बेहोस पार्ने, एनेस्थेसिया भन्नेबित्तिकै धेरैजना आत्तिनुहुन्छ !

प्रा. डा. श्याम कृष्ण महर्जन काठमाडौंको चावहिलस्थित अग्रणि निजी अस्पताल ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा लामो समयदेखी कार्यरत हुनुहुन्छ । ॐ अस्पतालमा स्थापनाकाल देखीनै आवद्ध भएर काम गर्दै आउनुभएका डा. महर्जनको चिकित्सकिय भूमिका तुलनात्मक रुपमा अलि फरक छ । अपरेसन (शल्यक्रिया) गर्नुपर्ने बिरामीलाई असहज दुखाई महशुस नहोस र सँगै डाक्टरलाई पनि शल्यक्रियाका लागि उचित वातावरण मिलोस् भनेर शुरुमा विरामी बेहोस बनाउनेदेखि अपरेसनपछि पनि नियमित रेखदेखको भूमिका एनेस्थेसियोलोजिष्टको हुन्छ । उपचारका क्रममा वेहोस पार्ने डाक्टर भनेर चिनिने विशेषज्ञ एनेस्थेसियोलोजिष्टको भूमिकाबारे काठमाडौं मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको एनेस्थेसिया विभागका विभागिय प्रमुख समेत रहनुभएका डा. महर्जनसँगको सफल कुराकानीको सम्पादित अंश ।  

BSc OT and Anesthesia Technology Syllabus: Complete Details

How medtech is delivering modernisation to the operating theatre - Med-Tech Innovation
अपरेशन थिएटरमा शल्यकृयाका लागि तयार पारिएको टेवल

एनेस्थेसियालाई आम सर्वसाधारणले कसरी बुझ्नुपर्छ ?

आम नेपालीले बुझ्ने भाषामा भन्नुपर्दा अपरेशनमा दुई खाले डाक्टर सक्रिय हुन्छन् । एउटा अपरेशन गर्ने डाक्टर हुन्छ । अर्को बिरामीको सबै भाइटल्सहरु प्रेसरदेखि न्युट्रिसन के कस्तो छ ? कति आवश्यक पर्छ ? भनेर हेर्ने डाक्टर अथवा अपरेशनको दौरानभरि आइपर्ने हरेक समस्याको हल खोज्ने डाक्टर, जसलाई हामी एनेस्थेसियोलोजिष्ट भन्छौँ । कतिपय बिरामीहरुले चाँहि बेहोस गर्ने डाक्टर भनेर पनि बुझेको पाइन्छ ।

सबैले बुझ्नेगरी भन्नुपर्दा एनेस्थेसियालाई मानिसलाई उपचारकालागि चेतना तथा वेदना रहित बनाउने चिकित्सा विज्ञान भन्न मिल्छ । अपरेशन गर्ने वेलामा विरामीलाई नशावाट केहि औषधि दिई चेतना रहित बनाइन्छ र त्यसपछि दुखाई कम गर्न औषधि तथा ठुला अपरेशनहरुमा चलमलाउन नसकिने औषधि दिइन्छ । अपरेशन नसकिएसम्म यो अवस्थालाई निरन्तरता दिइन्छ । अपरेशन वा मानिसमा गरिने अरु कुनै प्रोसिजर सकिएपछि विरामीलाई पुनः बोल्न, आफैंले सास फेर्न  तथा आवश्यक मानविय हेरचाह गर्न सकिने अवस्थामा फर्काइन्छ । अपरेशन तथा एनेस्थेसियापछि विरामीको अवस्था तथा शल्यक्रियाको प्रकृति तथा गहिराई हेरेर पोष्ट अपरेटिभ वार्ड अथवा सघन उपचार कक्ष (आइ.सि.यु.) मा राखेर उपचार गरिन्छ ।

एनेस्थेसियाको दौरान विरामीको मुटुको चाल, नाडी, रक्तचाप, अक्सिजनको मात्रा, सास फेराई, इ.सि.जी. तथा अरु नाप जाँच गरिराख्नुपर्ने हुन्छ । विरामीहरुलाई चारदेखी छ घण्टासम्म केही नखुवाई राखिने हुनाले नुन, चिनी, पानी (सलाईन पानी ) तथा आवश्यक परेको वेलामा रगत चढाउनुपर्ने (Blood Transfusion गर्नुपर्ने) अवस्था पनि आउन सक्छ ।

वेहोस गराउने डाक्टर भनेपनि एनेस्थेसिया भनेपनि गहिरो निन्द्रा, दुखाइ नहुने, चलमलाउन नसक्ने तथा आफ्नो शरिर तथा वरपर के भइरहेछ भन्ने थाहा नहुने तर शरिरका आवश्यक अङ्गहरुले चाहिने काम गरिरहने चेतना तथा वेदना रहित अवस्था हो ।

सामान्य भाषामा भन्नुपर्दा अपरेशनको वेलामा एउटा टिम विरामीको सफल उपचारकोलागि सक्रिय रहन्छन् । शल्य चिकित्सक ( सर्जन वा अपरेशन गर्ने डाक्टर ) अपरेशन अघि, अपरेशन अवधिभर र पछि पनि विरामीको हेरचाह गर्ने डाक्टर (एनेस्थेसियोलोजिष्ट) र परिचारिका (नर्सिङ टिम) लगायतका अरु सहयोगी हातहरुको पनि ठुलो देन रहन्छ ।

अपरेशनको दौरान विरामी निदाएको हुन्छ र विभिन्न औषधिहरुको प्रयोगले नदुख्ने र हलचल गर्न नसक्ने अवस्था हुन्छ । त्यस समयमा हाम्रो शरिरको महत्वपूर्ण अङ्गहरु (Vital Organs)को कामको निगरानी तथा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । विरामीको मुटु, फोक्सो, मिर्गौला  र दिमागकालागि अक्सिजन, नुन चिनी पानीको उचित आपूर्ति र सन्तुलन मिलाउने महत्वपूर्ण कामको निगरानी तथा हेरचाहको लागि एनेस्थेसियोलोजिष्टको योगदान रहन्छ ।

एनेस्थेसियोलोजिष्ट डाक्टरहरु यस बाहेक शरिरका विभिन्न भागका धेरै थरीका शल्यक्रियाका लागि खास किसिमको एनेस्थेसिया दिने र त्यसको दौरान विरामीको हेरचाह गर्ने र जिवनलाई नै खतरा कुनै किसिमको समस्या  पर्न सक्ने अवस्थामा त्यसको उचित समाधानकालागि कार्यरत रहन्छन् ।

एनेस्थेसियोलोजिष्टको काम अपरेशन गर्ने बेला मात्रै हो कि अघिपछि पनि हुन्छ ? 

एनेस्थेसियोलोजिष्टको जिम्मेवारी भनेकै अपरेशन अगाडि र पछाडिसम्म बिरामीलाई हेर्नु हो । बिरामीलाई अपरेशन गर्न मिल्छ कि मिल्दैन ? भन्ने एनेस्टेसियोलोजिष्टले निर्णय गर्ने हो । त्यसकारण यो एकदमै महत्वपूर्ण जिम्मेवारी पनि हो । अपरेसन भइरहेको बेला वा भइसकेपछि कुनै समस्या जस्तै दुखाइ हुनसक्छ । कसैले उल्टी गर्ने, घाँटी दुख्ने या अन्य कुनै पनि समस्याहरुलाई समाधान गर्ने हाम्रो जिम्मेवारी हुन्छ ।

प्रि–एनेस्थेसिया / अपरेशन पूर्व चेकजाँच गर्ने कुरा कति महत्वपूर्ण छ ?

यसलाई प्रि–एनेस्थेसिया चेकजाँच भनिन्छ । यसलाई हामीले छोटकरीमा पीएसी पनि भन्छौँ । यो अपरेशन गर्नुभन्दा अगाडि गर्नु एकदमै जरुरी हुन्छ । हामीले कुनै एउटा मिति समय तोकेर एक हप्ता एक महिनापछि गरिने अपरेशन अघि बिरामीमा अरु कुनै समस्या छ कि छैन ? पहिला कुनै समस्या भएको थियो कि सबै इतिहास हेर्ने देखि लिएर राम्रो जाँच गरेर मात्र अपरेशनमा अघि बढ्नुपर्ने हुन्छ । यसलाई भन्छ इलेक्टिभ अपरेशन ।

हामीले चुरोट, रक्सी खाएर आउनुभएको छ भने यति समयसम्म यो औषधी खानुपर्ने अथवा उहाँहरुलाई मनोचिकित्सकलाई देखाउनुपर्ने हो कि मुटुको डाक्टरलाई देखाउनुपर्ने हो कि सबै निर्णय लिन पनि हामीले प्रि एनेस्थेटिक चेकजाँच गर्नुपर्छ । अर्को भनेको अपरेशनको प्लान हो ।

अपरेशन गर्ने सर्जनले यसरी अपरेशन गर्छौ भनेर योजना बनाएको हुुन्छ । तर एनेस्थेटिष्ट के हुन्छ भने बेहोस कसरी गर्ने, ढाँडमा सुई लगाएर गर्ने कि पुरै बेहोस गर्ने कि अथवा शरीरको कुनै एउटा भाग मात्र लाटो बनाउनुपर्ने हो कि यो बारेमा र विरामीलाई भेन्टीलेटर चाहिन्छ कि चाहिदैन । पूर्व तयारी आइसियुको तयारी यो सबै हेर्नको लागि प्रि–एनेसथेसिया एकदमै महत्वपूर्ण हुन्छ ।

 अपरेशनसँग सम्बन्धित कुराहरु  बाहेक ओपीडीमा पनि एनेस्थेसियोलोजिष्टको भूमिका हुन्छ ?

एनेस्थेसियोलोजिष्ट अथवा हाम्रो विभाग चाँहि हामो विशेषज्ञता भनेकै भेन्टिलेटरमा राख्नुपर्यो भने आवयश्क पर्ने हो । कहिलेकाही वार्डहरुमा समस्या आउँछ । बच्चाहरु हुन्छन् । नसा खोल्न सकिरहेको हुँदैन । त्यो बेलामा हामीले सहयोग पुर्याउने हो । आइसीयुमा केही समस्या आयो र बिरामीको मुटुको चाल घट्न थाल्यो भने पनि एनेस्थेसियोलोजिष्टको खाँचो पर्यो । तर समस्या के छ भने काठमाडौं भन्दा बाहिर सबै ठाउँमा आइसीयूको डाक्टर हुनुहुन्नँ, त्यो बेला हाम्रो प्रमुख भूमिका रहन्छ ।

एनेस्थेसिया दिँदा के कस्ता समस्या कस्ता हुन्छन् ?

समस्या नआउने भन्ने त हुँदैन । मेरै अनुभवको कुरा गर्दा समस्या नआएको त सायद दिन नै हुदैन । हरेक दिन चुनौतीपूर्ण हुन्छ । हरेक बिरामी हरेक केस नै एउटा फिल्मी हुन्छ, तीन घण्टाको फिल्म हेरेको जस्तै हुन्छ । चुनौती हुन्छ, त्यसमा तर त्यो चुनौतीसँग डराएर भाग्न पनि मिल्दैन । हार खाएँ भन्न मिल्दैन । म १३ वर्षदेखि यही काम गरिरहेको छु । अनुभव बटुलेको छु, तर समस्या नहुने, सबै थाहा हुने भन्ने हुदैन । कतिपय कुरा पहिलो पटक प्रयोग गर्ने पनि हुन्छ । यसको मतलब फेरि एनेस्थेसिया गर्नु असुरक्षित हुने भन्ने होइन । सबै कुरा सन्तुलनमा राखेर गरिएको हुन्छ । बिरामीले डराउनु आवश्यक छैन ।

मुख्य समस्या भनेको मुटुको चालमा गडबडी हुने , रक्तचाप तलमाथी हुने, फोक्सोको चालमा र अक्सिजनको मात्रामा कमी आउने, संक्रमण हुने, मुटु, मष्तिष्क तथा मिर्गौलामा समस्या आउने हुन सक्छ । जटिल समस्या जस्तै मुटु तथा फोक्सोले काम नगर्ने र बन्द हुने अवस्था पनि हुन सक्छ ।

बिरामीहरुले  उपचार गर्ने क्रममा डाक्टरहरु निर्दयी हुन्छन् भन्ने अनुभव सुनाउछन्, तपाईलाई कस्तो लाग्छ ? 

कोही पनि मान्छे निर्दयी हुने भन्ने कुरा नै हुँदैन । तर समय परिस्थिति र अवस्थाले मान्छेलाई आवश्यकताअनुसार प्रस्तुत हुनुपर्ने हुन पनि सक्छ । म त त्यसको उल्टो छु, म जस्तो बिरामी छ त्यही अनुसार बोल्छु । बच्चा हो भने बच्चाकै अनुसार, ठूलो हुनुहुन्छ भने त्यही अनुसार बोल्छु । एउटा सम्बन्ध बाँधेर उपचार गर्ने हो भने पक्कै काममा मिठास हुन्छ । राम्रो बोलीले आधा रोग निको हुन्छ भन्ने भनाई नै छ नी !

एउटा वयस्क व्यक्तिलाई एनेस्थेसिया दिनु र बच्चाहरुलाई दिनुमा केही फरक हुन्छ ? 

उमेरले, उसको शरीरले अवश्य फरक पार्छ । वयस्कहरुभन्दा बच्चाहरुलाई एनेस्थेसिया प्रयोग गर्नु एकदमै चुनौतीपुर्ण हुन्छ । बच्चा भन्ने वितिकै नाजुक हुन्छ, उसको परिवारहरु रोइरहेका हुन्छन् । त्यो देखेर बच्चाहरुलाई झन् डर हुन्छ, उसलाई कसरी अपरेशन टेबलसम्म लाने भन्ने कुरा नै चुनौतीको विषय हो । वयस्कहरुको हकमा त्यो सजिलो हून्छ । बच्चाहरुलाई सम्हाल्न पनि गारो नै हुन्छ ।  भर्खर जन्मिएका नवजात शिशुहरु र एक वर्ष मुनिका शिशुहरुलाई एनेस्थेसिया दिनु चुनौतीपूर्ण हुन्छ र त्यसकालागि विशेष तालिम र लामो अनुभवको समेत आवश्यकता हुन्छ ।

एक पटक एनेस्थेसिया प्रयोग गरिसकेपछि त्यसले दीर्घकालीनरुपमा असर गर्ने सम्भावना कति हुन्छ ? 

यसमा धेरै अनुसन्धानहरु भएका छन् । एनेस्थेसिया दिएपछि मान्छेलाई कुनै असर पार्यो कि भन्ने चासो हामीलाई पनि हुन्छ । तर ठ्याक्कै यस्तो असर भनेर खुलेको छैन । तैपनि व्यक्तिको निर्णय क्षमतामा त्यसले असर पुर्याएको कुरा चाँहि आउने गर्छ । अर्को चाँहि स्मरण शक्ति पनि कम हुँदै जाने गरेको पनि सुनिन्छ । तर अहिले त्यस्तो जोखिमहरु कम छ । किनभने अहिले कुनै पनि औषधि प्रयोग गरिसकेपछि त्यसले आधा घण्टा, ४५ मिनेटसम्म मात्रै असर पुर्याउने गरेको हुन्छ ।

एनेस्थेसियाको विषयमा अरु केही भन्न चाहनुहुन्छ ? 

एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराएको पाइन्छ । जुन आवश्यक छैन । यसमा जनचेतनाको अझै पनि आवश्यकता छ । कति जनालाई थाहा पनि हुँदैन । अपरेसन गर्ने बेला डाक्टर बेहोस बनाउने भन्यो भने आत्तिने, डराउने गरेको पाइन्छ । आफन्तहरु पनि डराएको पाइन्छ । त्यसकारण यसकोबारेमा जनचेतना नै आवश्यक छ । हामीले कतिपय प्राविधिक कुराहरुमा सामान्य जानकारीमात्रै भएपनि राखिराख्नुपर्छ ।

हाल एनेस्थेसियाका क्षेत्रमा उपलव्ध अत्याधुनिक मेसिनहरु, कम जोखिमयुक्त औषधिहरु र अनुभवि चिकित्सक भएको अवस्थामा यसको जोखिम एकदम कम हुन्छ ।


ताजा खबर