प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस पिन्जले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीच ६६ वर्षदेखि हुँदै आएको कूटनीतिक र आर्थिक सम्बन्ध तथा आपसी हितबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।
जर्मनी नेपालको एक पुरानो विकास र व्यापारको साझेदार मुलुक भएकाले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएको भन्दै प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभयो।
भेटका अवसरमा प्रधानमन्त्रीको निजी सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो। रासस