ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज अपराह्न यहाँ आउनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभयो ।
उहाँ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणमा आउनुभएको हो ।
भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ओमानका विदेश मन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुहुनेछ । उहाँ भोलि भदौ ११ गते काठमाडौँबाट प्रस्थान गर्नुहुने कार्यतालिका छ । रासस