नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा धन्यवाद ज्ञापन

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्रीमा नियुक्त लगत्तै उहाँले सामाजिक सञ्जालमार्फत सबैलाई दिनुभएको हो । उहाँले सामाजिक सञ्जालमा ‘सबैमा समान, सबैलाई धन्यवाद’ उल्लेख गर्दै धन्यवाद दिनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानको धारा ७६(२) अनुसार नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले गत शुक्रबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही आज अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा संसद्को बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रबार नै दाबी पेस गर्नुभएको थियो ।


ताजा खबर