एसियाली कराते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन

नेपाल भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा च्याम्पियन भएको छ। १९औं एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङसहित राष्ट्रिय टोलीका सदस्यले प्रतिस्पर्धा गरेको उक्त च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको हो।

सर्वाधिक ३१ स्वर्ण, २० रजत र ११ कांस्य पदकसहित नेपाल टिम च्याम्पियन बन्यो। एरिकाले भने सिनियर महिला ६८ केजीमाथि नेपाललाई स्वर्ण पदक दिलाइन्। दक्षिण एसियाका चार राष्ट्रले मात्र यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए। भारत दोस्रो स्थानमै सीमित बन्यो। भारतले २७ स्वर्ण, २० रजत र १३ कांस्य पदक जित्यो।

श्रीलंका पाँच स्वर्ण, १८ रजत र ३१ कांस्यसहित तेस्रो स्थानमा रह्यो। आयोजक भुटानका पाँच खेलाडी फाइनलमा पुगे पनि स्वर्ण पदकको स्वाद चाख्न पाएनन्। घरेलु टोलीले ३७ कांस्य पदक प्राप्त गर्‍यो। नेपालले शुक्रबार पनि स्वर्ण पदकमा आफ्नो नाम लेखाउँदा सफलता पाएको हो।

नेपालका लागि पुरुष क्याडेटतर्फ ५२ केजीमुनि समन श्रेष्ठ, ६३ केजीमुनि साहिल राई, जुनियरमा ६८ केजीमुनि निशान तामाङले स्वर्ण जिते। यु–२१ अन्तर्गत ८४ केजीमुनि गौरव नेपाल,८४ केजीमाथि आशिष श्रेष्ठ, सिनियर पुरुषमा ५५ केजीमुनि एलोन श्रेष्ठ र ६७ केजीमुनि सन्तोष श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाए ।

राष्ट्रिय टोलीका सदस्यद्वय मोहम्मद सेखु आलमले ८४ केजीमुनि र विप्लवलाल श्रेष्ठले ८४ केजीमाथि स्वर्ण जिते। क्याडेट महिलातर्फ ४२ केजीमुनि वर्षा राई, ४७ केजीमुनि प्रोसिया चौधरी र ६१ केजीमुनि मनीषाकुमारी बोहराले स्वर्ण पदक जिते।

जुनियर महिलाको ४२ केजीमुनि सुस्मिता वाइबा र ५३ केजीमुनिमा समीक्षा ढुङ्गानाले सफलता प्राप्त गरे। यु–२१ उमेरसमूहमा ४५ केजीमुनि प्रियन्का शाही, ५० केजीमुनि अन्जली महर्जन र ५५ केजीमुनि जिया कार्कीले स्वर्ण दिलाए।

सिनियर महिलामा ४५ केजीमुनि वर्षा बुढामगर र ६१ केजीमुनि निरूपा तामाङले स्वर्ण पदक जिते। महिला टिम कुमितेमा नेपालले सफलता प्राप्त गर्‍यो। पुरुषमा भने नेपाल दोस्रो स्थानमा सीमित भयो।

विजेतालाई भुटानका राजकुमार जिगेल उग्येन वाङ्चुक, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, दक्षिण एसियाली कराते महासंघका अध्यक्ष भरत शर्मा, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङलगायतले पुरस्कृत गरे। रासस


ताजा खबर