टीआरसी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

राष्ट्रियसभाको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग -(तेस्रो संशोधन) विधेयक (टीआरसी), २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

सभामा कानुन मन्त्री चौरासियाले सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पीडित मैत्री बनाइएको बताउनुभयो ।

कानुन मन्त्री चौरासियाले दुई पक्षबीचको सहमति र असहमतिका आधारमा न्याय निरुपण हुने प्रावधान विधेयकमा रहेको भन्दै यसबाट गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाले उन्मुक्ति नपाउने बताउनुभयो ।

मन्त्री चौरासियाले विधेयकले शान्ति पक्रिया निष्कर्षमा पुर्‍याई न्याय निरुपण र समाजमा मेलमिलाप कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, राष्ट्रियसभाको आजकै बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभा समक्ष पेश भएको छ ।
बैठकमा कानुन, मन्त्री अजयकुमार चौरासियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभा समक्ष पेस गनुभयो ।

विधेयक पेश गर्नुहुँदै मन्त्री चौरासियाले कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन, कानुन विषयको पाठ्यक्रम,मापदण्ड निर्धारण गर्न विधेयक संशोधन आवश्यक रहेको बताउनुभयो ।

कानुन मन्त्री चौरासियाले कानुन व्यवसायीको पेशागत आचरणलाई नियमन गर्न र पारदर्शी बनाउन पनि विधेयकको संशोधनको आवश्यक भएको बताउनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक भदौ ६ गते बिहीबार १:१५ बजे बस्नेछ । रासस


ताजा खबर