मानवअधिकार आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भवन शितलनिवासमा मङ्गलबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमा मात्र मुलुकमा कानूनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ भन्नुभयो ।

“मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमा मात्र मुलुकमा कानूनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ, मुलुकमा मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धन हुनसके मानव अधिकारको प्रत्याभूतिबाट कोही पनि नागरिक बञ्चित हुने थिएनन्”, उहाँले भन्नुभयो । उहाँले आयोग सदैव सर्वसाधारण जनताका लागि आस्था, विश्वास र भरोसाको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक लगायतका कुनै पनि प्रकारका विभेद् हुन नदिई समानता, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने राष्ट्रिय सङ्कल्पलाई साकार पार्न आवश्यक छ भन्नुभयो ।

उहाँले मानव अधिकारसम्बन्धी विषयमा व्यापक रुपमा जनचेतना फैलाउनुपर्ने र आयोग मात्र नभई, सरकारी तथा गैर सरकारी संस्थाले समेत क्रियाशीलतापूर्वक अभियान सञ्चालन गरेमा मानव अधिकारमैत्री समाज निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालय एवं विश्वविद्यालय र तालिम केन्द्रका पाठ्यक्रममा यो विषय समावेश गर्न सके मानव अधिकार शिक्षाले संस्थागत स्वरूप ग्रहण गर्ने थियो भन्ने उहाँको भनाइ थियो ।

आयोगले मानव अधिकार संरक्षणको क्षेत्रमा देखेका चुनौती र समस्या बेलैमा सरकारलाई जानकारी गराउने र सरकारले पनि समयमै आयोगको समस्याको व्यवहारिक रुपमा सम्बोधन गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभयो । रासस


ताजा खबर