नेपाल आइसिसी यु १९ महिला विश्वकपका लागि छनोट

युनाइटेड अरब इमिरेट्स(युएई) लाई हराउँदै नेपाल आईसिसी यु १९ महिला विश्वकपका लागि छनोट भएको छ ।

युएईको अजमानमा बुधवार भएको खेलमा घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्वकपमा स्थान बनाएको हो ।

युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । सन् २०२३ मा भएको विश्व कपमा नेपालले छनोट चरण पार गर्न नसक्दा छनोट हुन सकेको थिएन ।

नेपालको जितमा ओपनर साना प्रवीणले ४२ बलमा सर्वाधिक नट आउट ३५ तथा कप्तान पूजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रन जोडिन् । ओपनर सावित्री धामीले ९ बलमा १२ तथा सोनी पाख्रिनले १९ बलमा नट आउट १३ रन जोडिन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको योगफल तयार गरेको थियो । नेपालले विश्वकपमा छनोट हुन यो लक्ष्य १६.२ ओभरमा पूरा गरे पुग्ने समीकरण रहेको थियो ।

युएइका लागि कप्तान समाइरा धारनीधार्काले सर्वाधिक ३१, रिनिथा रञ्जिथाले २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन जोडे ।

नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए ।

यु १९ टि ट्वान्टी विश्व कप आगामी वर्षको १८ जनवरी देखि २ फेब्रुअरी सम्म मलेसियामा आयोजना हुदैछ । नेपाल विश्वकपमा समूह डी मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्डसँगै रहेको छ । विश्व कपमा नेपालको पहिलो खेल १८ जनवरीमा बङ्गलादेश विरुद्ध रहेको छ ।


ताजा खबर