~नवराज कार्की
हिजो बजारमा भेटियो एउटा साथी
अर्थात् मेरो सहपाठी
उसले मलाई नानाभाँती सोध्यो
उसले मेरो कपालमा
मेरै उमेर खोज्यो
हेर्यो, निकै नियालेर
बोल्यो लय हालेर
“हैन तँ कति भइस् हँ साथी ?
काटिस होला नि साठी !
मैले भनेँ – भएँ भर्खर पैँतिस
उसले भन्यो– इस्
हैन, तँ त, उहिल्यै भाथिस् त पैँतिस”
मैले भने, हो त, के आश्चर्य भो त ?
तैँले कक्षा दोहोर्याएको थिइस्
मैले उमेर दोहोर्याएँ
दायाँ बायाँ केही नहेरी
भएँ, दुई चोटि पैँतिस
किन गर्छस् रिस ?
तेरो साथी मै थिएँ
मेरो साथी तैँ थिइस्
हुने हैन त फेरि
सधैँ पैँतिसको पैँतिस ?
खुबै हाँस्यौँ दुवै
उमेर सम्झिँदै सम्झिँदै
हत्तेरी ! भैयो त सत्तरी !
दुई दुई चोटि पैँतिस
दश थपेर पनि
अझै तीन बिस ?