उद्धार र राहतलाई प्रभावकारी बनाउने प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुनुभई आज स्वदेश फर्कनुभएको छ ।

प्रधानमन्त्री ओली स्वदेश फकिनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेले स्वागत गर्नुभएको थियो ।

विमानस्थलमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान गारत सलामी अर्पण गरेको थियो ।

विमानस्थलमा प्रधानमन्त्रीको स्वागतका लागि मन्त्रीगण, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुख लगायत विशिष्ट पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन यही असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जानुभएको थियो ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गर्नुभएको थियो भने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न उच्चस्तरीय भेटवार्ताहरू गर्नुभएको थियो ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटन सत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको थियो भने अति कम विकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुका साथै अन्य विभिन्न कार्यक्रममा सहभागी हुनुभयो ।

उहाँले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गर्नुभयो ।

प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्सालसहित नेपाल सरकारका वरिष्ठ अधिकृतहरू सहभागी हुनुभएको थियो ।

स्वदेश फर्किनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले अल्प विकसित मुलुकहरूले बढी भोग्नुपरेको क्षति हानी नोक्सानीका सम्बन्धमा क्षतिपूर्तिबारे विश्व समुदायबिच स्पष्ट कुरा राखिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विपद आउनु अघि पनि सरकारले सुरक्षित रुपमा रहन सबैमा सुसुचित गरेको तर काठमाडौँमा यति डुबान होला भन्ने कल्पना नगरिएको भन्दै विपद पछिको उद्धार तथा राहतको कामलाई सरकारले तदारुकतापूर्वक गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विरोधका लागि मात्र विरोध गर्ने प्रवृत्ति ठिक नभएको टिप्पणी गर्नुभयो ।

सरकारले अव अझ बढी सशक्त ढंगले उद्धार र राहतको कामहरूलाई सञ्चालन गर्ने दृढता पनि प्रधानमन्त्री ओलीले त्यस अवसरमा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले विपद्मा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेकोले धैर्य गर्न आग्रह गर्नुहुँदै सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

यसअघि पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण बारे जानकारी गराउनुहुँदै विश्वमञ्चमा नेपाल जस्ता अल्पविकसित देशहरूले भोग्नुपरेका समस्याहरूका बारेमा जानकारी गराउन भ्रमण सफल भएको बताउनुभयो ।

परराष्ट्र प्रवक्ता राईले प्रधानमन्त्रीले महासभामा सम्बोधनका क्रममा र विभिन्न उच्च स्तरीय भेटवार्ताका क्रममा नेपालका सम्बन्धमा राख्नुभएको कुराहरूले नेपालका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउन सफल भएको र बिस्तारै नेपालले राम्रो प्रतिफल प्राप्त हुने गरी काम हुने पनि बताउनुभयो ।

भिडियो सौजन्य : नेपाल टेलिभिजन

 


ताजा खबर