~ महेश थापा
हो, अन्तिम घडीमा आएर इतिहास रच्ने अवसरबाट वञ्चित हुनुपर्दा मनमा ठेस लाग्नु स्वाभाविक हुन्छ ।
यहाँ त मुखमा हालिसकेको गाँस फुत्त आएर कसैले खोसिदिएझैँ भएको छ । तर दक्षिण अफ्रिकाजस्तो क्रिकेटको पावरहाउससँग नेपाली ठिटाहरूले निर्भिकताका साथ जुन शानदार अन्दाजमा खेले त्यो काविलेतारिफ छ ।
हामीले “क्याबात्” भन्न कर लाग्छ । एक रनले हार्नुपर्दा हाम्रो मनमा पीडा छ । क्षोभ छ । विस्मात् छ । यसो गरेको भए “यस्तो पो हुन्थ्यो कि”, “उस्तो पो हुन्थ्यो कि” भन्ने भावले मन बिथोलिरहन्छ । तर त्यो खेलको एउटा भाग हो ।
दवावका बीच विश्वविजेता टिम र त्यसका विश्वस्तरीय खेलाडीहरू ऐन मौकामा चुकेको, सिल्ली मिस्टेक गरेको हामीले अनेकौंपल्ट देखेका छौँ । खेलको दवाब कस्तो हुन्छ र त्यो चरममा पुग्दै गर्दा कहिलेकाहीँ दिमाग कसरी भ्याकुम भइदिन्छ भन्ने टप लेभलको प्रतियोगिताहरूमा सहभागिता जनाइसकेको कुनै मान्छेले मात्र बुझ्न सक्छ ।
गुलशनलाई उडाउनु व्यर्थ छ । यिनै खेलाडी हुन् जसले अजंगको प्रतिस्पर्धी दक्षिण अफ्रिकालाई खेलको पन्चानब्बे प्रतिशत हिस्सा पूर्ण दवाबमा राखे । र, हामीलाई अकल्पनीय जीतको वास्ना सुँघाए । खेलको क्रममा भएका गल्ती र कमजोरी खोतल्न मिल्छ । सुधारका उपाय सुझाउन सकियो । तर तिनलाई उडाउन मिल्दैन । किमार्थ मिल्दैन ।
एउटा उदयीमान क्रिकेटिंग राष्ट्रको रूपमा विश्वमाझ नेपालको कद अझ उँचो भएको छ । नेपालसँग खेल्नुपर्दा अब उप्रान्त कुनै विश्वविजेता टिमले पनि कम आँक्ने छैन र “एसोसियट देश” भन्दै कुनै कमेन्टेटरले हियाएको दृश्य पनि हामीले टेलिभिजनमा हेर्नुपर्ने छैन ।
थापा लेखक, स्तम्भकार र चेस खेलाडी हुनुहुन्छ ।