प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वासको मत प्राप्त

विश्वासको प्रस्तावको मतदानमा पक्षमा १८८, विपक्षमा ७४

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभामा आइतवार भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा १८८ मत, विपक्षमा ७४ मत र मत दिन्न भन्नेमा एक परेको छ । बैठकमा कूल २६३ सांसद उपस्थित हुनुहुन्थ्यो ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई यही असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रचण्ड पदमुक्त हुनुभएको थियो । एमाले अध्यक्ष ओलीलाई नेपाली काँग्रेसको समर्थनमा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको हो । धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ ।

प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदले विश्वासको मत दिएका छन् । त्यस्तै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले विपक्षमा मतदान गरेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ७ गते सोमबार दिउँसाे १ बजे बस्नेछ । रासस


ताजा खबर