पिपिएल : लगातार ३ खेल जित्दै चितवन राइनोज प्ले अफमा

साबिक उपविजेता चितवन राइनोज पोखरा प्रिमियर लिग (पिपिएल) को जारी दोस्रो संस्करणमा अपराजित यात्रा कायमै राख्दै प्ले अफमा पुगेको छ।

पहिलो खेलमा साबिक विजेता पोखरा पल्टनसँग गत सिजन फाइलनको बदला लिँदै प्रतियोगिताको सुरुआत गरेको पारस खड्का नेतृत्वको चितवनले दोस्रो खेलमा बुटवल ब्लास्टर्सलाई पराजित गरेको थियो।

शुक्रबार भएको तेस्रो खेलमा धनगढी ब्लुजलाई ५२ रनले पराजित गर्दै चितवनले प्रतियोगितामा सतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ।

कप्तान पारस खड्काले प्रतियोगितामै पहिलो पटक टस जितेर ब्याटिङ रोजेपछि चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १सय २९ रन मात्र जोड्न सक्यो। ओपनर सुभेन्दु पाण्डेलाई शून्यमा गुमाएको धनगढीका कप्तान दिपेन्द्रसिंह ऐरीले रोड्रिगो थोमससँग ५५ रनको साझेदारी गर्दै अर्धशतकको नजिक पुगेका थिए।

Dipendra Singh Aire

४१ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४९ रन बनाएका कप्तान ऐरी ४९ रनमा आउट हुँदा टोलीको ब्याटिङलाई माथि उठाए पनि आफ्ना लागि दुर्भाग्यशाली साबित भए। त्यस्तै रोड्रिगो थोमस २४, सन्दीप जोरा २१ रनमा पभेलियन फर्किँदा सागर ढकाल १ तथा अमित यादव १७ रनमा अविजित रहे।

आशा गरिएका ब्याट्सम्यान श्रीमान्था विजेरत्ने शून्यमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। चितवनका लागि भुवन कार्कीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिँदा सन्नी पटेल र करण केसीको नाममा २–२ विकेट रह्यो।

पहिलो इनिङमा ब्याटिङ गरेको चितवनका लागि ओपनिङमा आएका रोहन मुस्ताफा ९ रनमा पभेलियन फर्किँदा कप्तान पारस खड्का २३ रनमा आउट भए।

त्यस्तै बाबर हायात ३६, हरिशंकर शाह ८ र अनिल साह १९ रन बनाएर पभेलियन फर्किँदा आरिफ शेख ४७ तथा सन्नी पटेल ३२ रनमा अविजति रहेका थिए।

अविजित ४७ रनको उत्कृष्ट इनिङ खेलेका आरिफ शेखले १७ बलको सामना गर्दै १ चौका र ३ छक्का प्रहार गरेका थिए। धनगढीका लागि अनिल खरेल र कप्तान दिपेन्द्रसिंह ऐरीले २–२ विकेट लिँदा अमित यादवको नाममा एक विकेट रह्यो।

पहिलो खेलमा विराटनगर टाइटन्सलाई पराजित गरेको धनगढी दोस्रो खेलमा काठमाडौं गोल्डेन वारियर्ससँग पराजित भएको थियो। धनगढीको तीन खेलमा यो दोस्रो हार हो।

जितसँगै चितवन ६ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ। धनगढी भने २ अंकसहित तालिकाको अन्तिम स्थानमा सीमित भएको छ।


ताजा खबर