लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा डा. तिलक आचार्य

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सहप्राध्यापक डा. तिलकराम आचार्य नियुक्त हुनुभएको छ । विश्वविद्यालयले रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिस्पर्धा गराएको थियो ।

खुला प्रतिस्पर्धा गर्दा पहिलो नम्बरमा रहेका आचार्यलाई उपकुलपति प्रा. डा.सुवर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सिफारिस गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले आचार्यलाई शुक्रबार बिहान नियुक्ति पत्र प्रदान गर्नुभएको हो । प्रधानमन्त्री दाहालले बुधबार रजिष्ट्रार नियुक्तिको निर्णय गरेको बताउनुभएको छ । रजिष्ट्रार नियुक्त भएका आचार्यले यसअघि दुई कार्यकाल लुम्बिनी बौद्ध विश्वविद्यालयकै रजिष्ट्रार भई काम गरिसक्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई लुम्बिनीमा स्थापित गरी हालको अवस्थामा पुर्‍याउने काममा उहाँलाई रोल मोडलका रुपमा लिने गरिएको छ ।

आचार्य पहिलो पटक रजिष्ट्रार भएपछि केन्द्रीय कार्यालय लुम्बिनीमा स्थानान्तरण गर्नुभएको थियो । विश्वविद्यालय स्थापनाको १० वर्षसम्म काठमाडौँमा सीमित रहेको थियो । रजिष्ट्रार आचार्यले पहिलो कार्यकालमा विश्वविद्यालयका तीन वटा नियमावलीहरू बनाएर केन्द्रीय क्याम्पसमा पहिलो पटक कक्षा सञ्चालन, खडैयामा विश्वविद्यालयका लागि जग्गा प्राप्ति,  लुम्बिनीमा आठ कोठाको भवन निर्माण तथा पहिलो दीक्षान्त समारोह पहिलो कार्यकालमा गर्नुभएको थियो।

दोस्रो कार्यकालमा  रुपन्देहीको देवदहमा झण्डै एक सय बिगाहा जमिन विश्वविद्यालयको भोगाधिकारमा ल्याउन र देवदहमा डिन कार्यालय स्थापना गरी शैक्षिक कार्यक्रम सञ्चालन, बुटवलको नयाँ गाउँमा झण्डै ६ बिगाहा जग्गा प्राप्ति र कलेज स्थापना आचार्यले गर्नुभएको थियो ।

विश्वविद्यालयका तीन वडा डिन कार्यालयको संरचना निर्माण गरी शैक्षिक कार्यक्रम सञ्चालनमा उहाँले काम गर्नुभएको थियो । लुम्बिनीमा केन्द्रीय पुस्तकालय, केन्द्रीय कार्यालय, बुटवलमा शैक्षिक भवन तथा देवदहमा डिन कार्यालयको भवन निर्माणको काम यो चरणमा सकिएको विश्वविद्यालयले जनाएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय लगातार तीन आर्थिक वर्षमा बेरुजु फछ्र्यौटमा उत्कृष्ट भई पुरस्कृत उहाँले रजिष्ट्रार बनेपछि नै स्थायी शिक्षक र कर्मचारी नियुक्तिको काम अघि बढाउनुभएको थियो ।

तेस्रो कार्यकालका लागि नियुक्त आचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विकास हुँदै गरेको विश्वविद्यालयका लागि अनुभवी पदाधिकारीको आवश्यक रहने भन्दै उहाँले आफूले विश्वविद्यालयलाई अझै उचाइमा पुर्‍याउने बताउनुभयो। ‘उपकुलपतिज्यूले र मैले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउने अठोटसहित केही योजना अगाडि बढाएका छौँ, ती योजनाहरू कार्यान्वयन प्राथमिकतामा रहनेछन्, उहाँले भन्नुभयो।

देवदहमा नयाँ परियोजना शुरु गरिएको भन्दै शैक्षिक कार्यक्रमको विस्तार र भौतिक पूर्वाधारका योजनालाई सँगसँगै लगिने उहाँले बताउनभयो ।

रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा विश्वविद्यालयले खुला प्रतिस्पर्धा गराएको थियो । प्रतिस्पर्धी ९ जनामध्ये आचार्य पहिलो नम्बरमा रहनुभएको थियो । रजिष्ट्रार छनौटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश पौडेलको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.उपेन्द्र कोइराला र विद्वान प्रा.डा.पुष्कर बज्राचार्य सदस्य रहेको समिति बनाइएको थियो । रासस


ताजा खबर