काठमाडौंको चावहिलमा स्थित ॐ अस्पताल तथा रिसर्च सेन्टरले आज सिन्धुलीको खुर्कोटमा निःशुल्क बृहत स्वास्थ्य परिक्षण शिविर संचालन गर्यो ।
सिन्धुलीको गोलन्जोर गाउपालिका वडा नं. ७ अन्तर्गत खुर्कोटमा रहेको सुनकोशी सामुदायिक अस्पतालसँगको सहकार्यमा संचालित शिविरमा ॐ अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. बि.एन. कोइरालाको नेतृत्वमा जनरल फिजिसिन, जनरल सर्जरी, गाइनेकोलोजी (स्त्री तथा प्रसुती रोग ) लगायतको सेवा उपलब्ध रहेको थियो ।
ॐ अस्पतालबाट आएको बिशेषज्ञहरुको टोलिले शनिबार दिनभर एक्स-रे, अल्ट्रासाउण्ड , प्याथोलोजी लगायतका सेवा सहितको बृहत स्वास्थ्य परिक्षण सेवा प्रदान गरेको थियो भने, रोगको निदान र उपचार सँगै आवश्यक औषधिहरुसमेत निःशुल्क बितरण गरेको थियो ।
आज दिनभरका लागि संचालित बृहत स्वास्थ्य परिक्षण शिविरमा सिन्धुलीको गडतिरक्षेत्र सुनकोशी, गोलन्जोर, फिक्कल गाउपालिका, रामेछाप र ओखलढुंगा लगाएतका ठाँउका ५०० जना विरामीहरु लाभान्वित भएका थिए ।
शिविरकै अवसरमा अस्पतालले जनचेतनाका लागि स्वास्थ्य सम्बन्धि लेख,रचना, अन्तर्वार्ता लगायतका बिबिध सामग्रीहरु समेटेर प्रकाशन गरेको ॐ अस्पतालको स्मारिका शुश्रुषा र ॐ अस्पतालको मासिक न्यूजलेटर ‘हेल्थ प्लस’ सँगै अस्पतालमा उपलब्ध सेवा सामग्री तथा अस्पतालको प्रिभेन्टिभ हेल्थ केयर क्लिनिक ॐ वेलनेश क्लिनिकबारे महत्वपूर्ण जानकारी समेटिएका समग्रिहरु समेत बितरण गरिएको थियो ।
अस्पतालको संस्थागत सामाजिक उत्तरदायित्व नियमित कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार सेवा सहज नभएका स्थानमा बिशेषज्ञता सेवा पुर्याउने अभियानको निरन्तरताको रुपमा यो निःशुल्क शिविर आयोजना गरिएको ॐ अस्पतालका प्रबन्ध संचालक बाबुकाजि कार्कीले बताउनु भएको छ ।