संविधान संशोधन सबैको सहमतिमै हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन सबैको सहमतिमा हुने विश्वास दिलाउनुभएको छ ।

प्रतिनिधिसभाको विहिवारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उहाँले भन्नुभयो, “संविधान संशोधन आठ वर्षको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने हो । त्यसमा सरकारको मात्रै होइन, संसद्को पनि आँट चाहिन्छ ।”

उहाँले सङ्घीयता कार्यान्वयनपश्चात् साबिकमा रहेका जिल्लास्थित केही कार्यालयको काम स्थानीय तह र प्रदेशमा गएको जानकारी गराउनुभयो ।

प्रदेशले जिल्लास्थित साविक कार्यालयबाटै कृषि, पशु विकास, स्वास्थ्य, सहरी पूर्वाधार, खानेपानी लगायतका क्षेत्रमा सेवा दिइरहेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सङ्घीय सरकार मातहत रहेर गृह र भूमि प्रशासन, शिक्षा विकास तथा समन्वय, पूर्वाधार विकासका क्षेत्रमा जिल्ला सदरमुकामस्थित कार्यालयबाटै सेवा दिइरहेको बताउनुभयो ।

उहाँले सरकारले वित्त नीति र मौद्रिक नीतिमार्फत निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च क्षमता अभिवृद्धि गर्ने, सम्पन्न भएका आयोजनाको भुक्तानी गर्ने, उखु, दूध उत्पादक कृषकको भुक्तानीलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । रासस


ताजा खबर