पदको सदुपयोग गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदको उचित सदुपयोग गर्ने बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभामा दुई तिहाइ बहुमतबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत दिएकोमा सबै सांसदलाई धन्यवाद दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीले सबै प्रतिनिधि सभाका सदस्यलाई धन्यवाद दिनुभएको हो ।

‘‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ, यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने छु, प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद’’, ओलीले लेख्नु भएको छ ।

आज प्रतिनिधि सभा बैठकमा ओलीको पक्षमा १ सय ८८ मत परेको थियो । कुल २ सय ६३ सदस्य उपस्थित रहेको बैठकमा उहाँको विपक्षमा ७४ मत खसेको थियो भने एक जनाले तटस्थ रहने मत हाल्नु भएको थियो । २ सय ७५ सदस्सीय प्रतिनिधि सभामा दुई तिहाइ बहुमतको लागि १ सय ८४ मत आवश्यक पर्दछ ।

ओली नेपाली कांग्रेसको समर्थनमा गत असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । संविधानका धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त हुनुभएका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।रासस


ताजा खबर