अर्थतन्त्रमा सुधारको सङ्केत : सरकारी आम्दानी र खर्च बढ्यो

आर्थिक गतिविधि सुस्ताउँदा दबाबमा परेको सरकारी खातामा सुधार आउन थालेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिना पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चमा भएको बढोत्तरीले अर्थतन्त्रमा सुधारका सङ्केत देखाएको हो ।

सरकारको आम्दानी र खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौसम्म सरकारले एक खर्ब ६६ अर्ब ३८ करोड रुपियाँ राजस्व आम्दानी गरेको छ । जसमध्ये कर राजस्व एक खर्ब ४५ अर्ब १९ करोड रुपियाँ र गैरकर राजस्व २१ अर्ब १९ करोड रुपियाँ रहेको छ । कुल राजस्व आम्दानी चालु आवको लक्ष्यको तुलनामा ११.७२ प्रतिशत हुन आउँछ ।

गत आवको दुई महिनासम्म सरकारको कुल राजस्व आम्दानी एक खर्ब ४१ अर्ब सात करोड रुपियाँ थियो । यसको तुलनामा चालु आवमा सरकारको कुल राजस्व २५ अर्ब ३० करोड रुपियाँले बढेको कार्यालयको विवरणले देखाउँछ । गत आवको सोही अवधिमा कर राजस्व एक खर्ब २७ अर्ब ९५ करोड रुपियाँ थियो । यस हिसाबले चालु आवमा कर राजस्व १७ अर्ब रुपियाँले बढेको देखिन्छ । त्यस्तै २०८० भदौमा १३ अर्ब १२ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएकोमा यस वर्ष आठ अर्ब रुपियाँले बढेको देखिन्छ । आर्थिक गतिविधिमा सुधार आउँदा त्यसको प्रत्यक्ष प्रभाव सरकारको कर राजस्वमा देखिन्छ ।

अन्य प्राप्तसहित सरकारको कुल आम्दानी भने चालु आवको दुई महिनामा एक खर्ब ६९ अर्ब ५१ करोड रुपियाँ पुगेको कार्यालयले जनाएको छ । जुन  लक्ष्यको तुलनामा ११.५२ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा अन्य प्राप्तिसहित सरकारको आम्दानी एक खर्ब ५४ अर्ब ४२ करोड रुपियाँ थियो । गत आवमा सरकारको अन्य प्राप्ति उठौतीमा सुधार आउँदा समग्र आम्दानी केहीबढेको देखिन्छ ।

चालु आवमा सरकारको आम्दानीमा पनि सुधार आएको छ । सरकारले भदौसम्म एक खर्ब ३७ अर्ब ५५ करोड रुपियाँ खर्च गरेको छ जुन लक्ष्यको ७.३९ प्रतिशत हुन आउँछ । गत आवको सोही अवधिमा सरकारले एक खर्ब ३१ अर्ब १४ करोड रुपियाँ खर्च गरेको थियो ।

चालु आवमा सरकारले गरेको कुल खर्चमा चालुतर्फ ८२ अर्ब ९८ करोड, पुँजीगततर्फ १४ अर्ब ८९ करोड र वित्तीय व्यवस्थातर्फ ३९ अर्ब ६७ करोड रुपियाँ खर्च भएको छ । गत आवको दुई महिनासम्म सरकारले चालुतर्फ ८७ अर्ब ६६ करोड, पुँजीगततर्फ आठ अर्ब १६ करोड र वित्तीय व्यवस्थातर्फ ३५ अर्ब ३१ करोड रुपियाँ खर्च गरेको थियो ।


ताजा खबर