प्रधानमन्त्रीका राजनीतिक र आर्थिक सल्लाहकार नियुक्त

 प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले एमालेका नेता विष्णु रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

यस्तै बैठकले मन्त्रिपरिषद् अन्तर्गतको विभिन्न ५ वटा समितिहरू समेत गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताउनुभयो ।

बैठकले राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई तोकेको छ भने प्रशासन समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी रहनुभएको छ ।

यस्तै विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखक रहनुभएको छ भने  आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल रहनुभएको सञ्चारमन्त्री गुरुङले बताउनुभयो । रासस


ताजा खबर