तिहार सकिए पनि सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने

सरकारले आज पनि तिहारको बिदा दिएको छ। भाइटीका लगाएपछि तिहार सकिएको मानिन्छ।

हिजो (आइतबार) भाइटीका लगाएपछि यस वर्षको तिहार सकिएको छ। तर, तिहार सकिए पनि आज (सोमबार) सरकारी बिदा छ।

सरकारी पात्रोमै यस वर्ष आज पनि तिहार बिदा उल्लेख  छ।

गत माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म  तिहार बिदा उल्लेख छ। १५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा) को बिदा छ।

तर कात्तिक १६ र (आज) १९ गते दिइएको बिदाको विवरण भने राजपत्रमा उल्लेख छैन।

२०७७ सालको तिहारमा तिथिको घटबढका कारण भाइटीका कहिले लगाउने भन्ने विवाद भएको थियो। पञ्चांग निर्णायक समितिले निकालेको पात्रोमा मंसिर १ गते भाइटीका उल्लेख थियो।

नेवार समुदायले मंसिर २ गते किजापूजा गरेको थियो। त्यसैले सरकारले तिहारको विदा एक दिन थप गरेको थियो। त्यसयता तिथि घटबढ नहुँदा अर्थात् भाइटीकामा विवाद नभए पनि सरकारले तिहारको बिदा एक दिन बढी दिने गरेको छ। रासस


ताजा खबर