विकास साझेदारबाट प्राप्त वैदेशिक सहायतामा वृद्धि

नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।

चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा प्राप्त प्रतिबद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा चालु आर्थिक वर्षमा प्राप्त प्रतिबद्धता २३७.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिनुभयो । प्रवक्ता भट्टराईका अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिबद्धता १५३.१ प्रतिशतले र वैदेशिक ऋणको प्रतिबद्धता २८०.६ प्रतिशतले बढेको छ ।

त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३०.३ प्रतिशतले वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ताका अनुसार यस अवधिमा वैदेशिक अनुदान ६ अर्ब ७५ करोड रुपैयाँ र वैदेशिक ऋण ३७ अर्ब ३३ करोड रुपैयाँ समेत जम्मा ४४ अर्ब ८ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भई विभिन्न विकास निर्माणका कार्यमा प्रयोग भएको छ । रासस


ताजा खबर