किसानलाई दुधको भुक्तानी दिन डिडिसीलाई साठी करोड

अर्थ मन्त्रालयले सर्तसहित दुग्ध विकास संस्थान (डिडिसी) मा ६० करोड रुपियाँ ऋण लगानी गर्ने गरी मन्त्रीपरिषद्मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्ने छ ।

चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत एक करोड रुपियाँ बजेट व्यवस्था गरिएको थियो । कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपियाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रीपरिषद्मा प्रस्ताव पेस गर्न अर्थ मन्त्रालयले सहमति दिएको हो । यससम्बन्धी प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणका रूपमा लगानी गर्ने छ ।

दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै किसानले भुक्तानीका लागि माग गर्दै आएका छन् । किसानलाई दुधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, दुग्ध विकास संस्थानका अधिकारीबिच पटक पटक छलफल भएको थियो ।   रासस


ताजा खबर