यसबर्ष नेपाल रेल्वेद्वारा १५ लाखभन्दा बढी यात्रुलाई सेवा

नेपाल रेल्वे कम्पनीले आर्थिक वर्ष २०८०/८१ साउन महिना सम्ममा ७ करोडभन्दा बढीको कारोबार गरेको छ । यस वर्ष १५ लाखभन्दा बढी यात्रुलाई सवारी सेवा प्रदान गरी ७ करोड ७५ लाखभन्दा बढीको कारोबार गरेको हो ।

भारतीय सीमावर्ती जयनगरदेखि मधेस प्रदेशको राजधानी जनकपुर हुँदै महोत्तरीको भंगहासम्म हाल सञ्चालन हुँदै आएको रेल सेवाबाट यस आर्थिक वर्षमा ९ लाख नेपाली र ६ लाखभन्दा बढी भारतीय नागरिकले सेवा लिएका हुन् ।

रेलसेवा सञ्चालन भएदेखि सेवा लिनेहरूको संख्या बढे पनि रेल्वेलाई भने घाटा नै रहेको छ । रेल सञ्चालनका लागि आफ्नै कर्मचारी नहुनु । अर्थात् भारतीय कर्मचारीलाई महँगो पारि श्रमिक तिर्नुपर्ने बाध्यताले गर्दा रेल सेवा घाटामा गइरहेको छ भने अर्कातर्फ मालवाहक सेवा नहुनुले पनि रेलको आम्दानीलाई प्रभावित गरेको छ ।

रेलको मर्मतसम्भार,फ्युल र वासिङ सेन्टर आफ्नो नहुनुले पनि आम्दानीभन्दा खर्चको प्रतिशत बढाएको छ । सुरुवातमा कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर सडकखण्डमा ०७८ चैत २० गतेबाट रेल सेवा सञ्चालनमा ल्याइएको थियो । गत असार ३१ गतेदेखि जयनगरदेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर रेल सेवा विस्तार गरियो । दैनिक ३ हजारभन्दा बढी यात्रुले यात्रा गर्ने नेपालको एकमात्र रेल टिकटको पैसा मात्रैले मुनाफामा जान नसक्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झा बताउँछन् ।

१ अर्बभन्दा बढीमा खरिद गरिएको डेमो रेल सेवा सञ्चालनमा आएको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित रेलमा हालसम्म पनि भारतीय कर्मचारीहरूकै हालीमुहाली छ । जनशक्ति व्यवस्थापनका लागि नेपालले भारतको कोनकन रेल्वेज कर्पोरेसन (केआरसीएल) सँग सम्झौता गरेको छ । सुरुका दिनमा भारतबाट मुख्य २६ जना जनशक्ति रेल सञ्चालनको लागि ल्याइएको थियो । हाल त्यसमध्येबाट २० जना कार्यरत छन् । भारतीय कर्मचारीहरूलाई रेल कम्पनीले महँगो तलब दिन बाध्य छ ।

भारतीय कर्मचारीहरूमा लोको पाइलट (चालक) लाई मासिक ३ लाख भारतीय रुपैयाँ दिने करार सम्झौता गरिएको छ । त्यसैगरी स्टेसन मास्टर, इलेक्ट्रोनिक र टेलिकम जुनियर इन्जिनियर, मेकानिकल जुनियर इन्जिनियर, सिभिल जुनियर इन्जिनियरलगायत अन्य कर्मचारीहरूलाई २ लाख ५० हजार, २ लाख र डेढ लाख भारतीय रुपैयाँसम्म दिने सर्तमा राखिएको छ । कर्मचारीको तलब भत्ता, रेलको सरसफाइ र मर्मत सम्भारका लागि नेपाल रेल्वेले भारतीय कम्पनीलाई मासिक ७० लाख भारतीय रुपैयाँ (१ करोड १२ लाख नेपाली रुपैयाँ) बुझाउँदै आएको छ ।

पहिलो चरणमा जयनगरदेखि कुर्था ३५ किलोमिटर र दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर गरी जम्मा ५२ किलोमिटरमा रेल हाल सञ्चालनमा छ । तेस्रो चरणमा भंगहादेखि बर्दिबास १७ किलोमिटरको खण्डमा रेल सेवा विस्तारका लागि पनि काम सुरु भइसकेको छ ।

भारतीय पक्षबाट प्राविधिक कामहरू भइरहेको हुँदा काम सुरु भएको तीन वर्षभित्रै यस खण्डमा पनि रेल सेवा सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरिएको छ । तिनै चरणको काम सम्पन्न भएपछि ६९ किलोमिटरमा रेल सेवा सञ्चालन हुने जनाइएको छ । सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगरदेखि भंगहा, बर्दिबाससम्म रेल सेवा सञ्चालनको सहमति भएको थियो । नेपाल  सरकारले जग्गा उपलब्ध गराउने र निर्माणसम्बन्धी सम्पूर्ण कामहरू (ट्रयाक निर्माण, स्टेसन भवन, हल्ट, पुलपुलेसा, खानेपानी, विद्युत्लगायत) का काम भारत सरकारले गर्ने सहमति भएको थियो ।  रासस


ताजा खबर