राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला असोज १ र २ मा

राष्ट्रिय स्वतन्त्र पार्टीले हालै सम्पन्‍न बन्द कार्यशालाबाट सिफारिस भएअनुसार पार्टीको पहिलो राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

सो पार्टीको हिजो बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय परिषद् गठन गर्ने र राष्ट्रिय भेलामा परिषद्का साथै पालिका र निर्वाचन क्षेत्र समितिका प्रतिनिधि एवम् प्रदेश समिति, प्रदेश विभाग, गत संसदीय निर्वाचनका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरु सहभागी हुनेगरी प्रतिनिधि तोक्ने निर्णय गरेको छ ।

यसैगरी कर्णाली विशेष अभियानअन्तर्गत भदौ १५ गते कर्णालीमा प्रदेश भेला आयोजना गरी संगठन निर्माण र विस्तारलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टीले यसै महिनाभित्र सातै प्रदेशमा संक्षिप्त प्रशिक्षण स्वरुप पार्टी सभापतिको उपस्थितिमा विस्तारित छलफलहरु आयोजना गर्ने पनि निर्णय गरेको छ ।

स्थानीय तहको आसन्न उपनिर्वाचन लक्षित पार्टी गतिविधिलाई तीब्र बनाउने, असोज ३ गते संविधान दिवसका दिन संविधान संशोधनसँग सम्बन्धित नीति मन्थन कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।

भ्रष्टाचार मुद्दाको हदम्याद, सरकारबाट शिक्षालगायतका क्षेत्रमा भएको राजनीतिकरणको निरन्तरता, असमावेशी मन्त्रिपरिषद् र स्वार्थ बाझिने गरी मन्त्री नियुक्ति, डेडिकेटेड एवं ट्रंक लाइन विद्युतको महसुल उठाउन गरिएको आनाकानी र नीतिगत भ्रष्टाचारका सन्दर्भमा सदनमा आवाज थप बुलन्द गर्ने निर्णय गरेको छ ।

साथै केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई पार्टी विधान बमोजिम अन्तिमपटक स्पष्टीकरणको मौका दिने पनि केन्द्रीय समिति बैठकले निर्णय गरेको छ । रासस


ताजा खबर