चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा झन्डै डेढ अर्ब रुपियाँ बराबरको छुर्पी निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि मङ्सिरसम्म एक अर्ब ४५ करोड ११ लाख रुपियाँ बराबरको सात लाख ७३ हजार केजी छुर्पी निर्यात भएको हो । बिरालो र कुकुरको खाना (डग एन्ड क्याट फुड) का नामबाट निर्यात हुने छुर्पी सबैभन्दा धेरै अमेरिकामा जाने गर्छ ।
विभिन्न डेरी उद्योगले छुर्पी उत्पादन गरेर विदेश निर्यात गर्दै आएका छन् । आठ वर्षदेखि छुर्पी निर्यात गर्दा आएका गायत्री डेरी उद्योग सञ्चालक नीराजन कोइरालाले अन्तर्राष्ट्रिय बजारमा छुर्पीको माग बढ्दै गएको बताउनुभयो । अमेरिकामा र क्यानडामा गरेर मासिक २५ देखि ३० टन छुर्पी निर्यात गर्दै आएको उहाँले जानकारी दिनुभयो । दुधको मूल्य बढ्दा छुर्पीको लागत मूल्य बढेकाले सोही अनुसार बजार मूल्य पाउन नसकेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी १८ डलर रहेको छुर्पी अहिले मूल्य घटेर १३ देखि १५ डलरमा बिक्री हुने गरेकाले पनि व्यवसाय सञ्चालन गर्न कठिन भएको उहाँको भनाइ छ ।
आव २०८०/८१ मा तीन अर्ब १८ करोड ४३ लाख रुपियाँको १६ लाख ४६ हजार ८८७ किलो छुर्पी निर्यात भएको विभागको तथ्याङ्क छ । २०७९/८० मा तीन अर्ब ४० करोड ९० लाख रुपियाँको १७ लाख ८६ हजार ११२ किलो निर्यात भएको छ । सो अवधिमा अमेरिकामा दुई अर्ब ९६ करोड ७६ लाख रुपियाँको १५ लाख २६ हजार ४४३ किलो निर्यात भएको छ । क्यानडामा २९ करोड ४२ लाख रुपियाँको एक लाख ४४ हजार ५३२ किलो छुर्पी निर्यात भएको छ ।
विभागका अनुसार आव २०७८/७९ मा दुई अर्ब ९१ करोड १९ लाख रुपियाँ बराबरको १७ लाख ४४ हजार ४५१ किलो निर्यात भएको छ । सो अवधिमा अमेरिकामा मात्रै दुई अर्ब ४४ करोड ५० लाख ३७ हजार रुपियाँको १३ लाख ५८ हजार ६०५ किलो निर्यात भएको छ । दोस्रोमा क्यानडामा ३१ करोड ३५ लाख ५२ हजार रुपियाँको एक लाख ५० हजार १७ किलो निर्यात भएको छ । रासस