पढ्ने रहरमा दौडिदा थाहै नपाई कम्युनिष्ट बने । कम्युनिष्ट बने पछि पढाइ छुट्यो । तर, पढ्ने भोक घटेन, झनै बढ्यो । त्यही भोकको दौरानमा जनताको बहुदलीय जनवाद (जबज) मा बेदुराम भुसालले पीएचडी सके ।
२०१० मा अर्खाघाँचीमा जन्मिएका वेदुरामको गाउँमा स्कूल थिएन । मुसाले निकाल्ने धुलोमै उनले सावाँ अक्षर छिचोले । ०१५ सालमा गाउँमा स्कूल त खुल्यो । तर, एक घण्टा पैदल हिंड्नुपर्ने । बेदुरामले त्यही स्कूलबाट कक्षा–५ सम्म पढे ।
फुपूले वेदुरामका दाइलाई भने सन्धीखर्कमा थप पढाइका लागि लगिन् । वेदुरामको पालो भने दाइले पढाइ सकेपछि आउने भयो । तर, दाइ गाउँ फर्कदा कम्युनिष्ट बनेर फर्किए । उनले सन्धीखर्क नभई पहिले पढेकै स्कूलमै पढ्ने अवसर तयार हुने भयो । त्यसबेला पुष्पलालले स्कूल नभएको ठाउँमा स्कूल खोल्ने अनि दिनभर केटाकेटी र साँझबिहान ठूला मान्छेलाई कम्युनिष्ट पढाउने नीति लिएका थिए ।
वेदुरामलाई बाँकेका देवराज भारले कम्युनिष्टबारे जानकारी दिए । ठूलाठालुलाई सिध्याउने पार्टी भएकाले पढाइसँगै कम्युनिष्ट बन्न उत्प्रेरित गरे । वेदुरामले त्यसै गरे । माओले जस्तै छापामार युद्ध लड्न बन्दूक बोक्नुपर्ने भयो । बन्दूक बोके पछि कक्षा–६ बाट वेदुरामको पढाइ अगाडि बढेन । बरू, जेल परे । पढ्ने भोकमा दौडिदा वेदुराम २०४३ सालसम्म जेलमै बस्ने परिस्थिति निर्माण भयो ।
जेल बस्दा उनले थाहा पाए, कम्युनिष्ट नेताहरुले धेरै पढेर बनेका रहेँछन् । मार्क्स, एङ्गेल्स, लेनिन सवै पढेका र पढ्नका लागि लडेका ।
पञ्चायतको कठोर सजायबीच अञ्चलाधीशको थोरै लचकताले उनले जेलभित्र पढे । ०३६ सालमा एसएलसी गरे । २०४३ मा जेलबाट छुट्ने बेला वेदुराम एमए दोस्रो वर्ष पुगिसकेका थिए । तर, जेलबाट निस्किए पछि भूमिगत भए । पढाइ छुट्यो ।
तर, बहुदल आए पछि कांग्रेस पंक्तिले कम्युनिष्टमा पढेका मान्छे छैनन् भनिरहेको सुन्दा वेदुरामलाई लाग्यो– पीएचडी पनि गरिदिन्छु । नभन्दै, जबजमा पीएचडी पनि उनले गरेरै छोडे ।
त्रिभुवन विश्वविद्यालयबाट जबजको ऐतिहासिक विकासबारे पीएचडीमा दीक्षित भएका भुसालसँगको कुराकानीको सम्पादित अंशः
जबजकै अस्तित्व सकियो भनिदै गर्दा त्यही विषयमा तपाईको पीएचडी चर्चामा छ ?
–यो विषयको अध्ययन चार वर्ष अगाडि शुरु गरेको थिएँ । थेसिस सकिएको पनि २१ असार २०७५ मा हो । तर, सिद्धान्तको उदय, विकास र प्रभाव चाहिं छोडे पनि अध्ययन हुन्छ । चालु विषय मात्रै हुने होइन ।
तर, जबजका जनकले नै छोडेको विषयको उपादेयता के होला र भन्ने प्रश्न उठ्दैन र ?
–थेसिसको शीर्षक जबजको इतिहास हो । तर, मेरो अध्ययनको सीमितता फराकिलो छ । पहिलो, मार्क्सवादकै उदय, विकास र प्रयोग कसरी भयो भन्ने छ ।
कुन ऐतिहासिक पृष्ठभूमिमा मार्क्सवादको उदय भयो र विभिन्न मुलुकहरुमा कसरी प्रयोग भयो भन्ने छ । दोस्रो, नेपालमा कसरी मार्क्सवाद आयो र कसरी प्रयोग भयो ? यसका लागि कस्ता–कस्ता सैद्धान्तिक पहल भए ? भन्ने छ । यसपछि मात्रै जबजमा आइपुगेको छु । तेस्रो, जबजका अन्तर्वस्तुबारे अध्ययन छ ।
रुपमा जबज छोडे पनि यसका अन्तर्वस्तु छोडिएका छैनन् । अहिले नेकपाले जनताको जनवाद भने पनि जबजका अन्तर्वस्तु अंगीकार गरिएको छ । अझ थपिएको छ ।
जबजमा नभएका के कुरा जनताको जनवादमा थपिए ?
–धेरै छैन । नेपालको लोकतान्त्रिक पद्धतिलाई समावेशी तथा सहभागितामूलक लोकतन्त्र भनेका छौं, यो जबजमा छैन । र, प्रतिनिधित्वमा समानुपातिक प्रणाली जनताको जनवादमा थपिएको छ ।
अझ जनताको जनवाद त, २००८ सालमा पुष्पलालले ‘नयाँ जनवादका लागि नेपाली जनताको बाटो’ भन्ने कार्यपत्रसँग धेरै मिल्छ ।
पुष्पलालले त्यसैबेला बहुदलीय प्रणाली, आवधिक निर्वाचन, दलहरुलाई समानुपातिक प्रतिनिधित्वको प्रसंग उठाएका थिए । तर, त्यहाँ पनि समानुपातिक प्रणाली चाहिं थिएन । अर्थात्, पुष्पकमलको कार्यपत्र, जबज र जनताको जनवादमा अन्तर्वस्तु थपिदै गएका छन् । घटेको छैन ।
जबजमै पीएचडी गर्नुभयो र आफैं भन्दै हुनुहुन्छ, जनताको जनवाद थप परिष्कृत छ । अब जबज जोगाउन लाग्नुहुन्छ कि परिमार्जनमा सहयोग ?
–जबजका अन्तर्वस्तुका पक्षमा अहिले पनि छु । जबजका दार्शनिक मान्यता मार्क्सवादसँग मिल्दा छन् । बीचमा विभिन्न मुलुकहरुमा यसको प्रयोगको सन्दर्भमा मार्क्सवादलाई तोडमोड गरिएका थिए । जस्तो– मार्क्सले एक दलीय शासन व्यवस्थाबारे कही पनि उल्लेख गरेका छैनन् ।
मार्क्सले पेरिस कम्युनको उदाहरण दिएका थिए । त्यहाँ, तीनथरी विचार बीच निर्वाचन हुने भएकाले एकदलीय व्यवस्था थिएन । रुसमा पनि अक्टोबर क्रान्ति हुने बेला बहुदलीय व्यवस्था नै थियो । लेनिनले पनि यसबारे भनेका थिए । तर, उनी पछि आएका स्टालिनले भने बाटो बिराए ।
तर, बहुदलीय प्रणालीमा जाँदा मार्क्सवादी नरहिने रहेछ बरु, अर्कै बनिने रहेछ भन्ने कम्युनिष्ट नेताहरुकै अभिव्यक्ति र आदर्श सुनिन्छ ?
–७० वर्षसम्म एउटै पार्टीले शासन गर्दा पनि त ढल्दो रहेछ । त्यो रुस र पूर्वी यूरोपमा देखियो । आखिर, जनताको मन त जित्नुपर्ने रहेछ । मार्क्सले पार्टीको अधिनायकत्व भनेको होइन, वर्गको अधिनायकत्व भनेका हुन् ।
श्रमजीवीका पक्षमा काम गर्ने पार्टी भनेका हुन् । भयो के भने मार्क्सवादी भन्दै नेताहरुको अधिनायकत्व र त्यसमध्ये पनि एक नेताको अधिनायकत्व चल्दा जनता सँगको सम्बन्ध टुट्यो । पार्टी र त्यसमा पनि एक नेताको अधिनायकत्व मार्क्सले कल्पना गरेको हुँदै होइन । मार्क्सले एंगेल्सलाई बुजुर्वा भन्दा उन्नत लोकतन्त्र भनेका छन् ।
”दार्शनिक पक्ष मार्क्सवाद र लेनिनवाद भनिसकेका छौं । अव कुन जनवाद भन्ने उल्झनमा होइन, समाजवादको आधार तयार पार्ने बहसमा लाग्नुपर्छ ।”
नेपालमा मार्क्सवाद कसरी छिरेछ त ?
–नेपालमा कम्युनिष्ट आन्दोलन नागरिक स्वतन्त्रता र अधिकारका लागि जन्मियो । पहिलो घोषणापत्रमा प्रष्ट लेखिएको छ, “नागरिकता सवैलाई आवश्यक थियाे, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऔं ।” नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि नेपालमा कम्युनिष्ट पार्टी जन्मिएको थियो ।
तर, बीचमा आएर नेपालका कम्युनिष्ट नेताहरु स्टालिन र माओबाट दीक्षित हुन थाले । त्यो बेठीक थियो भन्ने मेरो शोधको सार हो । मन नपरेकालाई सफाया दिने, गद्दार र दुस्मन घोषणा गर्न थाले ।
नेकपाकाे एउटा खेमा माओवादी पनि त माओ विचार धाराबाट दीक्षित थिए । भर्खरै, तपाईंहरुबीच एकता भएको छ । यसबारे ?
–म पनि कुनै बेला माओकै विचारबाट प्रभावित थिएँ । हतियार बोकेरै जेल परेको मान्छे हुँ । १४ वर्षसम्म कठोर सजाय भोगेँ ।
त्यसबेला, मार्क्सवाद नै नबुझी हतियार बोकेको निष्कर्ष हो ?
–पञ्चायतले हतियारले शासन गरिरहेकाले हतियारबाटै प्रतिवाद भन्ने बुझेका थियौं । तयारी राम्रो थिएन । असफल भयौं । माओवादीले बहुदलीय व्यवस्था आएपछि हतियार उठायो । त्यसबेला हतियारको दमन थिएन, राजनीतिक दमन मात्रै थियो । तर, हामी सबैले संघर्षका रुपहरु समय सापेक्ष हुन्छन् भन्ने बुझ्न नसकेको सत्य हो ।
जबजको अन्तर्वस्तुको प्रसंग उठाएर यसलाई समृद्ध बनाऔं भन्दा पार्टी एकीकरणमा जटिलता उठ्दैन ?
–लोकतान्त्रिक मूल्य र मान्यता सहितको समाजवाद भनेर जनताको जनवादमा भनिसक्यौं । नाम मात्रै फरक हो । जबजको अन्तर्वस्तु छोडिएको छैन ।
तत्कालीन एमालेका कतिपय नेताहरू अझै पनि अन्तर्वस्तु जबजकै भएकाले नाम पनि त्यही हुनुपर्छ भन्दैछन् नि ?
–जनताको जनवाद भनिसकेका छौं । हामीले भनेको जनवाद नयाँ जनवाद हो । यस्तो जनवादका आर्थिक–सामाजिक चरित्र पूँजीवादी हुन्छन् । समाजवादी हुँदैनन् ।
चीनमा सहयोगात्मक बहुदलीय व्यवस्था छ । त्यहाँ, साना पार्टीलाई प्रतिष्पर्धा गर्ने अधिकार छैन । तर, नेपालमा कम्युनिष्ट पार्टीले बहुदलीय प्रतिष्पर्धालाई स्वीकार्छ ।
त्यो जबजमा पनि थियो र एक्साइसौं शताब्दीको जनवादमा पनि थियो । दुवैमा लोकतान्त्रिक मूल्य र मान्यतालाई स्वीकार गरिएको छ । अहिले दुई नदी मिसिएपछि केही तलसम्म आफ्नै रंगको अस्तित्व रहेजस्तो अवस्था भएको मात्रै हो ।
नेकपामा जबज कि एक्साइसौं शताब्दीको जनवाद भन्नेमा पनि अब बहस हुन्छ ?
–त्यस्तो बहसको आवश्यकता हुन्न । किनभने, दुवै तर्फले अपनाएको कार्यक्रमको अन्तर्वस्तु मेल खान्छ । जबजले अगाडि जाने मोडेल प्रष्ट पारेको थियो भने एक्साइसौं शताब्दीको जनवाद भने मोडेलका रुपमा विकसित हुनै नपाई एकता भयो ।
त्यसैले दुई मध्ये कुन भन्ने नाममा बहस गर्नुभन्दा पनि हामीले भनेको “समृद्ध नेपाल, सुखी नेपाली” का लागि आवश्यक अन्तर्वस्तुमा बहस गर्नुपर्छ । जनताले ठूलो जनमत दिएको छ र आशा राखेका छन् । उनीहरुलाई यो–यो भए पछि हामीले भनेको कुरा पूरा हुन्छ । त्यसका लागि यो मोडेलमा काम गर्नुपर्छ भन्नेबारे प्रष्ट हुनुपर्छ ।
”नयाँ वैचारिक सिद्धान्तबारे केपी ओली, पुष्पकमल दाहाल र अरु जसले सक्छन् श्रेय लिए हुन्छ । सहयोग गर्ने पंक्ति तयार छ । मदन भण्डारीले पनि अरुको सहयोग लिएका थिए ।”
दोस्रो, हामीले समाजवादको आधार निर्माण गर्ने भनेका छौं । संविधानले पनि त्यही भनेको छ । के गर्दा समाजवादको आधार तयार हुन्छ त ? बहस यता तिर गर्नुपर्छ ।
नेपाली विशेषताको समाजवाद पनि भनेका छौं । त्यो कस्तो हुन्छ भन्नेतिर बहस केन्द्रित गर्नुपर्छ । समाजवादको आधार निर्माण गर्न आवश्यक अन्तर्वस्तु जबज, एक्साइसौं शताब्दीको जनवाद अर्थात् अन्य कुन दस्तावेजमा छ ? कस्तो सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक आधार अपनाउँदा समाजवाद उन्मुख भइन्छ भन्नेतिर केन्द्रित हुनुपर्छ ।
दार्शनिक पक्ष मार्क्सवाद र लेनिनवाद भनिसकेका छौं । अब कुन जनवाद भन्ने उल्झनमा होइन, समाजवादको आधार तयार पार्ने बहसमा लाग्नुपर्छ ।
तर, जबज मदन भण्डारीसँग जोडिएकाले यसलाई छोडेर अर्कै सैद्धान्तिक बहस भनेको नयाँ मदन भण्डारी बन्ने रहर हो भन्ने पनि त छ ?
–पार्टी प्रमुखले नेतृत्व लिने हो । त्यसबेला मदन भण्डारीले लिनुभयो, तर त्यसमा अरुको पनि योगदान छ । अहिले पार्टी नेतृत्वमा रहेकाले लिड गरे भइहाल्यो । हामी योगदानका लागि तयार छौं । नयाँ वैचारिक सिद्धान्तबारे केपी ओली, पुष्पकमल दाहाल र अरु जसले सक्छन् श्रेय लिए हुन्छ । सहयोग गर्ने पंक्ति तयार छ । मदन भण्डारीले पनि अरुको सहयोग लिएका थिए ।
अन्त्यमा, जबज के हो ? के होइन ?
जबज मार्क्सवादको नेपाली रुप हो । नेपालमा मार्क्सवादलाई कार्यान्वयन गर्न अपनाइएको विचार हो । जबज, एक दलीय शासन व्यवस्था होइन ।