साफ महिला च्याम्पियनसिपको उपाधि बङ्गलादेशले जित्यो

साफ महिला च्याम्पियनसिप -२०२४ को उपाधि बङ्गलादेशले  जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधवार सम्पन्न फाइनल खेलमा नेपाललाई २–१ गोलअन्तरले हराउँदै बङ्गलादेश उपाधि जितेको हो । यो जितसँगै बङ्गलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन ।

साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बङ्गलादेशसँग दुई पटक पराजित भयो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको ५२औँ मिनेटमा बङ्गलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ५६आँै मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याइन् ।

खेलको ८१आँै मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर बनायो । बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः उपाधि बङ्गलादेशको पोल्टामा पुग्यो ।

 


ताजा खबर