जानकी मन्दिरबाट तिल्कोत्सव कोसेली सहित टोली अयोध्या प्रस्थान

मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने रामजानकी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवामा भारतको अयोध्याबाट जन्तीको रुपमा सहभागीहुने साधुसन्तको टोली भगवान रामको तिल्कोत्सव गर्नका लागि कोसेली लिएर शनिबार अयोध्या प्रस्थान गरेको छ ।

विश्व हिन्दु परिषद धनुषाका अध्यक्ष सन्तोषकुमार साह नेतृत्वको टोलीलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह र जानकी मन्दिरका महन्त रामतपेश्वर दासले एक कार्यक्रमविच आमन्त्रणपत्र र कोसेली हस्तान्तरण गरी विदाइ गर्नुभयो ।

विभिन्न प्रकारका मिठाइ, फलफूलसहितका सामग्री कोसेलीको रुपमा लिएर आज निस्केको उक्त टोली महोत्तरी, सर्लाही, रौतहट, वारा जिल्ला हुँदै पर्साको विरगञ्जमा राति विश्राम गर्ने बताइएको छ ।

आइतबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, गृह तथा सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीसहितका मन्त्रीहरु टोलीमा सहभागी भएपश्चात मुख्यमन्त्री सिंहको नेतृत्वमा उक्त टोली आइतबार अयोध्याका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको  छ ।

जानकी मन्दिरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले मिथिला र अवधविचको सम्बन्ध त्रेताकालदेखि प्रगढ रहेको चर्चा गर्दै अयोध्यामा भगवान रामको मन्दिर निमार्णपछि यस वर्षदेखि जनकपुरधामबाट अयोध्या गएर भगवान रामको तिलक गर्ने कार्यक्रमको सुरुवात हुनु सकारात्मक रहेको बताउनुभयो ।

उहाँले विवाहपञ्चमी महोत्सवलाई अझ व्यवस्थित गर्न प्रदेश सरकारबाट हुन सक्ने सहयोगका लागि मधेश प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रत्येक पाँच वर्षमा अयोध्याबाट विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा हुने रामसिताको वैवाहिक कार्यक्रममा जयन्ती आउने गरेको छ ।

त्रेता कालमा राजा दशरथका पुत्र मर्यादा पुरुषोतम भगवान राम र राजा जनकको पुत्री जगतजनन्ी जानकीको विचमा मंसिर शुक्लपञ्चमीे तीथिमा भएको विवाहको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा रामसिताको वैवाहिक कार्यक्रमको आयोजना हुने गरेको छ ।

अयोध्याबाट आउने जन्ती विवाहपञ्चमी महोत्सवमा श्रद्धालुको आकर्षणको केन्द्र रहने गरेको जनकपुरधाम उपमहानगरपालिका १ का रामभगत साहको भनाइ रहेको छ । यस वर्ष मंसिर १६ गतेबाट सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सुरु हुनेछ भने भगवान रामसिताको वैवाहिक कार्यक्रम मंसिर २१ गते हुने जानकी मन्दिरका महन्थ दासले बताउनुभयो ।


ताजा खबर