प्रेस काउन्सिल नेपाल, पत्रपत्रिका वर्गीकरण सम्परीक्षण समिति (एबिसी) को आयोजनामा २०७६ मंसिर ३० गते तीब्र हुवहुवाला पत्रपत्रिकाका प्रकाशक/सम्पादकसंग वृहत छलफल भयो ।
छलफलमा पूर्व इलामदेखि सप्तरी, धनुषा, रौतहट, पर्सा, काभ्रे, काठमाडौं, बाँके, कैलालीबाट प्रकाशित हुँदै आएका दैनिक तथा साप्ताहिक अखबारका सम्पादक, प्रकाशकहरु छलफलमा सहभागिता थियो । विज्ञहरुले पेश गरेको तीन वर्षदेखि लगातार हुवहु प्रतिवेदनका आधारमा धेरै हुवहु गर्ने शैली, प्रकृतिबारे अवगत गराउँदै छलफल सुरुवात गरिएको थियो ।
अन्य मिडिया वा आफ्नै अखबारबाट सम्पादकीय, लेख तथा समाचार सामग्री कपीपेष्ट गर्ने, बारम्बार सार्ने, राससको ग्राहक बनेको तर स्रोत नखुलाउने, ग्राहक छैन तर स्रोत खोलेर कपीपेष्ट गर्ने, कपीपेष्टको मात्रा कुनै कुनै अखबारमा शतप्रतिशत देखिएको भेटिएपछि सम्बन्धित मिडियाका जिम्मेवार व्यक्तिलाई बोलाएर छलफल गरिएको हो ।
प्रेस काउन्सिल नेपालका सदस्य एवं पुनरावलोकन समितिका संयोजक गोपाल बुढाथोकीले एबिसीबाट तयार रिपोर्टलाई काउन्सिल बोर्डले अनुमोदन गर्दछ, एबिसीले दिएको रिपोर्टअनुसार आ.व.२०७४/७५ मा आवेदन परेका ९१२ पत्रिकामध्ये ४१८ वटा पत्रिका हुवहु देखिएका र काउन्सिलले हुवहुको मात्रा हेरी धेरैलाई तह घटाएर राखिएको, तीब्र हुवहुवाला, बारम्बार सचेत गराउँदा पनि नसुध्रिएका कमैलाई हुबहु कायम गरेर नतिजा प्रकाशन गरेको उल्लेख गरेका थिए ।
बुढाथोकीले थपे– “काउन्सिल स्वरोजगारवाला मिडियाको उत्थान गर्दछ, घाँटी निमोठ्दैन । हुवहुलाई पत्रकारिता मान्ने हो भने केही भन्न सकिन्न, होइन भने ग्रामीण तहलाई फोकस गर्नुस्, मौलिकता दिनुस् । सौदाबाजी गर्ने वा कुनै पेशागत संघ, संगठन, माथिल्लो पावरका भरमा काम हुँदैन, भएको छैन । यदि हामी कोही पदाधिकारी वा कर्मचारीबाट त्यस्तो भएको रेकर्ड, प्रमाण छ भने ल्याउनुहोस् ठाडो कार्वाही हुन्छ ।
सो अवसरमा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले कमसेकम ५० प्रतिशत मौलिक सामग्री हुनुपर्ने वर्गीकरणको मान्यता रहेको उल्लेख गर्दै मिडियालाई मर्यादित बनाउन पनि मौलिकतामा फोकस गर्नुपर्ने भन्दै स्वरोजगारमूलक पत्रपत्रिकाका आफ्नै समस्या, समानुपातिक विज्ञापन लागू नहुनुको मर्कालाई विशेष मध्यनजर गरिएको र सोहीअनुसार नीति रहेको बताए ।
सो अवसरमा बाँकेबाट आएका एक सम्पादकले आफूबाट कमीकमजोरी भएको स्वीकार्दै आगामी दिनमा त्यसो नहुने, आफूहरुसामु सुध्रिने वा सक्किनेमध्ये एउटा विकल्प रहेको बताए । विभिन्न जिल्लाबाट आएका सहभागिले यो कार्यक्रमले सुधार्ने अवसर मिल्यो, अव उप्रान्त गल्ती नहुने बताउँदै मोफसलमा बसेर धेरै मिडियामा काम गर्नुपर्ने वा एउटै व्यक्तिले न्युन ज्यालामा धेरै मिडिया हेर्नुपर्ने कारणले हुवहुको समस्या उत्पन्न भएको, मेनेजमेन्ट बदली भइ पुरानो टिमले गरेको हुबहुको सिकार हुनुपरेको वताए ।
सो अवसरमा सहभागिहरुले सुध्रने मौका दिनुपर्ने भन्दै छलफल कार्यक्रम आयोजना गरेर सचेत बनाएकोमा काउन्सिलप्रति आभार व्यक्त गरे । उनीहरुले यससम्बन्धि कार्यक्रम स्थानीयस्तरमा लैजानुपर्ने आवश्यकता औंल्याए । -रासस