नेपाल उद्योग वाणिज्य महासंघले विधान संशोधन गरेको छ । लामो समयदेखि छलफलमा रहेका केही विषयमा हेरफेर गर्दै महासंघको आज सम्पन्न विशेष साधारण सभाले विधानको सर्वसम्मत संशोधन गरेको हो । अब अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुनिने छन् भने कार्यकाल २ वर्षको हुनेछ ।
यो व्यवस्था अहिलेको वरिष्ठ उपाध्यक्षको कार्यकालपछि लागू हुने महासंघले जनाएको छ । त्यसैगरी, नयाँ व्यवस्था अनुसार महासंघका एक जना वरिष्ठ उपाध्यक्ष, दुई जना जिल्ला/नगर उपाध्यक्ष, १ जना महिला उपाध्यक्ष, १ जना वस्तुगत उपाध्यक्ष तथा १ जना एशोसिएट उपाध्यक्ष गरी ५ जना उपाध्यक्ष रहने छन् ।
त्यसैगरी, महासंघमा बुहराष्ट्रिय च्याम्बरको सदस्य संख्या २० भन्दा बढी भएमा एक जना थप उपाध्यक्ष हुने विधानमा व्यवस्था गरिएको छ ।
साधारणसभाबाट सर्वसम्मतरुपमा विधान संशोधनसँगै लामो समयदेखि अल्झिएको महासंघभित्रको अन्यौलताको अन्त्य भएको छ ।
“महासंघमा धेरै पटक विधान संशोधनका प्रयासहरु भएका थिए । तर, हरेक पटक आन्तरिक विवादमा पर्दै विधान संशोधन प्रकृया अघि बढ्न सकेको थिएन । तर, अहिलेको नेतृत्व, विशेषगरी अध्यक्षको पहलमा यो प्रकृयाले पूर्णता पाएको छ । यो एउटा ऐतिहासिक निर्णय पनि हो,” महासंघका एक पदाधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सर्वसम्मत विधान संशोधन हुने कुरामा धेरैलाई आशंका थियो । तर, अध्यक्षले लामो समयदेखि यसलाई टुङ्गोमा पुर्याएरै छोड्ने भनेर पूर्व अध्यक्ष्यहरु, पूर्व पदाधिकारीहरु तथा अन्य सरोकारवालाहरुसँग छलफल र विमर्श गरिरहनुभएको थियो । यसले विधान संशोधनलाई सर्वसम्मत मात्र गरेन । हामीबिचको एकतालाई बलियो बनाएको छ । बलियो र एकमत महासंघका सन्देश समेत दिएको छ ।” त्यसैगरी, अहिलेको विधानले एक जना महिला उपाध्यक्षको पनि व्यवस्था गरेको छ ।
“हामीले नयाँ विधानमा एक जना महिला उपाध्यक्षको पनि व्यवस्था गरेका छौ । यो व्यवस्था लोकतान्त्रिक भावना र मर्मअनुरुप समावेशी तथा सहभागितामूलक नेतृत्व विकास गर्दै व्यवसायिक क्षेत्रमा पनि महिलाको प्रतिनिधित्व बढाउन एउटा कोसेढुङ्गा बन्ने हामीलाई विश्वास छ,” उहाँले भन्नुभयो । रासस