इन्टरनेट एवं विद्युतीय उपकरण चलाउन जानिएन भने जोकसैका लागि जोखिमपूर्ण छ । बालबालिकालाई त झनै खतरनाक हुने विज्ञहरू बताउँछन् । इन्टरनेटले थुप्रै परिवारलाई समस्यामा पारेको छ । इन्टरनेट वा उपकरणका कारण सानै उमेरमा विभिन्न समस्यामा पर्दा बालबालिकाको भविष्य नै प्रभावित हुन्छ । एउटा स्वस्थ बच्चाले भविष्यमा देशका लागि महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ । तर, त्यो बच्चा मानसिक समस्यामा पर्यो वा अस्वस्थ भयो भने देशले दक्ष, सक्षम र जिम्मेवार नागरिक पाउने अवसर गुमाउन पुग्छ । त्यसैले बालबालिकाको स्वास्थ्य, अझ मानसिक स्वास्थ्यप्रति सबै पक्ष संवेदनशील हुनुपर्ने आवाज सरोकारवालाले उठाउँदै आएका छन् । आज इन्टरनेटमा बालबालिका केकस्तो समस्याको सिकार भइरहेका छन्, त्यसमा अभिभावक र विद्यालयको भूमिका कस्तो हुन्छ ? बालबालिकालाई यस्तो जोखिमबाट जोगाउन के गर्न सकिन्छ ? लगायतका प्रशनहरु सहित हामीले मनोविद् डा. गंगा पाठकसँग गरेको सफल कुराकानीको सम्पादित अंश:
बालबालिकाहरू इन्टरनेट र नयाँ प्रविधिको जोखिममा पर्नु भनेको के हो, उनीहरू किन असुरक्षित छन् ?
कोभिडपछाडि इन्टरनेट विद्यार्थीको बाध्यता बन्यो । स्मार्टफोन, ल्यापटप, आइप्याड उनीहरूले हात पारे । उनीहरू उमेरले पनि जिज्ञासु स्वभावका हुन्छन् । इन्टरनेट र उपकरणको सहायताले त्यहाँभित्र उनीहरूले विभिन्न कुरा खोज्ने, खोतल्ने काम गरे । अनलाइन कक्षासँगै विद्यार्थीहरू अन्य गतिविधिमा पनि सामेल भए । अभिभावकहरूले ठाने, बच्चा पढिरहेको छ, कोठामा छ । त्यसैले मोनिटरिङ भएन । यता पढ्नलाई किनिदिएको इन्टरनेट र उपकरणले बच्चालाई कहाँ, कहाँ पुर्याइसक्यो भनेर अभिभावकलाई पत्तै भएन । कोभिडको उदाहरणचाहिँ मैले किन पनि दिएकी भने, त्यसपछि इन्टरनेट र उपकरण दुरुपयोग, यसका दुष्परिणाम बच्चामा बढी मात्रामा देखियो । यही नै जोखिम हो ।
जोखिममा कसरी पर्छन् भन्दा उमेर नपुग्दै बच्चाले धेरै कुराहरू भेट्छ । उमेर नपुग्दै पोर्नोग्राफी हेर्छ । सोसल नेटवर्कका अनेकौँ माध्यममा जोडिन थाल्छ । यसमा उनीहरूको लत बस्छ । संसारमा सबै मान्छे असल नियतका त हुँदैनन् । केही मान्छे त्यस्ता पनि छन्, जसले बच्चालाई सिकार बनाउँछन् । सोसल मिडियाबाटै बच्चाहरू पीडित बनेका कैयौँ घटना छन् । बच्चाको साथी नै इन्टरनेट र उपकरण हुनु उनीहरूलाई जोखिमतिर तान्ने अर्को प्रमुख कारण हो ।
बालबालिकासँग जोडिएका यस्ता धेरै केसहरू तपाईंले नियाल्नुभएको छ, कस्ता खालका घटना बढी छन् ?
इन्टरनेट र नयाँ प्रविधिसँग जोडिएर आएका बालबालिकाका कैयौँ समस्या मैले हेरेकी छु । धेरै अभिभावकका कुरा सुनियो, प्रभावित बालबालिकाका कुरा सुनियो । अपराधीले सिकार बनाएकोदेखि इन्टरनेट दुरुपयोगसम्मका घटना छन् ।
काठमाडौंको नाम चलेको एउटा विद्यालयमा केही छात्रछात्राबीच ग्रुप च्याटिङ हुँदोरहेछ । ‘क्लोज’ हुँदै जाँदा उनीहरूबीच आफ्नै नग्न तस्वीरहरूसमेत आदानप्रदान हुन थालेछ । जतिबेला पनि च्याटमै घोरिएको देखेर केटाकी आमाले निगरानी बढाउनुभयो । एक दिन उसको मोबाइलमा हेरेपछि उहाँले थाहा पाउनुभयो, मेरो छोरालाई कसैले दुर्व्यवहार गरिरहेको छ । दुर्व्यवहार कसले गरिरहेको छ भनेर उहाँले पत्ता लगाउन सक्नुभएन । अनि शिक्षकसित कुरा गरेर उसको मोबाइल चेक गर्दा फोटो आदनप्रदान गर्ने त्यही स्कुलमा पढ्ने छात्रा रहिछिन् । त्यसपछि शिक्षकले केटीका आमाबुबालाई सतर्क रहन आग्रह गरेछन् । आमाबुबाले सबै कुरा थाहा पाए भनेर केटाकेटी दुवैले आत्महत्याको प्रयास गरे । केटाले आफ्नो हजुरबुबाको औषधि सबै खाइदियो । केटीले घाउमा लाउने दबाई सबै खाइदिई । उनीहरू दुवै जनालाई बेलैमा अस्पतालमा नलगिएको भए झन् ठूलो दुर्घटना हुन्थ्यो । यो इन्टरनेटले जन्माएको समस्या हो ।
अर्को एउटा घटनामा १२ कक्षाको किशोरले साना बच्चाहरूलाई ‘मिसयुज’ गरेको छ । च्याटिङमार्फत नै उसले ९/१० मा पढ्ने केटाकेटीहरूलाई यौन दुर्व्यवहारको सिकार बनायो । ऊ आफू पनि यसमा फस्यो । साना केटाकेटीलाई आफूले यस्तो गरेको भनेर कालान्तरमा त्यो केटा पछुतायो । यौनसँग सम्बन्धित कुरा गर्ने त हामीले वातावरण कहाँ बनाएका छौँ र ! उसका बुबा प्रोफेसर हुनुहुन्छ । उसले यो कुरा कसैलाई भन्न सकेन । यही तनावले १२ को परीक्षासमेत बिगार्यो । भएको एउटा छोराले पनि पढ्न नसक्ने भयो भन्दै अभिभावकले मकहाँ ल्याउनुभयो । यहाँ आइपुगेपछि हामीले थाहा पायौँ कि उसको समस्या अर्कै थियो ।
मसँग आइपुगेका ‘केस’हरूका आधारमा भन्नुपर्दा च्याटिङ, ग्रुप च्याटिङ, ग्याम्बलिङजस्ता समस्यामा फसेका केटाकेटी ज्यादा छन् । गेम खेल्न पैसा नपाउँदा मम्मीको लकर खोली गहना कतै सस्तोमा बेचेर ग्याम्बलिङ गरेको घटना पनि छ । पब्जीजस्ता गेमले केटाकेटी भएका कुनचाहिँ परिवारलाई नसताएको होला र ?
इन्टरनेटले उनीहरूलाई ‘अर्ली मचुअर्ड’ गरायो । उमेर नपुग्दै धेरै कुरा सिके । अन्जानमा प्रविधिको दुरुपयोग पनि गरे । लतमा परे । पढाइ बिगारे । सामाजिक सीपहरूमा ह्रास आयो । चुकुल लाएर कोठामा बस्ने र मोबाइलप्रतिको मोह बढी देखियो । घरमा पनि तनाव भयो । आमा र बच्चाको झगडा हुन थाल्यो । यसको थप असर फेरि बच्चामै पर्ने भयो ।
तपाईंको अनुभवले के भन्छ, नयाँ प्रविधिको जोखिममा बालक बढी छन् वा बालिका ?
केही गैरसरकारी संस्थाबाहेक सरकारीस्तरबाट ठ्याक्कै अध्ययन भएको छैन । मेरोमा आउने ‘केस’हरूको कुरा गर्नुहुन्छ भने धेरैजसो छोरीहरू छन् । युनिसेफले गरेको अध्ययनमा बालक र बालिका दुवै नै उस्तै तरिकाले प्रभावित रहेको भनिएको छ । फरक यति हो, छोराहरूले प्राय: लुकाएर राख्छन् तर छोरीहरूले कुनै न कुनै इमोसनबाट त्यसलाई अभिव्यक्त गर्छन् । अनि अभिभावक सचेत हुन पाउँछन् ।
पीडक कस्ता हुन्छन् ? उनीहरूको उद्देश्य के हुन्छ ?
म भए ठाउँ आइपुगेका ‘केस’को कुरा गर्नुहुन्छ भने धेरैजसो चिनेजानेकै मान्छे छन् । कसैका दाइ पर्ने व्यक्ति छन्, कसैका सहपाठी छन् । कोही एउटै विद्यालयका सिनियर छन् । उनीहरूको उद्देश्य नै रमाइलो गरौँ भन्ने खालको हुन्छ । त्यो रमाइलोले बच्चाको भविष्यमा कति ठूलो असर पुर्याउँछ भन्ने कुराको उनीहरूले हेक्का राखेका हुँदैनन् ।
एक स्कुलको घटना । एउटा मान्छेले एक बहिनीको फेसबुक पासवर्ड फेला पारेछ । ती बहिनीसँग एकदमै मिल्ने अरु तीन जना केटी साथी रहेछन् । तिनै बहिनीको आईडीको दुरुपयोग गरेर त्यो मान्छेले अर्की एक जनाको पनि पासवर्ड फेला पारेछ । अनि साथी बनेर च्याट गर्न थालेछ । ती बहिनीको साथीले ‘अर्धनग्न’ तस्वीर पठाइछन् । त्यसलाई तोडमोड, जोडजाड गरेर अब त्यो मान्छेले ब्ल्याकमेल गर्न थालेछ । ती बहिनीले तीनपल्टसम्म ई-सेवाबाट त्यो मान्छेलाई पैसा पठाइछन् । त्यो मान्छे पैसा माग्न पल्केपछि बहिनी तनावमा परिन् । सधैँ कहाँबाट ल्याउनु पैसा ? उसले त यसैगरी मागी नै रहने भयो । मम्मीसँग के भनेर माग्नु ?
मोबाइल चलाएको देखेर, गेम खेलेको देखेर अभिभावक सगौरव भन्छन्- मेरो बच्चा यति बाठो छ, स्मार्ट छ । मजाले मोबाइल चलाउँछ, गेम खेल्छ । गेममा त मलाई नै जित्छ । तर म भन्छु- ए इन्टरनेटको गेम ? लु त्यहाँ जित्यो भने जिन्दगीको गेम हार्छ । बाहिरको गेममा चाहिँ जित्ने बनाउनुस् ।
अन्ततः उनले ती मिल्ने साथीलाई यो कुरा सुनाइछन् । तब पो थाहा भयो, उनकी मिल्ने साथीले पनि त्यही नम्बरमा दुईपल्ट पैसा पठाइसकेकी रहिछिन् । अब उनीहरू दुवै जनाले परिवारमा भन्ने निधो गर्छन् । परिवारले साइबर ब्युरोमा रिपोर्ट गर्छ । केटो समातिन्छ । बल्ल थाहा हुन्छ, त्यो मान्छे चिनेकै दाइ रहेछ ।
एउटा त रमाइलोका लागि यसो गर्दा रहेछन् । कसैकसैले पैसाका लागि ब्ल्याकमेल गरेका पनि छन् । अर्को कुरा, यही इन्टरनेटमा उनीहरूले यस्ता कैयौँ घटना हेर्न पाएका छन् । त्यसबाट सिकेर अप्लाई गरेको पनि भन्न सकिन्छ । यसको अर्थ आफूले इन्टरनेटमा हेरेका कुरा व्यवहारमा कत्तिको लागू गर्न सकिँदो रहेछ भनेर यस्तो बदमासी गर्नेहरू पनि भेटेकी छु मैले त ।
किशोर अवस्थाका बालबालिकाको मन कस्तो हुन्छ ? उनीहरूलाई इन्टरनेट जोखिमतिर लैजान के कुराले उक्साउँछ ?
एकै शब्दमा भन्ने हो भने चञ्चलपनले उक्साउँछ । उनीहरू अस्थिर हुन्छन् । के राम्रो के नराम्रो, आफूले गरिरहेका कामको परिणाम के हुन्छ भन्ने कुरामा गहिरो गरी सोच्दैनन् । तत्काल जे गर्दा मजा आउँछ, खुसी मिल्छ, त्यही गर्छन् । उनीहरू स्वभावैले उत्सुक हुन्छन् । अर्को कुरा, उनीहरूमा साथीप्रति अनौठो विश्वास हुन्छ । साथीले गरेका कुरा वा साथीले गर् भन्यो भने आँखा चिम्लेर जे पनि गरिदिने खालका हुन्छन् । उनीहरू त्यो काम गर्न हुन्छ कि हुँदैन, त्यसको सामाजिक, नैतिक, कानुनी बन्धन कति छ भनेर विश्लेषण गर्दैनन् । यही चञ्चलता, उत्सुक स्वभावले उनीहरूलाई जोखिमतिर लैजान्छ । त्यसमाथि हातैमा संसार छ, जे खोजे पनि पाइने, जता गए पनि पुगिने । खोज्ने क्रममा नै उनीहरू नचाहिने कुरा पनि भेट्छन्, नपुग्ने ठाउँमा पुग्छन् । अर्को शब्दमा सिकार हुन्छन् ।
जोखिम न्यूनीकरणमा अभिभावक वा विद्यालयको भूमिका कस्तो पाउनुहुन्छ ?
सबैभन्दा ठूलो भूमिका नै अभिभावक र शिक्षकको हुन्छ । तर, हामीकहाँ भूमिका निभाइदिनुपर्नेले निभाइदिनुभएन । मेरोमा आउने बच्चाका आमाबुबालाई म अक्सर सोध्ने गर्छु, तपाईं किन निगरानी गर्नुहुन्न ? ढोकामा चुकुल लाएर बस्ने बानी हुँदासमेत आफ्नो बच्चासँग किन सोधीखोजी गर्नुहुन्न ? कोठाकोठामा खाना पुर्याउँदै किन हिँड्नुपर्यो ? एउटै टेबलमा बसेर किन खानुहुन्न ? उसलाई इन्टरनेट र उपकरणको सुविधा त दिनुभयो, तर त्यसको सदुपयोग भइरहेको छ कि दुरुपयोग भनेर किन वास्ता गनुहुन्न ?
अभिभावक हुन त्यति सजिलो छ र ? हातमा दिएपछि सकियो हैन नि ! हाम्रो समाजमा अभिभावले यो दायित्व निर्वाह गरेको पाइएन ।
बालबालिकाको साइबर सुरक्षाको हकमा शिक्षकहरूले पनि अन्धाधुन्धमै काम गरिरहनुभएको छ । कोभिडकालमा अनलाइन कक्षा हुँदा उहाँहरूले परम्परागत शैलीमै पढाइदिनुभयो । कक्षा कोठामा त त्यस्तो पढाइले विद्यार्थीमा अल्छीपना निम्त्याउँछ भने अनलाइनमा विद्यार्थीले कसरी फोकस गर्न सक्छ । वाक्क लागेपछि ऊ इन्टरनेटमा अनेक कुरा खोज्न थाल्यो । खोजेपछि इन्टरनेटको भवसागरमा जे पनि पाइन्छ । ऊ यसैमा डुब्दै गयो । अर्कातिर शिक्षकहरूले पनि उपकरणको प्रयोगबारे सिकाइदिनुभएन, घरतिर अभिभावकले वास्ता गर्नुभएन । कोभिडभन्दा अगाडि हामी नै भन्थ्यौँ, विद्युतीय उपकरणहरू एक घण्टाभन्दा बढी समय बच्चालाई चलाउन नदिनू भनेर । खास कारणले ७ घण्टासम्म चलाउन दिनुपर्ने बाध्यता आइपर्यो । सँगै धेरै समस्याहरू आए, जुन न्यूनीकरणमा शिक्षक र अभिभावकको अहम् भूमिका हुनुपर्थ्यो, त्यो भएन ।
विकसित मुलुकले कसरी व्यवस्थापन गरेका छन् बालबालिकामाथिका यस्ता जोखिम ?
थुप्रै उपाय अपनाएका छन् । डेनमार्कमा पनि १८ वर्षमुनिकालाई बालबालिका मानिन्छ । बालबालिकाले इन्टरनेट र उपकरणमा जति घण्टा कम गर्छन्, त्यसैअनुसार प्रोत्साहन पाउँछन् । त्यो प्रोत्साहन भनेको एउटा भौचर हो । त्यसबाट उनीहरूले पुस्तक र क्रियटिभ गेमहरूबाहेक अर्थोक किन्न पाउँदैनन् । इन्टरनेट र उपकरण बच्चाले जति कम चलाउँछ, यहीअनुसार प्रोत्साहन रकम पाउँछ ।
अर्को कुरा, पेरेन्टल गाइडेन्स (पीजी) हुन्छ । यो भनेको आफ्ना बच्चाको हितका लागि अभिभावकलाई दिइएको केही जिम्मेवारी वा अधिकार हो । हेर्न नहुने वेबसाइटलाई अभिभावकले ‘ब्लक’ गरिदिन सक्छन् । तर यसो गर्दा अभिभावकले आफ्ना बच्चालाई ‘यसरी ब्लक गर्नु तिम्रो मेरो हितकै लागि हो । यो मेरो दायित्व हो । मैले यो गरिनँ भने तिमी समस्यामा पर्छौ । कानुनतः म दण्डित हुन्छु’ भनेर बुझाउनुपर्छ ।
हाम्रोमा त केही पनि छैन । सचेतनाको कार्यक्रम छैन । यहाँ त एकछिन राउटरमा बत्ती बलेन भने घरमा तनावको स्थिति बन्छ । इन्टरनेट र उपकरणकै कारण रोगी भएर आएका थुप्रै केस छन् मसित ।
विदेशतिरचाहिँ स्वअनुशासनको प्रवृत्ति अलि प्रभावकारी हुन्छ । तिमीले यो गर्न हुँदैन है भनेपछि यो मैले गर्न हुँदैन भन्ने कुरा मनन गर्छन् । कानुन तोड्ने वा आफ्नो वा अरुको हितविपरीतका काम हत्तपत्त कसैले गर्दैनन्, आपराधिक उद्देश्य राखेका मान्छेलाई छोड्ने हो भने ।
अध्ययन, अनुसन्धानबाट पत्ता लागेको कुरा हो, विद्युतीय उपकरणले बच्चाको दिमाग विकास हुने सेल्स, न्युरोन्सलाई ड्यामेज गर्छ । बच्चाले फोकस गर्न सक्दैन । बच्चा दिक्दार भइरहन्छ, तनावमा भइरहन्छ । एन्जाइटी, डिप्रेसन बढ्छ । विकसित मुलुकमा अध्ययनले औँल्याएका कुराप्रति अभिभावक, शिक्षकसहितका पक्ष सजग हुन्छन् । सुझाइएका कुरालाई गम्भीरतापूर्वक पछ्याउँछन् । अभिभावक पनि संवेदनशील, इमानदार र जिम्मेवार हुन्छन् । गर्न हुने र नहुने कुरालाई बच्चालाई मजाले बुझाउन सक्छन् । हामी त्यसो गदैनौँ । बच्चालाई नगर्नु भन्छौँ, आफूचाहिँ त्यही गर्न नहुने काम गरिरहेका हुन्छौँ ।
डेनमार्कमा बालबालिकाले इन्टरनेट र उपकरणमा जति घण्टा कम गर्छन्, त्यसअनुसार प्रोत्साहन पाउँछन् । त्यो प्रोत्साहन भनेको एउटा भौचर हो । त्यसबाट उनीहरूले पुस्तक र क्रियटिभ गेमहरूबहेक अर्थोक किन्न पाउँदैनन् ।
एउटा घटना छ । एक किशोरीले आफ्नो बुबाको मोबाइलमा अर्कै महिलासँगको गोप्य च्याट फेला पारिन् । राति च्याट गरेको, फोटोहरू आदानप्रदान गरेको थाहा पाइन् । त्यसलाई उनले स्क्रिनसट गरेर आफ्नो च्याटमा पठाइन् । अब ती किशोरीको ध्यान पढाइमा केन्द्रित कसरी हुन सक्छ ? आफ्नो बुबाको त्यस्तो हर्कत थाहा पाएपछि उनले पढाइमा कसरी फोकस गर्न सक्छिन् ? अब उनको सम्पूर्ण ध्यान बुबालाई निगरानी गर्नमै केन्द्रित हुन थाल्यो, आज मेरो बुबाले के गरे, कसो गरे इत्यादि । यो तनाव भित्रभित्रै उनमा मडारिँदै गयो । उनले व्यवहारमा यसलाई देखाउन थालिन् ।
घरमा कोलाहल बढ्यो । विवादकै क्रममा एक दिन बुबाले एक थप्पड हानेछन् । त्यसपछि उनले बुबालाई तथानाम गाली गरिन् । आमालाई सबै कुरा भनिन् । र, परस्त्रीसँग लागेका बुबासँग सम्बन्धविच्छेद गर्न आमालाई सुझाइन् । कत्रो तनाव हेर्नुस् त । बुबा नैतिकहीन भएको परिणाम होइन त यो ?
अभिभावक भनेको त रोल मोडल पो हुनुपर्छ त । हामीकहाँ के हुन्छ, छेउमा बच्चा पढिरहेको हुन्छ, बुबाआमाले टीभी खोलेर हेर्छन् या त मोबाइल चलाएर बस्छन् । अनि बच्चा ज्ञानी भएर पढोस् भनेर अपेक्षा गर्नु कति उचित हो ?
विकसित मुलुकमा साइबरसँग जोडिएका घटना न्यूनीकरणका आफ्नै निकाय वा संस्था हुन्छन् । नेपालमा पनि हुँदै नभएको होइन । तर, कत्तिको प्रभावकारी छ ?
मसँग उपचारका लागि आउने धेरै अभिभावकहरूको अनुभवमा यो निकाय जति प्रभावकारी हुनुपर्ने हो, त्यति छैन भन्ने नै छ । यो उसको आफ्नै कारणले होला, कानुनी उल्झन वा अस्पष्टता के हो ।
किशोरकिशोरीको एउटा घटना साइबर ब्युरोमा पुगेको थियो । डेटका क्रममा केटाले केटीलाई कोकमा कुनै नशालु पदार्थ हालेर पिलाएछ । उनी अर्धचेत भएपछि यौन दुर्व्यवहार गरेछ । पछि तिम्रो भिडियो खिचेको छु भनेर धम्की पनि दिएछ । त्यही कुरामा उनीहरूको झगडा भयो । केटीले साइबर ब्युरोमा उजुरी दिइन् । तर, यो केस एक स्टेप पनि अगाडि बढेन । केटी त डिप्रेसनकै स्थितिमा पुगिन् । क्याम्पस जान, साथीभाइसित बोलचाल गर्न बन्द गरिन् । केटाले टर्चर दिन छोडेन । हदै भएपछि किशोरीले सोसल मिडियाका आफ्ना सम्पूर्ण खाताहरू बन्द गरिन् । अनि घरमा आफूलाई बन्द गरेर बसिन् । यस्तो यातनाको क्षतिपूर्ति उनलाई कसैले दिन सक्छ ? मसँग उनको कुरा हुँदा भन्थिन्, ‘मेरो कुनै सुनुवाइ नै भएन । मैले मात्रै गएर भनिरहँदा उल्टै म नै इन्सल्टेड भएँ ।’
काठमाडौंमा यस्तो हालत छ । इन्टरनेट, उपकरणको प्रयोग त यहाँ मात्रै छैन नि । दूरदराजसम्मै छ । यसको अर्थ यससम्बन्धी अपराध पनि दूरदराजसम्मै छ । अब तपाईं आफैँ अनुमान गर्नुहोस् त, साइबर अपराधविरुद्ध काम गर्ने हाम्रो संस्था कति शक्तिशाली हुनुपर्ने हो ? तर, कति कमजोर छ ।
माथिकी बहिनीको जस्तो केसमा २४ घण्टाभित्र एक्सन लिनुपर्ने होइन ?
हाम्रो राजनीतिक नेतृत्व बालबालिकासँग जोडिएका यस्ता मुद्दाप्रति कति संवेदनशील छ ?
हाम्रो राजनीतिक नेतृत्वले यसबारे सोच्छन् जस्तो नै लाग्दैन मलाई । सोचे पो संवेदनशील हुन्थे । मैले यही फिल्डमा काम गरेको ३५ वर्ष भयो । म एउटा निजी संस्था चलाएर बसेकी छु । यस्तो त सरकारले नै चलाउनुपर्ने हो । यस्तो त टोलटोलमा चाहिन्छ । मानसिक स्वास्थ्यको मुद्दा भनेको हरेक हेल्थ पोस्टबाट सम्बोधन गरिनुपर्छ । नेतृत्व संवेदनशील भइदिएको भए गरिन्थ्यो होला नि ।
भूकम्पपछि मात्रै मानसिक स्वास्थ्यको मुद्दा अलि पेचिलो बन्यो । आत्महत्याको दर पनि त्यसपछि नै बढेको थियो । तनाव सहन नसक्नेले आत्महत्या गरे । कतिपयले तनावलाई दबाएर डिप्रेसन र एन्जाइटीको दबाइ खाएर बसे ।
कागजमा त छ नि, सुलभ मानसिक स्वास्थ्यको सुविधा, जहाँ पनि जहिल्यै पनि । सुन्नलाई यो मीठो छ । तर खै कहाँ छ यो सुविधा ? यही काठमाडौंमा त छैन, दूरदराजको कुरा के गर्नु, मानसिक स्वास्थ्यलाई सरकारले कति प्राथमिकता दिएको छ, यसैले देखाउँछ । अझ बालबालिकासँग जोडिएर आउने मुद्दाहरूमा त नेता र नेतृत्वलाई झन् मतलबै छैन ।
बालबालिकालाई इन्टरनेट, उपकरणको सम्भावित जोखिमबाट बचाउन के गर्नुपर्छ ?
इन्टरनेट वा विद्युतीय उपकरणको सदुपयोग गर्दा यसका थुप्रै फाइदा छन् । प्रतिस्पर्धात्मक युग छ । विज्ञान, प्रविधि, दुनियाँका कुरा नजानी सुखै छैन । कुरा बिग्रनेचाहिँ दुरुपयोग गरेपछि हो । त्यसैले इन्टरनेट र इलेक्ट्रोनिक डिभाइसको दुरुपयोग गर्नबाट छेक्ने हो भने जोखिम पनि छेक्न सकिन्छ । यसमा सबैभन्दा बढी अभिभावक सचेत हुनुपर्छ । विद्यालयको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ । बच्चालाई धम्क्याएर, कुटेर, पिटेर लाइनमा ल्याउने एक समय थियो, जुन बेला हाम्रो समाज बालबालिकाको विषयप्रति उत्ति संवेदनशील थिएन । तर बच्चालाई सही ट्रयाकमा हिँडाउन सजायबाहेक थुप्रै उपायहरू छन्, यो कुरा अभिभाकलाई थाहा हुन जरुरी छ ।
मोबाइल वा इन्टरनेट चलाउन बालबालिकालाई बन्देज लगाउने होइन, यसलाई सदुपयोग गर्न सिकाउने हो । यससम्बन्धी शिक्षा अभिभावक र बच्चा दुवैलाई हुनुपर्छ ।
एक जना किशोरी रातभर मोबाइलमा भुल्दिरहिछिन् । यो कुरा उनका बुबाले थाहा पाएछन् । राति १/२ बजेसम्म मोबाइलमा झुम्मिएको देखेर बुबाले ‘बेलैमा सुत्, रातभर मोबाइल चलाएरै तँ बिहान उठेर कलेज जान नसकेकी होस्’ भनेर बारम्बार सम्झाउनुभएछ । हदै भएपछि एक दिन उहाँले मोबाइल खोसेर फुटाइदिनुभएछ । छोरी पनि के कम, बुबाको मोबाइल पनि ल्याएर उसैगरी फुटाइदिछन् । यो कुरा कलेजमा सुनाएपछि कलेजले उहाँलाई मकहाँ पठाइदियो । यहाँ आएर उहाँले सबै कुरा बताउनुभयो । परामर्शचाहिँ मैले कसलाई गर्नु, बुबालाई कि छोरीलाई ? भनेर उहाँलाई सोधेँ । आफ्ना बुबाले जसो गरे, त्यही सिकेर किशोरीले त्यसै गरिन् । अतः आफ्ना छोराछोरीलाई सम्झाउने, बुझाउने तरिका हुन्छ । ६ वर्षको बच्चालाई गर्नुपर्ने अभिभाकत्व एक खालको हुन्छ, किशोर अवस्थामा अर्कै हुन्छ, वयस्कलाई अर्कै तरिकाको प्यारेन्टिङ हुन्छ । यो कुरा अभिभावकले थाहा पाउनैपर्छ । अभिभावक हुनु जति ठूलो कुरा हो, त्योभन्दा ठूलो कुरा प्रभावकारी अभिभावकत्व निर्वाह गर्नु हो । बिनालाइसेन्सको बाउआमा भएका छन् भनेर म अक्सर भन्ने गर्छु । म बुबा वा आमा हुँदैछु भने मैले असल अभिभावक हुने कुरा थाहा पाउनुपर्छ ।
तपाईं अक्सर यौन शिक्षामा जोड दिनुहुन्छ । बालबालिकाको हकमा यो संवेदनशील पनि होला । अनि यो इन्टरनेटको जोखिमसँग कसरी जोडिन्छ ?
इन्टरनेटमा बालबालिकामाथि जोखिम बढ्नुका धेरै कारणमध्ये एक यौन शिक्षाको अभाव पनि हो । हामीले धेरै यस्ता केस हेरेका छौँ, जहाँ किशोरकिशोरीहरू च्याट गर्न थाल्छन् । उनीहरू यसैमा एकोहोरिन्छन् । केटा वा केटीले नग्न तस्वीर पठाउन भन्न सक्छ । नभए च्याट सार्वजनिक गरिदिने धम्की दिन्छ । बालबालिकालाई हामीले कम्तीमा कतिसम्म कुरा स्वस्थ हो, कतिपछि अस्वस्थ हो भन्ने कुरा सिकाउनुपर्छ । च्याट सार्वजनिक गरे गर् भनेर आफूलाई जोगाउन सक्ने बनाउनुपर्छ । यसो गर्न सिकाउने भनेको यौन शिक्षाले नै हो । नजानेरै पनि बालबालिका पोर्नाेग्राफी, हिंस्रक सामग्रीसम्म पुगेका हुन सक्छन् तर पछि यसमा लत बस्न सक्छ ।
यसबारे त कुरै गर्न हुन्न, कहाँ यस्तो कुरा गरेको भनेर हामीले ‘सेक्स’लाई खतरै बनाइदिएका छौँ । मेरो भूमिका के हो, म आफ्नो गतिविधिमा कति हदसम्म गएँ भने स्वस्थ हो, कतिपछि अस्वस्थ हो भन्ने कुरा बालबालिकालाई सिकायौँ भने धेरै समस्या हल हुन्छ ।
चाहे बलात्कारको भन्नुस्, चाहे अनलाइन दुर्व्यवहारका घटना, यौन शिक्षाको अभावले पनि बढिरहेको हो । हामीले खुलेर सिकाउनुपर्छ ।
हामीकहाँ अभिभावक यस्ता खालका पनि छन्, आफू व्यस्त हुँदा बच्चालाई मोबाइल थमाउने, बच्चाले झगडा गर्दा मोबाइल दिएर फकाउन खोज्छन् । यसो गर्नु जोखिमपूर्ण हुन्छ कि हुँदैन ?
समस्याको जड नै यहीँबाट सुरु हुन्छ । हामीकहाँ त ६ महिनाको बच्चामै स्क्रिन एडिक्सन छ । हेर्नुस्, हामी अभिभावक कति असंवेदनशील रहेछौँ । रोएका बेला फकाउनुपर्यो, कार्टुन देखायो । केही खुवानुपर्यो, त्यही कार्टुन देखायो । प्राकृतिक ढंगले हुर्किनुपर्ने त्यो बच्चाको विकास क्रममा अभिभावकको यही गल्तीले बाधा गर्न थाल्छ । त्यो बच्चामा अटिज्मजस्तो समस्या देखिन सक्छ । यो भनेको उसले उमेरअनुसार व्यवहार नदेखाउनु, बोल्न ढिला हुनु, विकास क्रममा ढिलाइ हुनु हो ।
इन्टरनेट र इलेक्ट्रोनिक डिभाइसको दुरुपयोग गर्नबाट छेक्ने हो भने जोखिम पनि छेक्न सकिन्छ । यसमा सबैभन्दा बढी अभिभावक सचेत हुनुपर्छ । मोबाइल वा इन्टरनेट चलाउन बालबालिकालाई बन्देज लगाउने होइन, यसलाई सदुपयोग गर्न सिकाउने हो । यससम्बन्धी शिक्षा अभिभावक र बच्चा दुवैलाई हुनुपर्छ ।
आममानिसले थाहा नपाएर यसो गरे । डाक्टरले समेत आफ्नो बच्चा हुर्काउने क्रममा स्क्रिन देखाएर अटिज्मको सिकार बनाएका घटना छन् । मोबाइल चलाएको देखेर, गेम खेलेको देखेर अभिभावक सगौरव भन्छन्, ‘मेरो बच्चा यति बाठो छ, स्मार्ट छ । मजाले मोबाइल चलाउँछ, गेम खेल्छ । मलाई नै गेममा जित्छ भन्नुहुन्छ ।’ सफल नेपाल