कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलका कर्णालीले पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो ।
पाँचौँ खेलमा तेस्रो जित निकालेसँगै कर्णालीले प्ले अफमा पुग्ने सम्भावना बढाएको छ । जितसँगै कर्णालीले पाँच खेलबाट ६ अङ्क बनाएको छ । यता चौथो खेलमा तेस्रो हार खेपेको पोखराको पोखराको दुई अङ्क छ । पोखराको अघिल्लो यात्रा कठिन बन्दै गएको छ ।
जितका लागि एक सय चार रनको मध्यम लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेटको क्षतिमा एक सय ६ रन जोड्लै लक्ष्य पूरा गरेको हो ।
कर्णालीका लागि गुलशन झाले अविजित ४९ र चादविक वाल्टनले ४२ रन बनाउनुभयो । बलिङमा पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित १६.३ ओभरका सबै विकेटको क्षतिमा एक सय तीन रन बनायो । पोखराका लागि ओपनरद्वय दिनेश खरेलले २६ र एन्ड्रिस गौसले २५ रन बनाउनुभयो । यस्तै रेमोन रेफरले २०, कप्तान कुशल भुर्तेलले र विपिन खत्रीले १०/१० रन जोड्नुभयो ।
पोखरालाई सस्तैमा समेट्न बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिनुभयो । उहाँले विकेट लिनेक्रममा पुरा चार ओभर बलिङ गर्दै २८ रन खर्चिनुभयो ।
युनिस ठकुरी, विपिन शर्मा र सोमपाल कामीले एक एक विकेट लिनुभयो । यसअघि मङ्गलबार नै भएको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले हराएको थियो। रासस