एमाले पूर्व उपाध्यक्ष रावललाई सङ्गठित सदस्य समेत नरहने गरी कारबाही

नेकपा एमालेको सचिवालय बैठकले पार्टीको हित विपरितको गतिविधि गरेको भन्दै पार्टी पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीको सङ्गठित सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले नेता रावलका गतिविधिले पार्टीलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने देखिएकोले सङ्गठित सदस्यबाट हटाउने निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै, बैठकले पार्टीको केन्द्रीय कार्यालय निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर यस अगाडि स्पष्टीकरण सोधिएका नेताहरू डा.बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई पार्टी निर्देशनमा चल्न थप निर्देशन दिँदै ६ महिनाका लागि पार्टीको जिम्मेवारीबाट हटाउने निर्णय समेत गरेकाे उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।

एमाले सचिवालय बैठकले यही पुस २१ र २२ गते पार्टीको केन्द्रीय कमिटी बोलाउने र बैठकमा विभिन्न चार वटा प्रस्तावहरूमाथि छलफल गर्ने पनि निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, पार्टीको सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोले विगतमा गरेका निर्णयहरूको अनुमोदन र समसामयिक प्रस्ताव गरी चार वटा प्रस्तावमाथि छलफल हुने कार्यसूची एमाले सचिवालयले निर्धारण गरेको छ ।

यस्तै आजको सचिवालय बैठकमा सरकारको पाँच महिनाको कार्यकालमा भएका कामकारबाहीको समीक्षा गर्नुका साथै सरकारका कामहरूमा थप गति दिनुपर्ने आवश्यकताको समेत बोध गरेको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । रासस


ताजा खबर