क्षयरोगको पहिलो परीक्षणलाई अघि बढाउन स्वीकृति

 विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार क्षयरोगको परीक्षणलाई पहिलो पटक अघि बढाउन स्वीकृति दिएको छ । क्षयरोगले गत वर्ष १२ लाख ५० हजार मानिसको ज्यान लिएको थियो ।

“अमेरिकास्थित मोलिक्युलर डायग्नोस्टिक्स कम्पनी सेफिडले उत्पादन गरेको एक्सपर्ट एमटिबी/आरआइएफ अल्ट्रा क्षयरोग निदान र एन्टिबायोटिक संवेदनशीलता परीक्षणका लागि पहिलो परीक्षण हो जसले डब्लुएचओको पूर्व–योग्यता मापदण्डहरू पूरा गर्दछ”, संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीले भन्यो ।

डब्लुएचओको पूर्व–योग्यताको उद्देश्य प्रमुख स्वास्थ्य उत्पादनहरूले गुणस्तर, सुरक्षा र प्रभावकारिताका लागि विश्वव्यापी मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्नु हो ।

डब्लुएचओले पहिले नै परीक्षणको सिफारिस गरिसकेको छ तर पूर्व–योग्यताको अर्थ युनिसेफ जस्ता संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू वा गाभी खोप गठबन्धन जस्ता अन्यसँग सीमित स्रोत भएका देशहरूमा उत्पादन खरिद गर्न र वितरण गर्न सरल मार्ग प्रदान गर्दछ ।

“क्षयरोगको निदान परीक्षणको यो पहिलो पूर्व–योग्यताले डब्लुएचओका सिफारिसहरू र यसको कडा गुणस्तर, सुरक्षा र प्रदर्शन मापदण्डहरू दुवै पूरा गर्ने उच्च गुणस्तरको क्षयरोग जाँचहरूमा पहुँच बढाउन र गति दिन देशहरूलाई सहयोग गर्ने डब्लुएचओको प्रयासमा महत्त्वपूर्ण कोसेढुङ्गा हो”, डब्लुएचओका सहायक महानिर्देशक युकिको नाकातानीले भन्नुभयो, “यसले विश्वको सबैभन्दा घातक सङ्क्रामक रोगहरूमध्ये एकलाई सम्बोधन गर्न त्यस्ता अभूतपूर्व निदान उपकरणहरूको महत्त्वलाई जोड दिन्छ ।”

रोकथाम योग्य र उपचार योग्य रोग क्षयरोग ब्याक्टेरियाको कारणले हुन्छ र यसले सबैभन्दा बढी फोक्सोलाई असर गर्छ । फोक्सोको क्षयरोग भएका मानिसहरूले खोक्दा, हाच्छ्युँ गर्दा वा थुक्दा यी ब्याक्टेरिया हावामा फैलिन्छन् ।

सन् २०२३ मा विश्वव्यापी रूपमा ८२ लाख नयाँ क्षयरोगका घटनाहरू पत्ता लगाइएको डब्लुएचओले अक्टोबरमा बताएको थियो । यो सन् १९९५ मा विश्वव्यापी क्षयरोग अनुगमन सुरु भएदेखि सबैभन्दा बढी हो ।

साथै डब्लुएचओका अनुसार १२ लाख ५० हजार सम्बन्धित मृत्युसँगै क्षयरोग सम्भवतः एकल सङ्क्रामक कारकबाट अग्रणी मृत्युको कारण बन्यो । यसलाई तीन वर्षपछि कोभिड–१९ ले प्रतिस्थापन गरेको थियो ।

परीक्षणले क्षयरोग ल्याउने ब्याक्टेरियाको आनुवंशिक सामग्रीलाई थुकको नमुनामा पत्ता लगाउँछ र केही घण्टाभित्र सटीक परिणाम प्रदान गर्छ ।

डब्लुएचओका अनुसार क्षयरोग विशेष गरी औषधि प्रतिरोधी उपभेदको सही र प्रारम्भिक पहिचान विश्वव्यापी स्वास्थ्यको महत्त्वपूर्ण प्राथमिकता हो ।

“उच्च गुणस्तरको निदान परीक्षणहरू प्रभावकारी क्षयरोग हेरचाह र रोकथामका आधारशिला हुन्”, डब्लुएचओको नियमन र पूर्व–योग्यता निर्देशक रोजेरियो ग्यास्परले भन्नुभयो ।

यो रोगले ३० उच्च–बोझ भएका मुलुकहरूलाई असमान रूपमा प्रभावित गर्छ । भारत, इन्डोनेसिया, चीन, फिलिपिन्स र पाकिस्तान सहितका पाँच मुलुकले विश्वव्यापी क्षयरोग बोझको आधाभन्दा बढी हिस्सा ओगट्छन् । यसमध्ये एक चौथाइभन्दा बढी केस भारतमा मात्रै पाइन्छन् । रासस


ताजा खबर