सम्पूर्ण पिताहरूमा समर्पित

 ~शोभा पाण्डेय/सिलवाल

रिसमा पनि स्नेह र, गालीमा नि ताली

नातामध्ये बाउमा मात्र , यस्तो पाइने खाली ।

दिन रात क्यै नभनी, काम गर्ने धेरै

स्वप्नामा नि सन्तान कै, हित चिताउने बरै ।

आफ्नो खुसी ढुसी पार्दै ,मेरो खुसी किन्ने

बुबा नै हुन् महान् व्यक्ति ,मैले धेरै  चिन्ने ।

आफ्नो दुःख कसैसँग ,नसाट्ने हुन् बुबा

सन्तानका लागि सधैँ, देवादिदेव बुबा ।

आफन्त र नाता हाम्रा ,जति पनि पाइने

हजार गल्ती माफ ,गर्ने बुबा नपाइने ।

बुबा सम्मानका पात्र ,सदा छाया बनी

जसको आश्रयमा , हामी सदा  निदाउनी ।

आज म जे जस्तो छु,यो तिम्रै हो देन

कहिल्यै तिर्न म सक्दिनँ, बुबा तिम्रो ऋण ।

मैले हिँड्ने पथ तिम्ले,ठेला उठाइ खन्यौ

मेरो शक्ति ,पहिचान र,पूजा  तिमी बन्यौ ।

कमाइ तिम्रो हुँदाखेरि ,जीवन थियो राम्रो

आफ्नो कमाईमा त बुबा, जीवन भयो चाम्रो ।

जिउँदो छँदा सेवा गरौँ, नगरौँ न हेला

सित्तै पाइने बाउको माया, अपूर्व नै होला ।

उपहार नि हजुरलाई ,दिने हैसियत  त

छैन मेरो तैपनि, लेखेँ दुई शब्द त ।

हजुरको महत्तालाई ,व्याख्या गर्ने शक्ति

बबुरो म सन्तानमा, के हुन्थ्यो र ? त्यत्ति  ।

बुबाहरूप्रति मेरो, नतमस्तक शिर

शुभकामना  ! हजुरलाई ,नलिनुस् है पिर ।


ताजा खबर