प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ (बिआरआइ) लगायतका ऐतिहासिक महत्व राख्ने खालका सम्झौता भएको प्रतिक्रिया दिनुभएको छ ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदूतावासले बुधबार बेइजिङमा आयोजना गरेको रिसेप्सन समारोहमा आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताउनुभएको हो ।
उहाँले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरेकाले अब चीन जस्ता विकसित मुलुकबाट लगानी र सहकार्य वृद्धि गरी समृद्धिको यात्रामा अगाडि बढिरहेको सन्दर्भमा सन् २०२५ मा धेरै ठुलो सङ्ख्यामा चीनका पर्यटक नेपाल ल्याउने गरी तयारी भएको जानकारी दिनुभयो । उहाँले चीनका व्यवसायी उद्यमीको छलफलबाट आफू उत्साहित भएको जनाउनुभयो । प्रधानमन्त्री ओलीले नेपालमा प्रमुख दुई दलको सहकार्यमा बनेको वर्तमान सरकारले नेपाललाई आधुनिक र समृद्ध बनाउन हरसम्भव प्रयास गर्ने पनि उल्लेख गर्नुभयो ।
परराष्ट्रमन्त्री डा. आरजु राणाले प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई उचाइमा लान बल पुगेको बताउनुभयो । चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले दुई देशको पारस्परिक विश्वास र समझदारी वृद्धि गर्न भ्रमण सफल रहेकोे बताउनुभयो ।
यसैबिच प्रधानमन्त्री ओलीले बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीको सङ्ग्रहालयको अवलोकन भ्रमणसमेत गर्नुभयो । चीनको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री बिहीबार नेपाली प्रतिनिधिमण्डलसहित स्वदेश फर्कँदै हुनुहुन्छ । रासस