शोभा पाण्डेय/सिलवाल
शान्तिको दियो तिम्ले, संसारमा बाल्यौ ।
दरवारको वैभव त्यागी, ज्ञान खोज्न हिँड्यौ
पञ्चशीलको सिद्धान्त नि,प्रतिपादन गर्यौ ।
ज्ञानको खोजी गर्दै जाँदा,बोधी वृक्ष मुनि
ध्यान मुद्रामा बसी तिमी, बन्यौ साह्रै ज्ञानी ।
दया,माया,करुणाका ,उपदेश दिँदै
चञ्चल यो मानव मनलाई,मधुरस प्याउँदै ।
हत्या हिंसा काटमार ,गर्न हुन्न भनी
घरघरै पुग्यौ तिमी ,खाली खुट्टा हिँडी ।
सधैं सबको भलो सोचौँ ,काम राम्रो गरौँ
बुद्धका ज्ञानलाई हामी ,चरितार्थ गरौँ ।
वैराग्य र त्यागका मूर्ति ,गौतम बुद्ध तिमी
यो ब्रह्माण्ड रहेसम्म ,सम्झन्छौँ नि हामी ।
आहतमा परेकालाई ,राहत नै बाड्छौँ
चिन्ता होइन,चिन्तन गरी ,खुसी सधैं हुन्छौँ ।
मनुष्य भई जन्मे पनि ,भगवान् नै बन्यौ
मानवका मनमा तिमी ,बस्न सफल भयौ ।
बुद्धजयन्ती सफल पार्न,सब जन लागौँ
काँडा बिच हाँस्दै फुल्ने,फूल बन्न जागौँ ।