पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा जाडो बढेको छ। तराईका कतिपय स्थानमा अहिले शीतलहरका कारण जनजीवन प्रभावित बनेका छन्।
मौसम पूर्वानुमान विभागका अनुसार आज पूर्वी तथा मध्य तराईका केही स्थानको तापक्रममा थप गिरावट आउने भएकोले चिसो थप बढ्नसक्नेछ। त्यसैले चिसोबाट बच्न सतर्कता अपनाउन विभागले सचेत गराएको छ।
हाल मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ। पश्चिमी भूभागलगायत पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्य बदलीको अवस्था रहेको विभागले जनाएको छ।
विभागका अनुसार हिमाली तथा उच्च पहाडी क्षेत्रमा आज राति हिमपात तथा वर्षाको सम्भावनासमेत रहेको छ। -रासस