सामान्यतया भोजन भनेको खानेकुरा हो । प्राणीलाई बाँच्नका अति आवश्यक तत्व प्राणवायु, जल र भोजन प्रथम आवश्यकताका वस्तु हुन् । यिनीहरुबिना प्राणीहरुको जीवन सम्भव छैन् । यसकारण यी तिनै वस्तु अति महत्वका भएकाले भगवानको दर्जा दिएको पाइन्छ । वायुदेवता, जलदेवता तथा अन्न देवता भनेर हाम्रा शास्त्र तथा पुर्खाहरुले यी वस्तुहरुको सम्मान गर्दै आइरहेको पाइन्छ । भोजनबिना मानव जीवन सम्भव नभएकाले यसलाई उत्तम दर्जा दिनु स्वभाविक पनि हो ।
सत्य, त्रेता, द्वापर र कलि चार युगहरुको वर्णन शास्त्रहरुमा पाइने गर्दछ । विभिन्न शास्त्रहरुले प्रत्येक युगमा प्राणीहरुको आयूका बारेमा उल्लेख गरिएको पाइन्छ । कलियुगका सन्दर्भमा मानिसले अन्न ग्रहण गर्दासम्मको समयलाई मानिसको आयू भनेर उल्लेख गरिएको पाइन्छ । कलौ अन्न गतो प्राणः लोकाः स्वल्पायुषस्तथा भनेर कलियुगमा प्राण अन्नमा गएको हुनाले अन्न ग्रहणसम्मको समयावधि अर्थात थोरै आयू हुने कुरा शास्त्रहरुमा उल्लेख गरिएको पाइन्छ । यसबाट हामी अन्न के हो ? र मानव जीवनमा यसको महत्व के छ भन्ने कुरालाई आत्मसात् गर्न सक्छौँ । भोजन भनेको मानव शरीरमा प्राणको सञ्चार गराइ यसका प्रत्येक अंगहरु सञ्चालनमा मद्दत पुगाउने वस्तु हो । हाम्रो भौतिक एवम् मानसिक स्वस्थ्य कस्तो हुने भन्ने कुरा भोजनमा निर्भर हुने गर्दछ । भोजन शरीरका लागि इन्धनको काम गर्ने भएकाले यसबिना शरीरका विभिन्न प्रक्रियाहरु ठप्प हुने गर्दछन् । मानव निर्मित इन्धनबाट चल्ने साधन त इन्धन सकिएपछि धेरै समय राखेर पनि फेरी इन्धन हाल्दा चल्छन् भने प्राणीहरुको सम्बन्धमा भोजनको यो प्रक्रिया भने लागु हुँदैन । भोजनको असर एकचोटी समाप्त भइसक्दा पुनः त्यसमा राखेपछि शरीर चल्न सक्दैन । यसकारण भोजन प्राणीहरुका लागि आवश्यक मात्रै नभएर निर्विकल्प रुपमा अति आवश्यक हो । प्राणीहरुमा जसरी भोजन आवश्यक छ त्यसैगरी यसको बारेमा जानकारी हुनु पनि अति आवश्यक छ ।
मानव सर्वोत्कृष्ट प्राणी भएकाले उसले गर्ने हरेक कामहरु पनि उत्कृष्ट हुने गर्दछन् । भोजन त स्वयम्को प्राण नै भएकाले यसको ग्रहणका सम्बन्धमा मानिसले समय, स्थान र परिवेश अनुसार के खाने ? कसरी खाने ? कति खाने ? कतिबेला खाने ? भन्ने कुराका सन्दर्भमा विभिन्न किसिमका नीति नियमहरु नै बनाएको पाइन्छ । भोजनलाई पूर्वीय सभ्यतामा अति खादरका साथ लिने गरिन्छ । वेद तथा अन्य शास्त्रहरुले पनि भोजनका सन्दर्भमा मुक्तकण्ठले प्रशंसा गर्दै यसबारे हाम्रा पुर्खाहरुले थुप्रै अध्ययन अनुसन्धान गरेको पाइन्छ । पूर्वी सभ्यतालाई नै आधार मानेर अघि बढेको डोट्याली लोकसमुदायमा पनि भोजनलाई विशेष महत्व एवम् आदरका साथ लिने गरिन्छ ।
डोट्याली लोकसमुदायमा भोजन ब्रतबन्ध संस्कार गरी तीर्थब्रतादि गरेको मान्छेले मात्रै पकाउनुपर्ने मान्यता राखेको पाइन्छ । स्वच्छता र सरसफाइका सम्बन्धमा त एकचोटी भोजन बनाइसकेको भान्सालाई लिपघस नगरिकन खाना बनाउँदा जुठो हुन्छ भन्ने मान्यता राखेको पाइन्छ । यसकारण हरेक एकपटकको भान्सापछि लिपपोत तथा भाँडाकुडाको सरसफाइलाई कडा अनुशासनकै रुपमा पालना गर्दै आएको पाइन्छ । भोजन पकाउने मान्छेले पनि स्नानशुद्धि भइ अन्य अवसरमा लगाएका लुगा फुकाली भोजनका लागि धोती लगाएर मात्र भोजन पकाउने मान्यता डोट्याली लोकसमुदायमा रहेको पाइन्छ । भोजन पकाउँदाका बखत अरुले भान्सामा जानु ब्रजित हुने गर्दछ । यदि कोही व्यक्ति धोती नलगाइ आचमन नगरी भान्छामा पसे उक्त भान्सा अपवित्र भएको र त्यसलाई ग्रहण नगर्ने मान्यता रहेको पाइन्छ । ब्रतबन्ध नगरेका बालबालिकाहरुलाई भान्सा छुन मिल्दैन भने ब्रतबन्ध गरेर पनि भान्सा नखानेलाई पन भान्सामा गएर खान निशेध गरिएको पाइन्छ । भान्सा पनि आगो छन्जेलसम्म मात्रै गरिन्छ । यदि कारणबस आगो निभेपछि उक्त भान्सामा यज्ञोपवित संस्कार गरेका मानिसहरुले खाने गर्दैनन् । भान्सा खानेहरुले पनि एकअर्कालाई नछोइकन खाने गर्दछन् ।
पकाउने मान्छेले सर्वप्रथम पाकेको अन्नलाई अग्निमा हवन गरी गाई तथा चेलीबेटीका लागि पहिलो गास ग्वानेकका रुपमा दिएर मात्रै अरुका लागि पस्किने गरिन्छ । अग्निमा हवन गर्दा ॐ भूपतये स्वाहा, ॐ भुवन पतये स्वाहा, ॐ भूतानाम्पतये स्वाहा, ॐ चित्राय स्वाहा, ॐ चित्रगुप्ताय स्वाहा, ॐ अग्नये स्वाहा भन्ने मन्त्र उच्चारण गरिन्छ । भान्छामा भोजन गर्न जाने मान्छेले पनि भान्सा पस्नुअघि हातखुट्टा धोएर आचमन गरेर मात्रै भान्सामा पस्ने गर्दछन् । गायत्री मन्त्रको जप बिना भोजन गर्न नहुने शास्त्रीय मान्यतालाई यस समुदायले पनि ग्रहण गर्दै आइरहेको छ ।
भोजन गर्ने मान्छेले सर्वप्रथम भोजनको वरिपरी पानी घुमाएर आचमन गर्ने गर्दछन्, जसलाई वल छोड्नु भनिन्छ । हातमा पानी राखेर ॐ तद् विष्णोंः परमं पदम् सदा पश्यन्ति सुरयः दिविव पचक्षुरातम् मन्त्र उच्चारण गरिन्छ र थालवरिपरि पानी घुमाइ वलि दिने ठाउँमा छोडिन्छ । उक्त ठाउँमा भोजनको केही अंश राखी पुनः ॐ अमृतो पस्तरण मसि स्वाहा भनेर आचमन गरिन्छ । आचमन गरेपछि प्राणय स्वाहा बुढी औँला र चोर औँलाले, अपानाय स्वाहा भन्दै बुढी औँला र माझी औँलाले, व्यानाय स्वाहा भन्दै बुढी र साहिली औँलाले , उदानाय स्वाहा भन्दै बुढी र कान्छी औँलाले, समानाय स्वाहा भन्दै सबै औँलाले गास मुखमा हाल्दै निल्दै गरिन्छ । खाना खानेबेलामा विशेष अवस्था बाहेक बोल्नु हुँदैन । खाना खाइसकेपछि ॐ अमृतो पिवानमसी स्वाहा भन्दै आचमन गरेर सिन्को दाँतमा लगाएर खानाका टुक्रा निकाल्ने गरिन्छ ।
घरमा कुकुर, बिरालो आदि अन्य जनावर भए आफूले ग्रहण गरेको भोजनबाट एक गास अनिवार्य रुपमा बचाएर उसलाई दिने परम्परा यस समुदायमा रहेको पाइन्छ । खाइसकेपछि मुखमा जुठो रहनु हुँदैन भन्ने मान्यता यस समुदायमा रहेकाले राम्रोसँग कुल्ला गरेर अन्त्यमा सिन्कोलाई धोएर मन्त्रसहित सेलाउनेर विभिन्न मन्त्रोच्चारण सहित अन्नपूर्णे सदा पूर्णे शंकरप्राणवल्लभे भन्ने अन्नपूर्णाको प्राथना गरी अर्को कपडा लगाउने गरिन्छ । ग्रहण लाग्दा, मानिस मरेको थाहा पाउँदा तथा अन्नय विविध लोकाचारको समयमा भोजन गर्न नहुने मान्यता समुदायमा रहेको पाइन्छ ।
अन्न खेर फाल्नुलाई अनुशासन हीनता मान्ने यो समाजमा अनन खेर फाल्नेले एक दिन भोकै मर्नुपर्छ भन्ने उक्ति समेत प्रचलनमा ल्याएको पाइन्छ । यस समुदायमा माघमा खिचडीलाई विशेष महत्वका साथ लिने गर्दछ । हरेक भोजनमा घिउँ अनिवार्य मिसाउनुपर्ने मान्यता यस समुदायमा रहेको छ । घिउँबिनाको खानालाई जुठो तथा अपवित्र मान्ने गरेको पाइन्छ । शुद्ध शाकाहार भोजन नै यस समुदायको लोक भोजन हो । ब्रतबन्ध नगरेकाले पनि हातमुख नधोइ खाना खानु हुँदैन भन्ने मान्यता राखेको पाइन्छ ।
खाना खाने समयका रुपमा विशेष गरी दुई समयको भोजनलाई उत्तम मानेको पाइन्छ । बिहान १२ : ०० बजेभन्दा भित्र र राती ९ः०० बजेभित्रको भोजनलाई मात्र विशेष महत्व दिएको पाइन्छ । राती १२ः०० बजेपछिको भोजनलाई त राक्षस भोजन भन्ने गरेको पाइन्छ । ब्रतबन्ध गरेका व्यक्तिहरुले एकपटक दिनमा र एकपटक बेलुका मात्र भोजन गर्नुपर्ने नियम रहेको छ । बालबालिका तथा बृद्ध एवम् बिमारीका लागि भने यो नियम लागु हुँदैन । यिनीहरुका लागि पनि शुद्धताको भने विशेष ख्याल गरिएको हुन्छ ।
पूर्वीय सभ्यतामा भोजन नै प्राणको संरक्षक भएकाले यसलाई ग्रहण गर्ने तौरतरिकाहरु र अनुशासनलाई ससम्मान ग्रहण गरेको पाइन्छ । यसरी भोजन शास्त्रोक्त तथा लोकोचार अनुसार भोजन ग्रहण गर्नाले शुद्धता र स्वस्वस्थता हुने गर्दछ । शुद्ध खाने खाइने, विश्वासिला मान्छेले पकाएको मात्र खाइने, ताजा खाना खाइने र सरसफाइलाई विशेष महत्व दिइने यस समुदायको भोजन सम्बन्धी मानयता र नियम हालको विज्ञानभन्दा माथि माथि रहेको छ। हाल पश्चिमा संस्कृतिका कारण हाम्रा परम्परागत महत्वका मानयता लोप हुँदै गइरहेका छन् यिनीहको संरक्षण गरी व्यवहारिक जीवनमा लागु गर्न सके स्वस्थ जीवन यापनमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा दुईमत छैन ।