माछा मासु, चिल्लो, गुलियो, पिरो जिब्रोलाई लोभ्याउने खानेकुराहरु हुन्। जिब्रोका लागि स्वादिलो भएपनि यस किसिमको अस्वस्थकर खानपान स्वास्थ्य निम्ति भने फाइदाजनक छैन।
वरिष्ठ फिजिसियन डा उग्रनारायण पाठक कहाँ दसैँ सकिएपछि विभिन्न समस्या लिएर जाने बिरामीको लाइन लाग्छ। नियमित परीक्षण गराउन आउने बिरामी त छँदैछ। समस्या बढेर आउने बिरामीहरुको संख्याले उहाँलाई भ्याई नभ्याई हुन्छ। अनियन्त्रित रुपमा मासु खाएर मस्तिष्कघात, ह्रदयघात र हार्ट फेल भएको दसैँको बेला फेला पर्छ। समस्या बढेर धेरै बिरामीहरु आउँछन्।
उहाँ भन्नुहुन्छ, ‘चाडपर्वपछि सधै रक्तचाप बढ्छ। मुटुको धड्कन खराब हुन्छ। ह्रदयघात हुन्छ। चाडपर्वपछि रोग बढाएर आउने धेरै हुन्छन् र यो वर्षेनी हुन्छ।’ मिठो र स्वादिलो खानेकुराले दसैँ जस्तो चाडपर्वलाई रमाइलो बनाउँछ नै। माछा मासु, चिल्लो, गुलियो, पिरो जिब्रोलाई लोभ्याउने खानेकुराहरु हुन्। जिब्रोका लागि स्वादिलो भएपनि यस किसिमको अस्वस्थकर खानपान स्वास्थ्य निम्ति भने फाइदाजनक छैन।
चाडपर्वमा गरिने अनियन्त्रित र अस्वस्थकर खानपानले स्वस्थ व्यक्तिलाई समेत असर गर्छ। अझ दीर्घ रोगीहरुलाई झन् सिकिस्त नै पार्न सक्छ। दीर्घरोग अन्तर्गत जोखिममा पर्ने समूहमध्ये एक हो, मुटु रोगका बिरामी।चाडपर्वहरु अस्वस्थकर हुँदै गइरहेकाले दीर्घ रोगीहरु बढी सतर्क रहनुपर्ने डा पाठक बताउँनुहुन्छ ।
उहाँका अनुसार खानपान र व्यवहार स्वस्थ जीवनशैली र दीर्घ रोगीहरुका लागि सबैभन्दा महत्वपूर्ण हुन्छन्। मासुमा प्रोटिन र अन्य भिटामिन प्रशस्त्र मात्रामा भएपनि मात्रा मिलाएर खाए मात्र फाइदा पुग्ने उहाँले बताउनुभयो। अझ मुटुका बिरामीले मासु खाँदा विशेष सावधानी अपनाउनुपर्छ। उहाँले भन्नुभयो, ‘अहिले मानिसहरु मासु खान दसैँ नै कुर्दैनन्। झन् दसैँ त मासु खाने पर्व नै भयो। मासुको मात्रा धेरै खाए नुन मात्र होइन, चिल्लो पदार्थ पनि धेरै हुन्छ।’एकै पटक धेरै मासु भण्डारण गर्नु पनि सही होइन। आज पकाएको मासु आज नै खान डा पाठकको सुझाव छ।
धेरै नुन भएको खानेकुराले पनि मुटु रोगका बिरामीलाई हानी गर्छ। विश्व स्वास्थ्य संगठन डब्लुएचओ का अनुसार स्वस्थ व्यक्तिले एक दिनमा पाँच ग्रामसम्म नुन खान मिल्छ। तर मुटु रोगीले त्यसको आधा साढे दुई ग्राम मात्र खानुपर्ने भनिएको छ। खसीको मासुमा प्राकृतिक रुपमा नुन हुने भएकाले पकाएर खाँदा नुनको मात्रा बढी हुन जाने डा पाठक बताउनुहुन्छ।‘खसीको मासु र विशेषगरी रक्तीमा प्राकृतिक रुपमा नुन बढी हुन्छ। मासु नबिग्रियोस भनेर पनि दसैँमा पकाइने मासुमा नुन धेरै हाल्ने गरिन्छ। यसले मुटु रोगीलाई नुनको भार मासुबाट धेरै पर्छ।’ उहाँले भन्नुभयो।
मुटु रोगीलाई नुनको भार बढी भए रक्तचाप बढ्छ। मुटुको भल्भको, मुटु सुन्निने, मुटुको मासंपेशी कमजोर हुने रोग भएकामा हार्ट फेल हुने संभावना बढी हुन्छ। रक्तचाप बढ्यो भने मस्तिष्कघात र ह्रदयघात हुन सक्छ। मासुमा प्राकृतिक रुपमा नुन बढी हुने भएकाले नुन र चिल्लो कम राखेर मात्र पकाएर खान उहाँको सुझाव छ।‘मासु एकै पटक धेरै खानु भएन। थोरै थोरै गरेर खानुपर्छ। मासु मात्र खान पनि हुँदैन।
हरियो सागसब्जी, सलाद, दही, अचार पनि साथमा खानुपर्छ।’ उहाँले भन्नुभयो, ‘यति नै खानु भनेर यसै भन्न मिल्दैन। व्यक्तिको उमेर, शारीरिक अवस्था अनुसार मात्रा फरक पर्छ। तर एक कचौरा मासु खाईन्छ भने त्यो भन्दा बढी सलाद र सागसब्जी खानुपर्छ।’मुटु रोगीले खसीको रक्ती, आन्द्राभुँडीजस्ता भुटनहरु पकाएर नखान पनि डा पाठकको सुझाव छ। बिहान र दिउँसाको समयमा मासु खाएपनि रातीको खानामा माछा मासु सकेसम्म खान नहुने उहाँले बताउनुभयो।
दसैँमा मासुसँगै मादक पदार्थ धेरैले खाने गर्छन्। अत्यधिक मासु र मादक पदार्थ ९रक्सी० ले स्वस्थ व्यक्ति पनि हानी गर्छ नै। मुटु रोगीका लागि यो झनै घातक हुन सक्छ। रक्सी र मासुले मुटुमा दोब्बर भार पर्ने डा पाठकले बताउनुभयो।‘थोरै मात्राको रक्सीले पनि मुटुलाई हानी गर्छ भन्ने विभिन्न अध्ययनले देखाएको छ। रक्सी खानै हुँदनै।’ उहाँले भन्नुभयो, ‘मासु र रक्सीसँगै खाँदा मुटुलाई डबल लोड परेर धेरैलाई मुटुको धड्कन एकदमै बिग्रने, सास फेर्न गाह्रो हुने, कतिलाई त पक्षघात नै हुने समस्या आउँछ।’रक्सीले मुटु रोगीको समस्या झनै बढाउने र जटिल अवस्था सिर्जना गर्ने उहाँले बताउनुभयो।
दसैँमा खानपानसँगै शारीरिक सक्रियतामा पनि ध्यान दिन उहाँको सुझाव छ। दसैँमा मुटु रोगीले एक पटक आफ्नो चिकित्सकसँग परामर्श गनुपर्ने उहाँको राय छ। नियन्त्रणमा रहेका समस्यालाई बढाउन सक्छ भने जलिट अवस्थाका बिरामीको ज्यान समेत जान सक्छ। दीर्घ रोगीहरुका लागि खानपानमा अनुशासन कायम गर्नु औषधि सरह हुने उहाँले बताउनुभयो।
मधुमेहका बिरामीले ध्यान दिनुपर्ने मुख्य पाँच कुरा
खानपान र जीवनशैलीले प्रत्यक्ष असर गर्ने रोगमध्ये एक हो, मधुमेह। मधुमेह रोग आफैँमा खानपानसँग सम्बन्धित रोग पनि हो। अनियन्त्रित र मात्रा मिलाएर नखाँदा शरीरमा चिनीको मात्रा बढ्न सक्छ। शरीरमा चिनीको मात्रा सामान्य र बढी भएको मापन गर्न सकिन्छ। सामान्य – खाली पेट १०० एमजी डीएल भन्दा कम, खानापछि १४० एमजीडी एल भन्दा कममधुमेह रोग लागेको अवस्था – खाली पेट १२६ एमजी डीएल भन्दा बढी, खानापछि २०० एमजी डीएल भन्दा बढीमधुमेह भएका बिरामीहरुमा भने चिनीको मात्रा खाली पेट परीक्षण गर्दा १३० भन्दा कम र खानापछि १८० भन्दा कम हुनुपर्छ।
डा पाठक मधुमहेका रोगीले दसैंमा गरिने खानपानमा विशेष ध्यान दिन आग्रह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मधुमेह नियन्त्रणका लागि खानाको सबैभन्दा विशेष भूमिका छ। मधुमेह बिरामीले दसैँमा गर्ने खानपानमा ध्यान दिनैपर्छ।’चिकित्सकले हरेक मधुमेहका बिरामीलाई दैनिक गरिने खानपानको एउटा चार्ट बनाएर दिने गर्छ। त्यही चार्ट अनुसार मात्र मधुमेहका बिरामीले आफ्नो खानपान गर्नुपर्छ। खसीको मासु, बंगुरको मासुमा चिल्लो बढी हुने भएकाले रातो मासु (खसी, राँगा, बंगुर) भन्दा सेतो मासु (माछा, कुखुरा) त्यो पनि मात्रा मिलाएर मात्र खानुपर्छ। मधुमेहका रोगीले एकै पटक धेरै खानेकुरा खानु हुँदैन। मात्रा मिलाएर थोरै थोरै गरी दिनमा चार पाँच पटक खानेकुरा खाने बानी बसाल्नुपर्छ।‘धेरैजसो बिरामीले मैले औषधि खाइरहेको छु। मैले जे खाए पनि हुन्छ भन्ने ठूलो भ्रम बिरामीहरुमा देख्छु। जुन सबैभन्दा ठूलो गल्ती हो।’ उहाँले भन्नुभयो।खानपानमा नियन्त्रण र नियमित शारीरिक व्यायाम नगरे जति औषधि खाएपनि मधुमहे नियन्त्रण हुन नसक्ने उहाँले बताउनुभयो।
उहाँका अनुसार मुख्य गरी यी पाँच कुरामा मधुमेहका बिरामीले विशेषध ध्यान दिनुपर्छ। एक, खानपान दोस्रो, शारीरिक व्यायाम तेस्रो, मधुमेहको औषधि चौथो, परीक्षण र, पाँचौ मधुमेह सम्बन्धी ज्ञान।
मधुमेहका बिरामीले बिहान खाली पेट शारीरिक व्यायाम गर्नु हुँदैन। दूध, चिया वा फलफूल केही खाएपछि मात्र मर्निङ वाक वा अन्य कुनै शारीरिक व्यायाम गर्नुपर्ने उनले बताए। हप्ताको पाँच दिन र कम्तीमा ३० देखि ४५ मिनेटसम्म व्यायाम गर्नुपर्छ।‘बिहान पानी मात्र खाएर व्यायाम गर्ने धेरैको चलन छ। तर मधुमेहका बिरामीले केही खाएर मात्र व्यायाम गर्नुपर्छ। बिहान सुगर कम हुन सक्छ। त्यो बेला थप व्यायाम गर्दा शरीरमा सुगरको मात्रा धेरै नै कम हुन सक्छ।’ उहाँले भन्नुभयो।शरीरमा चिनीको मात्रा धेरै र कम दुवै हुनु नै राम्रो होइन। चिनीको मात्रा नियन्त्रणमा नरहे यसले तत्कालीन र दीर्घकालीन असर गर्न सक्छ।मुखहरु सुक्ने, शारीरमा पानीको मात्रा कम हुने, आँखाहरु धमिलो हुने, घाउँहरु निको नहुनु, विभिन्न संक्रमणहरु हुनु मधुमेहले निम्त्याउने तत्कालीन असरहरु हुन्। मधुमेह नियन्त्रणमा नरहे यसले दीर्घकालमा आँखा, मुटु, मिर्गौला र अन्य अंगहरु असर गर्छ। विश्वमा आँखा अन्धो हुने प्रमुख कारण मधुमेह भएको उहाँले बताउनुभयो।
‘सामान्य व्यक्तिलाई भन्दा मधुमेह भएकालाई ह्रदयघात हुने संभावना दुई देखि चार गुणा हुन्छ।’ उहाँले भन्नुभयो, ‘मधुमेहका बिरामीको मृत्युको प्रमुख कारण पनि मुटुकै समस्या हो। मिर्गौला फेल हुनुको प्रमुख कारण पनि मधुमेह नै हो।’दसैँमा गरिने खानपानमा हेलचक्र्याई गरे शरीरमा चिनीको मात्रा ह्वात्तै बढ्न सक्ने बताउँदै उहाँले भन्नुभयो, ‘खानामा केही कुरा थप्नुभयो भने अर्को खानेकुरा घटाइदिनुस्। कुनै दिन अलि बढी खाएका छौँ भने त्यस दिन अघि बढी व्यायाम पो गर्ने हो की रु पाँच टुक्रा मासु खाएको बेला सुगर बढ्यो भने अर्को दिन अलि कम मासु खाने हो की ?
’मादक पदार्थको सेवन पनि मधुमेहका बिरामीको लागि घातक हुने उनले बताए। महुमेहका बिरामीले सकेसम्म ब्रत नबस्न उहाँको सुझाव छ। ब्रत बस्नैपर्ने भए औषधिको मात्रा मिलाउनुपर्ने हुन्छ। चिकित्सकको सल्लाह लिएर मात्र मधुमेहका बिरामीले ब्रत बस्नुपर्ने डा पाठक बताउँनुहुन्छ।
मुटु, मिर्गौला, आँखामा समस्या देखिसकेका मधुमेहका बिरामीले ब्रत बस्नु हुँदैन। खानपानमा ध्यान नदिँदा चाडपर्वपछि शरीरमा चिनीको मात्रा बढेर आउने बिरामीको संख्या धेरै हुने गरेको उहाँले बताउनुभयो। शरीरमा चिनीको मात्रा सधै नियन्त्रणमा राख्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘चिनीको मात्रा घट्ने र बढ्ने हुँदा शरीरलाई नोक्सान गर्छ। खानपान र शारीरिक व्यायाम ध्यान नदिँदा जति औषधि दिएपनि मधुमेह नियन्त्रणमा आउन गाह्रो हुन्छ।
’मिर्गौला रोगस् बिरामीलाई चाडपर्वमा आफुखुशी खान छुट छैन
दसैँमा लापरबाहीपूर्वक गरिएको खानपानले असर गर्ने अर्को दीर्घ रोग हो, मिर्गौला सम्बन्धी रोग। मिर्गौलाका बिरामी विशेषगरी तीन प्रकारका हुन्छन्। एक, मिर्गौलामा समस्या भएको तर मिर्गौला बिग्रि नसकेका बिरामीदोस्रो, मिर्गौला बिग्रिएर उपचारमा रहेका बिरामीर, तेस्रो, डायलासिस गराई रहेका बिरामी। यी भिन्न प्रकारका मिर्गौलाका बिरामीले गर्ने खानपान एकै प्रकारको हुँदैन।
मिर्गौलामा हल्का रोग लागेका बिरामीले खाने खाना सीमित हुन्छ। पानी बढी पिउन हुँदैन। नुन चर्को खानु हुँदैन। चिल्लो कम खाने। माछा मासुको मात्रा कम गर्ने। यी सबै खानपान मिर्गौलामा हल्का रोग लागेका बिरामीले गर्नुपर्छ। तर मिर्गौला बिग्रिएर डायलासिस गरिरहेका बिरामीले भने विशेषरुपमा खानपानमा ध्यान दिनुपर्ने डा पाठक बताउनुहुन्छ।
‘मुख नबारिकन औषधिले मात्रै बिरामीलाई स्वस्थ राख्दैन। चाडपर्वमा प्रशस्त मात्रामा खान्छन्। अनि लौँ मेरो त किड्नी बिग्रिएछ भन्छन्। के गर्नुभयो भनेर सोध्दा खाइयो दसैँमा भन्छन्।’ उहाँले भन्नुभयो।चिकित्सक तथा पोषणविदले भने अनुसार मात्र खानपान गर्न डा पाठकको सुझाव छ।
मिर्गौला रोगीका लागि चाडपर्व खानका लागि नभई रमाइलो गर्न मात्र भएको उहाँको भनाई छ। मिर्गौलाका बिरामीले धेरै चिल्लो र मसाला भएका खानेकुरा खानै हुँदैन। चाडपर्वमा डायलासिस सेवा लिन पनि समस्यापूर्ण हुने भएकाले मिर्गौलाका बिरामीले आफ्नो स्वास्थ्य अवस्था अनुसार मात्र खानपान गनुपर्ने उहाँले बताउनुभयो।‘रोगले दसैँ तिहार भन्दैन। त्यस्तै रोगीले पनि यो दसैँ तिहारमा म खाएर मनाउँछु हैन। परिवारसँगै रमाइलो गरेर मात्र मनाउँछु भनेर सोच्नुपर्छ। बिरामीले आफुखुशी खाएर समस्या बढाई दिन्छ। बिरामीलाई चाडपर्वमा छुट छैन।’ उहाँले भन्नुभयो, मिर्गौलामा समस्या भएका बिरामीले नुन कम, पानी कम, माछा मासु र फलफूल पनि कम गर्न डा पाठकको सुझाव छ।
रातो मासु र मादक पदार्थ कलेजोको दुश्मन
शरीरको महत्वपूर्ण अंगमध्ये कलेजो पनि एक हो। प्रोटिन बनाउने, रगतमा आन्द्राबाट आएका किटाणुलाई नष्ट गर्ने, शरीरलाई चाहिने ग्लुकोज र बोसोलाई भण्डारण गरी शरीरका अन्य भागमा पठाउने, मेटाबलिजमलाई नियन्त्रण गर्ने लगायत महत्वपूर्ण काम कलेजोले गर्छ।
दसैँमा नेपालीहरुले रातो मासु र मादक पदार्थ अत्यधिक मात्रामा खाने गर्छन्। रातो मासु र मादक पदार्थको अत्यधिक सेवन नै कलेजोलाई खराब गर्ने कुराहरु हुन्।नियमित रुपमा गरिने अनियन्त्रित खानपान र मादक पदार्थले कलेजोलाई बिर्गार्ने डा पाठकले बताउनुभयो।‘दसैँमा अधिकांशले अत्यधिक मासु खाने, मादक पदार्थको सेवन गर्छन्। जसले गर्दा कलेजोलाई असर गर्ने संभावना अत्यधिक हुन्छ। स्वस्थ मानिसको कलेजोमा असर गर्न सक्छ भने समस्या भएका बिरामीलाई थप असर गर्न सक्छ।’ उहाँले भन्नुभयो।
कलेजोका बिरामीहरु दुई किसिमका हुन्छन् र एक, लिभर सिरोसिर र दोस्रो, फ्याटी लिभर।कडा खालको अर्थात् लिभर सिरोसिस भएका बिरामीले दसैँमा मात्र नभई अन्य बेला पनि खानपानमा ध्यान दिनुपर्छ। लिभर सिरोसिस भएका बिरामीले रातो मासु खान हुँदैन। सेतो मासु थोरै भने खान मिल्छ।मादक पदार्थको प्रयोगले कलेजो बिग्रिएर आउनेहरुको ठूलो जमात रहेको डा पाठक बताउनुहुन्छ। धेरै चिल्लो र बोसोयुक्त खानेकुरा खाएर कलेजोमा बोसो लागेर आउने बिरामीहरुको संख्या पनि कम छैन।
दसैँमा प्रायले ध्यान नदिइकन धेरै माछा मासु र मादक पदार्थ सेवन गरेको उहाँले बताउनुभयो। दसैँपछि समस्या बढेर आउने बिरामीहरुको संख्या बढ्ने गरेको उहाँले बताउनुभयो।‘मादक पदार्थको अत्यधिक प्रयोगले कलेजो सुन्निएर आउनेहरु हुन्छन्।’ उहाँले भन्नुभयो, ‘कलेजोमा धेरै बोसो लागेर समस्या बढेर आउनेको संख्या पनि छन्।’कति बिरामीहरु त ‘डाक्टर साप दसैँमा रक्सी खान मिल्छ रु’ भन्ने प्रश्न लिएर पनि डा पाठक कहाँ पुग्छन्।
केहीले त चाडपर्वमा माछा मासु खानुपर्छ मासु पचाउन औषधि दिनुस् भनेर पनि पुग्छन्।कलेजोको रोग लाग्न नदिन सन्तुलित खाना खानुपर्ने बताउँदै उहाँले भन्नुभयो, शरीरको तौल र आवश्यकता अनुसार खानाको मात्रा मिलाएर खानुपर्छ। कुनै पनि खानेकुरा आवश्यकताभन्दा बढी खाए त्यसले कलेजो सहित अन्य अंगमा पनि असर गर्छ।
कलेजो बचाउन फाइबरयुक्त खानेकुरा, फलफूल बढी मात्रामा खानुपर्छ। माछा मासु कम खाने र मादक पदार्थ सेवन गर्नु हुँदैन। चिकित्सकले खानु हुँदैन भनेका खानेकुराहरु बिरामीले बिर्सिएर पनि खान नहुने उहाँले बताउनुभयो।दसैँको खापनपानमा ध्यान नदिँदा भइरहेका रोग तथा समस्याहरु बढ्न सक्छ। लिभर सिरोसिस भएका बिरामीले अनावश्यक रुपमा खानपान गर्दा अस्पताल भर्ना गर्नुपर्ने अवस्थासम्म आउने उहाँले बताउनुभयो।