दूधभातमा लोभी छु : ‘राष्ट्रकबि माधव प्रसाद घिमिरे’

टेबलमा थुप्रै परिकार थिए । उनले खानाको पहिलो स्वाद मृगको सुकुटीबाट सुरु गरे । बुढयौली औंला थर्थराइरहेका थिए तर, चपाउने दाँत भने बलियै थिए उनका । घरी उनी खसीको मासु टोक्थे भने घरी लप्सीको दाना । ९५ वर्षे राष्ट्रकवि माधवप्रसाद घिमिरेले आधा घन्टाको अवधिमा काउलीको तरकारी, साग, भात पनि सिध्याइसकेका थिए । प्लेट चिल्लै पार्ने गरी खाएकाले परिकार मिठो बनेको संकेत मिल्थ्यो ।

Image may contain: 2 people, people sitting

खाइसकेपछि रुमालले मुख पुछेर उनले छेउमै खाइरहेकी पत्नी (महाकाली) लाई बिस्तारै सोधे, ‘खै औषधि ?’ महाकाली उनीतिर फर्केर मुसुक्क हाँस्दै भनिन्, ‘ला, ल्याउनै बिर्सिछु ।’

राष्ट्रकवि पनि मुस्कुराइरहे, केही बोलेनन् । तर, खानाचाहिँ फेरि अन्तिमपटक लप्सीको अचार थपे । खाना खाएपछि उच्च रक्तचापको औषधि लिने बानी रहेछ घिमिरेको ।

अनामनगरस्थित म्युजिक नेपालमा उनलाई आफ्नै बालगीतको रेकर्ड सुन्न बोलाइएको थियो, बिहानी भोजसहित । घिमिरेका साथ जीवनसाथी महाकली, छोरी शान्ति अधिकारी र ज्वाइँ पनि थिए । खानामा निकै सोखिन रहेको बताउने घिमिरेलाई सबैभन्दा मन पर्ने परिकार दूध र भात रहेको उनकी पत्नीले खुलाइन् । बेलुका र बिहान दूध-भात उनलाई अनिवार्य चाहिन्छ । ‘पाएजति कुनै कुरा खान छुटाउँदिनँ,’ घिमिरेले भने, ‘तर दूध र भातमा भने बढी नै लोभ गर्छु ।’ मासु पनि उत्तिकै मन पराउने रहेछन् । तर, पछिल्लो समय उच्च रक्तचाप भएकाले डाक्टरले उनलाई मासुको परिकार कम गर्न सुझाव दिएको महाकालीले सुनाइन् ।

‘अचम्मै छ,’ महाकालीले भनिन्, ‘अलिकता रक्तचाप बढी देखिए ध्यान, योगमा केन्दि्रत भइहाल्ने बानी छ उहाँको ।’ घिमिरेले पनि यसमा सही थपे । ‘कुन योग शैली भनेर नसोध्नुहोला नि’ भन्दै घिमिरेले ‘उच्च रक्तचाप नियन्त्रण गर्न योग अति आवश्यक रहेको’ बताए ।

घिमिरेले बालगीत लेख्न जति कठिन छ उति नै संगीत र लयमा ढाल्न चुनौतीपूर्ण रहेको दाबी गरे । उनले गीत सुनेपछि प्रत्येकमा आफूले कसरी, कुन समय तथा प्रसंगमा लेखेको समेत सम्झे । बालगीत बालबालिकाले नै अनुभूति गर्ने खालको सरल र गम्भीर सन्देश बोकेको हुनुपर्ने उनले खुलाए । ‘मेरा गीतको बच्चादेखि ठूलासम्मलाई गम्भीरताको छाप परोस् भन्ने लाग्छ,’ उनले भने, ‘त्यो मेरो बालगीत लेखनको विशेषता पनि हो ।’

सफल नेपाल

ताजा खबर