्लाको खखना तथा सदरमुकाम जलेश्वरमा निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ ।

शुक्रबार विहान सोनमा गाउँपालिका वडानं. ३ खखनामा रक्षामन्त्री ईश्वर पोखरेलले तथा जलेश्वरमा स्वास्थ्यमन्त्रीले शिविरको उद्घाटन गर्नुहुने कार्यक्रम रहे पनि खराब मौसमको कारणले उहाँहरु आउन नसक्दा विना उद्घाटन नै शिविर शुरु गरिएको हो ।

खखनामा नेपाली सेनाका मेडिकल टिमले चेकजाँच गरी शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई जलेश्वर अस्पतालमा शल्यक्रियाको लागि पठाइनेछ । खखनामा स्वास्थ्य चेकजाँचसहित आवश्यक सम्पूर्ण औषधीहरु वितरण गरिएको वृहत स्वास्थ्य शिविरका संयोजक पूर्व स्वास्थ्य राज्यमन्त्री तथा सो क्षेत्रका प्रतिनिधिसभा सदस्य डा.सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

जलेश्वर अस्पतालमा २५ र २६ गते चेकजाँच गरिएका विरामीहरुमध्ये केहीको जलेश्वर अस्पतालमा शल्यक्रिया शुरु गरिएको जलेश्वर अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. राजिवकुमार झाले जानकारी दिनुभयो । उहाँले खखनाबाट शल्यक्रियाको लागि सिफारिस भइआएका विरामीहरुलाई माघ ५ गतेसम्म शल्यक्रिया गरिने बताउनुहुँदै सो अवधिमा करिब ६ सय विरामीको शल्यक्रिया गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

जलेश्वर अस्पतालमा नेपाली सेनाका डा. समिर अर्याल र डा. श्रीजन मल्लको नेतृत्वमा २७ जनाको शल्यक्रिया गर्ने टिम खटिएको छ । सेनाले जलेश्वर अस्पतालमा महिलाको पाठेघरसम्बन्धी, हाइड्रोसिल, हर्निया, पित्तथैलीमा पत्थरी, मृगौलामा पत्थरी, पाइल्सलगायतका विरामीहरुलाई अप्रेसन गरिने जानकारी दिनुभयो । यो समाचार तयार पार्दासम्म सातजना विरामीको शल्यक्रिया गरिएको जनाइएको छ ।

यसैबीच, खखनामा शुरु भएको वृहत स्वास्थ्य शिविरमा एकहजार ७ सयको चेकजाँच हुने स्वास्थ्य शिविर संयोजन समितिका प्रवक्ता अशोककुमार यादवले जानकारी दिनुभयो । उहाँले मौसममा आएको बदलाव तथा पानी परेको कारणले हामीले लिएको दुई हजारको लक्ष्य पुग्न नसकेको बताउनुहँुदै एकहजार ७ सयको नाम दर्ता भई उनीहरुको चेकजाँच गरिने जानकारी दिनुभयो ।

उहाँले मङ्सिर २७ गतेदेखि पुस ५ गतेसम्म चल्ने यस स्वास्थ्य शिविरबाट २० हजारभन्दा बढीले स्वास्थ्य उपचार पाउने तथा कम्तीमा पनि ६ सय विरामीहरुले निःशुल्क शल्यक्रियाको उपचार पाउने लक्ष्य रहेको छ । नेपाली सेनाले खखनामा अत्यावश्यक अवस्थामा प्रयोग गर्ने १२ वटा मेडिकल गाडीमा इसिजी, एक्सरे, ल्याव प्रयोगशालाका सेवा दिइरहेका छन् ।

सफल नेपाल


ताजा खबर