शेयर बजारमा बितेको एक महीनादेखिको रौनक अझै थामिएको छैन भने सोमबार पनि नयाँ कीर्तिमान बनेको छ।
बजार परिसूचक नेप्से सोमबार ७०.८१ अंकको फराकिलो वृद्धिसँगै दुई हजार ९३१ बिन्दुमा पुगेको छ। पछिल्लो एक महीनामा मात्रै बजार परिसूचक एकतिहाइले बढिसकेको छ।
शेयर बजारमा २७ अर्ब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ। यो अहिलेसम्मकै सर्वाधिक धेरै कारोबार रकम हो। आइतबार मात्रै बजारमा २५ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको थियो।
सोमबार डेढ दर्जन कम्पनीको शेयरको मूल्य १० प्रतिशतले बढेको छ। उच्च दरमा शेयरको मूल्य बढ्ने कम्पनीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर लगायत छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार १७१ कम्पनीको शेयरको मूल्य बढेको छ भने ६८ वटाको मात्रै घटेको छ।
सोमबार हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, नेपाल फाइनान्स जस्ता कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ। रासस